२०८२ माघ १६ गते शुक्रवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफू केही बाेल्न नचाएकाे बताएका छन्।
बिहीबार संघीय संसद् भवन बानेश्वरमा शपथ लिन पुगेका लामिछानेले पत्रकारसँगकाे कुराकानीमा आफ्नाे नागरिकता र पासपाेर्टकाे विषय सर्वाेच्च अदालतमा विचाराधीन विषय रहेकाे र यसबारे अहिले नै केही बाेल्न नचाहेकाे बताएका हुन्।
उनले भने, ‘म याे विषयमा केही बाेलिरहनु नै पर्दैन। सम्मानित अदालतमा याे विषय छ। सम्बन्धित निकायले हेरिरहनुभएकाे छ। म उहाँहरूकाे निर्णयलाई नै पर्खिन्छु।’
युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दावी गर्दै रिट निवेदन हालेका थिए।
त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दावी गर्दै रिट हालेका थिए।
शपथ ग्रहण गर्न रोक लगाउन माग गर्दै परेका दुईवटा रिट निवेदनमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको हाे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij