२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । आगामी पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो कार्यकाल कसले लिने भन्नेमा कांग्रेस र माओवादीबीचको सत्ता संघर्ष पेचिलो बन्दै गएको छ ।
बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आइतबार सकिँदै छ । समयको दबाबमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले पहिलो चरणमै प्रधानमन्त्री बन्ने अडान लिएपछि सत्ता संघर्ष पेचिलो बन्दै गएको हो ।
प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्ने गरी शुक्रबार बेलुकीसम्म जवाफ दिन देउवालाई दबाब दिएका छन् । हिजो बालुवाटारमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेता कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो ‘बटमलाइन’ राखेका हुन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । प्रचण्डको अडानमा देउवाले भने सहमति जनाएका छैनन् । देउवाले अहिले राष्ट्रपति दिएर सभामुख लिन र प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ थियो ।
पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।
कांग्रेसका नेताहरूले आन्तरिक छलफल गरेर आज बेलुकीसम्म निर्णायक जवाफ दिने बताएका छन् । सम्भवतः सरकारका विषयमा आज नै निर्णय हुन सक्ने बताइएको छ ।
कांग्रेसले साथ नदिए एमालेसँग मिलेर सरकार गठन गर्ने विकल्प प्रचण्डका अगाडि छ । यसमा एमाले सकारात्मक देखिएको छ । गठबन्धन टुटेमा प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले लिने एमालेको रणनीति छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij