२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने र खोलेका खाता बन्द गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैंकलाई निर्देशन दिएको हो ।
राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
"यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणहरूको सूची, सही कागजात तथा विवरणहरू प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम नियमित रूपमा सम्पुष्टि गरिने विधि समेत तय गरेको हुनुपर्नेछ," उक्त पनि निर्देशनमा भनिएको छ ।
विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपायहरू अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्वन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
ग्राहकको पहिचान हुन नसकेको अवस्थामा संस्थाले आवश्यक ठानेमा शङ्कास्पद कारोबार / गतिविधि प्रतिवेदन वित्तीय जानकारी एकाइमा पेस गर्न पनि निर्देशिकामा भनिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij