बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन्।
बिहीबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरिएको शपथग्रहण समारोहमा अरू सांसदले जस्तै पाण्डेले पनि शपथ ग्रहण गरेका हुन्। उनले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छैनन्।
मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका थिए।
०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले ०७८ कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले आफू संविधानअनुसार नै भूमिकामा रहेको बताए । उनले कार्यवाहकको जिम्मेवारी समेत दिन नमिल्ने अवस्था रहेको बताए । संविधानको यही व्यवस्थाअनुसार अब आफूले नयाँ सरकार बनेपछि जिम्मेवारी दिएर आफू छोड्ने बताए ।
‘संविधानमा अर्को कुनै व्यवस्था रहेनछ’, उनले भने, ‘अब मेरो कर्तव्य प्रदेशमा चाँडोभन्दा चाँडो सरकार जन्मिदिएर उनीहरूलाई जिम्मा लगाएर म विदा हुनुपर्छ ।’ संविधान निर्माणका क्रममा यसबारे नसोचिएको भन्दै आगामी दिनमा ध्यान दिनुपर्ने पनि पाण्डेको भनाई छ । ‘संविधान बनाउने क्रममा यस्तो पनि परिस्थिति आउला, यस्तो घटना होला भनेर कसले सोचेको थियो र ?’, पाण्डेको भनाइ छ ।
