२०८२ माघ १६ गते शुक्रवार
सत्ता समीकरणको रस्साकस्सी चलिरहेका बेला राजनीतिक भेटघाट पनि तीव्र भएको छ।
सोमबार नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भेटेलगत्तै नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
एमाले सचिव महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका छन्। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका छन्।
पछिल्लो समय सरकार गठनलाई लिएर दलहरुबीच तानातान छ। यसअघि निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए।
त्यसक्रममा ओलीले अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए।
सोमबारै कांग्रेस नेता कार्कीले सभापति शेरबहादुर देउवाको दूतका रुपमा प्रचण्डलाई भेटे। त्यसपछि बालुवाटारमा सत्ता गठबन्धन बैठक बसिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij