२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । फेन्सी व्यवसायी संघ, नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको कालुपाँडे स्मारक (स्वीट्जरल्याण्ड पार्क)मा यही माघ २४ गते संघको साधारणसभा सम्पन्न भएको हो ।
उक्त अवसरमा कोरोनाका कारण मारमा परेका व्यवसायीहरुलाई मानवीय भावनाले ओतप्रोतभई घरभाडा छुट दिने घरधनीहरूलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने घरधनीहरूमा विमला श्रेष्ठ, अम्बिका श्रेष्ठ, निरेश शाही, सुदर्शन प्रजापति, तिर्थमान स्थापित, पूर्ण सुबा गुरुङ्ग, अष्ट नारायण महर्जन, सुशीला श्रेष्ठ, राजकुमार लामा लगायत ४० जना घरधनीहरू रहनुभएको छ ।
संघका अध्यक्ष राजेन्द्र बाबु श्रेष्ठको सभापतित्व तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष गोबिन्द कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभामा सभापतिको आसनबाट बोल्दै संघका अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई संघको मर्मलाई बुझेर अघि बढ्न आग्रह गर्नुभयो ।
‘हामीले बिरुवामा पानी राख्छौं र विरुवा हुर्कन्छ त्यसपछि त्यसले लाभ दिन सुरु गर्छ । तर हामीले बिरुवामा पानी राखेनौं भने बिरुवा हुर्कन सक्दैन । त्यसैले सदस्य साथीहरुले तिर्नुभएको मासिक लेवी तपाईं हामीले बिरुवामा पानी हालेझैं संघलाई मलजल गरेका हौं ।’ उहाँको कथन थियो ।
आजको युगमा मानिस एक्लै बाँच्न सक्ने अवस्था नरेहकोले संघको महत्व झन् बढेर गएको बताउँदै उहाँले आफूलाई समस्या परेको बेला संघको महत्व थाहा हुने भएकोले फेन्सी व्यवसायी संघलाई अझ मजबुत पारेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
संघले अबदेखि आयोजना हुने साधारण सभामा सम्वन्धलाई अझ गाढा बनाउन सबै घरधनीलाई निमन्त्रणा गरिने जानकारी समेत अध्यक्ष श्रेष्ठले दिनुभयो । सोही अवसरमा नेचुरल बचत तथा ऋण सहकारी संस्था लि., सोह्रखुट्टे संघलाई रू १० हजार नगद सहयोग हस्तान्तरण गर्यो । सोही अवसरमा उक्त सहकारी संस्थाले घरधनीको जमानी र संघको सिफारिसमा व्यवसायीको लगानी हेरि २ देखि १० लाखसम्म ऋण उपलब्ध गराउने प्रक्रियामा जाने निर्णय समेत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij