२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।
बिहीवारको आमहड्ताल सफल बनाउन भन्दै ललितपुरको सातदोबाटो क्षेत्रमा सडकमा आएका प्रचण्डले अब हुने आन्दोलनले सरकारलाई झुकाएरै छाड्ने बताए ।
‘आगामी दिनमा अझै ठूल्ठूला आन्दोलनमा जान्छौं, सम्भवत फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ,’ प्रचण्डले भने, ‘आन्दोलनले निरंकुशताका पक्षपातीलाई बढार्छ, यो सरकारको आयु सकिन्छ ।’
संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।
उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । "जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो," उनले भने, "यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो ।"
२३ गते ओली समूहले राजधानीमा गर्न लागेको सभालाई दाहालले पञ्चर्यालीको संज्ञा दिएका छन् । उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्चर्यालीजस्तै भएको बताए । "आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्च र्याली नै हो," दाहालले भने,।"
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij