२०८२ माघ १६ गते शुक्रवार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् ।
मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन। त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले चुनावमा खेलेको भूमिकाको समेत समीक्षा गर्न अध्यक्ष यादवले निर्देशन दिएका हुन्।
समानुपातिक र प्रत्यक्ष उम्मेदवारको भूमिका, निर्वाचन बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखापरेका कमी कमजोरीको समेत समीक्षा गरी यथाशिघ्र निर्वाचन क्षेत्र स्तरीय र जिल्लास्तरीय समितिहरुको बैठक बसेर चुनावी समीक्षा गर्न उनले निर्देशन दिएका छन्।
अध्यक्ष यादवले प्रदेश तथा जिल्ला समन्वय समितिलाई गरेको सर्कुलरअनुसार जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठकहरूमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत उपस्थितिमा सत्य, तथ्यका आधारमा ठोस रुपमा विश्लेषणात्मक चुनावी समीक्षा गर्ने र सो को प्रतिवेदन १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij