२०८२ माघ १६ गते शुक्रवार
मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु हुन थालेको छ।
सत्ता गठबन्धनले सरकार निर्माण प्रयास थालिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक संवादमा जुटिरहेका छन्।
यी संवादका क्रममा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ ओलीसँग वार्ताका लागि भक्तपुरको बालकोट पुगे।
२०७४ मा बनेको गठबन्धन भत्किएर एमाले र माओवादीमासमेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास सुरु भएको हो।
मंसिर ४ को चुनावी परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ बुझाउने तयारी गरिरहेका बेला सरकार निर्माणका अनेक प्रयास सतहमा आइरहेका छन्। त्यहीक्रममा एमाले र माओवादीबीच फेरि संवाद हुन थालेको हो।
बालकोटमा एक घण्टा बढी भएको दुई नेताबीचको संवादबारे दुवै पक्षले केही खुलाएका छैनन्। माओवादी महासचिव देव गुरुङले छोटो प्रतिक्रिया दिँदै भेट भएको पुष्टि गरे। कुरा भएको हो उनले भने, 'खास त्यस्तो केही भएको छैन।'
ओलीले आफू बाहिरै बसेर भए पनि समर्थन गरेर गठबन्धन विभाजनको रणनीति बनाइरहेका छन्। उनी यसकै लागि नेपाली कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरुसँग पनि छलफलमा छन्।
सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए। तर त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए। अहिले महासचिव गुरुङ बालकोट पुगेका हुन्।
त्यसअघि ओलीले गोरखाबाट निर्वाचनमा विजयी भएकोमा फोन गर्दै अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए।
पछिल्लो समय एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्षमा छन्। उनीहरु त्यहीअनुसार लविङमा पनि जुटिरहेका छन्।
एमालेमा उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङहरु वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन्। उनीहरुले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिष्टहरुको अस्तित्व नै संकटमा पर्ने बताइरहेका छन्। माओवादीमा पनि केही नेताहरु एमालेसँग मिलेर जानुपर्ने दिशामा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij