२०८२ माघ १६ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथका लागि शीतलनिवास पुगेका छन् । उनी राष्ट्रिय पोशाक दौरासुरुवालमा ठाँटिएर शपथका लागि पुगेका हुन् ।
प्रचण्ड यसअघि दौरा सुरुवालमा देखिने गरेका थिएनन् । यसअघिका दुई कार्यकालको प्रधानमन्त्री हुँदा प्रचण्डले कोट पाइन्टमै शपथ लिएका थिए ।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।
त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्ड तेस्रो पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij