२०८२ माघ १७ गते शनिवार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर २ की उमेदवार ओनसरी घर्तीलाई निर्वाचित गर्न आह्वान गरेका छन् ।
बिहीबार कोटेश्वरमा आयोजित गठबन्धनको चुनावी सभामा उनले उक्त क्षेत्रको समस्या समाधानका लागि ओनसरीलाई उमेदवार बनाइएको बताए ।
“हामीले सल्लाह गरेर ओनसरी घर्तीलाई यस ठाउँमा उमेदवारी खडा गरेका छौं । तपाईंहरुको समस्या, यो क्षेत्रको विकासका निम्ति योद्धालाई अगाडि सारेर समस्यालाई समाधान गर्नका निम्ति भनेर मैले नै यो ठाउँ उहाँलाई छाडेर...,” उनले भने, “उहाँ भन्दै हुनुहुन्थ्यो, तपाईको नासो मैले लिएको छु । ओनसरी कमरेडलाई सभामुख बनाउने प्रचण्ड कमरेडलाई विशेष सिफारिस गरेको थिएँ ।”
उनले आफू पटक–पटक सोही क्षेत्रमा निर्वाचित भए पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको विकासको परियोजना रोकेको बताए । उनले ओली पूर्वाग्रही रहेको आरोप लगाए ।
“यही क्षेत्रमा मलाई विजयी बनाउनुभएको छ । पटकपटक मौका दिनुभयो । मैले विकासको परियोजना अघि सारेको छु । तर, यसको जस माधव नेपालले पाउँछन् भनेर अघि बढ्न दिएनन् । बाटोमा नै रोकिदिए,” नेपालले भने, “यस्ता खालका मान्छे हामीले पाएका छौं । कस्तो पूर्वाग्रही प्रवृति बोकेका मान्छे ? कस्तो होला यो धर्ती त्यस्ता व्यक्तिलाई जन्म दिने ?”
उनले ओलीलाई रावणको संज्ञा दिए । काठमाडौं २ का प्रदेशतर्फका गठबन्धनका उमेदवारलाई पनि निर्वाचित गर्न आह्वान गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij