Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

नयाँ सरकार गठनका लागि सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा

नयाँ सरकार गठनका लागि सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा


  • 1.9K
    Shares

    नयाँ सरकार गठनका लागि सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा

    मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल प्राप्त मतको आधारमा दलहरुले संघ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।

    चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गरेका हुन् । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ ।

    बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ । हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।

    सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ ।

    उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा.अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोलेका छैनन् ।

    महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी संघ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ । सोही अनुसार सीके राउतले आफ्ना माग सत्ता गठबन्धनसमक्ष अनौपचारिक रुपमा राखिसकेको बताइन्छ ।

    जनमत पार्टीका अध्यक्ष राउत भन्छन्, ‘छलफल सबैसँग भइरहेको छ, तर निष्कर्ष कसैसँग निस्केको छैन ।’ आफूहरुको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ छ । आफूहरुको मागप्रति सहमति नजनाउनेसँग सरकारमा जान बाध्य नहुने उनले प्रस्ट पारे ।

    सो पार्टीका महासचिव चन्दन सिंहले सरकार गठनका लागि औपचारिक छलफल कसैसँग सुरु नभएको बताए । विभिन्न दलका नेताहरु अनौपचारिक रुपमा सम्पर्कमा आएको र सोही अनुसार छलफल हुने गरेको उनको भनाइ छ ।

    उनले भने, ‘डाक्टर साहब (सीके राउत) काठमाडौं जानुभएको छ, विभिन्न नेताहरुसँग अनौपचारिक भेटघाट र छलफल जारी छ, उहाँ फर्केपछि मात्र के प्रगति छ भन्ने थाहा हुन्छ ।’

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १४:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij