उनले आफू आठ वर्षदेखि जेलमा रहेको बताउँदै कुनै पनि दलले आफूहरुका माग नसुनेको पनि बताएका छन्।
'म आठ वर्षदेखि जेलमा छु। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैँ सरकारमै छन्', उनले भने, 'मधेसकेन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ। उहाँहरुबाट हेर्न केही बाँकी छैन। कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न।
सरकारमा जान सकारात्मक भए पनि माग सम्बोधन आफूहरुको पहिलो एजेन्डा रहेको पनि उनले सुनाए। 'हामी सबैसँग सकारात्मक नै छौँ। जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं। कुरा प्रस्ट छ', उनले भने, 'जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्यो। टीकापुरमा भएको घटनालाई राजनीतिक रुपमा नहेरेसम्म सहकार्य नहुने पनि बताएका छन्।
'हाम्रा माग पुरानै छन्। पटक–पटक उहाँहरुलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन', उनले भने, 'फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ।'
उनले पुराना दल तथा नेताका विचार हेरिरहेको र सुनिरहेको पनि बताए। 'उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइ रहनुभएको छ', उनले भने, 'तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ।' रासस