२०८२ माघ १६ गते शुक्रवार
समानुपातिकतर्फको सिट बाँडफाँटबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शनिबार बस्ने भएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणामसहित राष्ट्रिय दल बनेका ७ पार्टीलाई बुधबार समानुपातिक उम्मेदवारको नाम चयन गरेर पठाउन पत्राचार गरेको थियो।
आयोगका पत्र प्राप्त भएपछि नाम चयन प्रक्रिया अघि बढाइएको रास्वपाका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।तर, समानुपातिक नाम चयन गर्दा 'प्राइमरी इलेक्सन'मा सबैभन्दा बढी मत पाउनेको नाम एक नम्बरमा राखेर पठाइए पनि तलमाथि गर्न खोजिएको भन्दै विरोध भइरहेको छ।
बिहीबार पार्टी कार्यालयमा धर्ना कार्यक्रम नै राखिएको थियो। तर, समानुपातिकमा क्लष्टरबाहिरबाट नाम चयन नहुने र वरीयता पनि नमिचिने बुर्लाकोटीले दाबी गरे।
‘समानुपातिक सांसदबारे निर्णय गर्न शनिबार बैठक बस्ने तयारी गरेका छौँ,’ उनले भने, ‘हामी आज र भोलि लिष्ट तयार पार्छौँ, शनिबार बैठक बसेर सके त्यहीदिन नसके आइतबार निर्वाचन आयोगमा बुझाउँछौँ।’
बुर्लाकोटीले सभापति रवि लामिछाने चितवन गएकोले बैठक बस्न ढिलाइ हुने बताए। रास्वपाले समानुपातिकमा ११ लाख ३० हजार मत पाएको छ।
प्रत्यक्षतर्फ ७ सिट जितेको सो पार्टीले समानुपातिकतर्फ १३ सांसद पाउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij