Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

चुनावको मुखमै फेरि विवादमा तानिए रवि, नागरिकता प्रकरणले घाटा कि फाइदा ?

चुनावको मुखमै फेरि विवादमा तानिए रवि, नागरिकता प्रकरणले घाटा कि फाइदा ?


  • 1.7K
    Shares

    चुनावको मुखमै फेरि विवादमा तानिए रवि, नागरिकता प्रकरणले घाटा कि फाइदा ?

    मंसिर ४ गतेको मतदानको मुखमै आइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विवादमा तानिएका छन्। अमेरिकी नागरिकता नत्यागेको र नेपाली नागरिकता कायम हुन नसक्ने भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै रविविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो।

    यो उजुरीले रवि लामिछानेलाई जति विवादमा तानेको छ, त्यो भन्दा बढी चर्चाको शिखरमा पुर्‍याएको छ। चुनावको मुखमै यस किसिमका प्रकरणले व्यक्तिगत रुपमा रविलाई नै फाइदा पुगेको देखिन्छ। किनकि यसलाई उनले राष्ट्रिय बहस तथा राजनीतिक दलका नेताहरूले अनेक तिकडम गरेर हराउन खोजेको तानाबानाका रुपमा उनले प्रचार गर्न पाउनेछन्।

    तर यदि यो उजुरीमाथि गम्भीर अनुसन्धान भएर रविले अमेरिकी नागरिकता नत्यागेको प्रमाणित भएमा भने उनको उम्मेदवारी खारेज हुन सक्छ। यो उजुरीमाथि आवश्यक छानबिन प्रक्रियाले एक हप्ताभन्दा बढी समय लिने देखिन्छ। त्यहाँसम्म मतदान सकिनेछ भने रविले अहिले बनाएको माहौल झन् सहानुभूतिमा परिणत हुनेछ।

    रवि विगत लामो समय अमेरिका बसेर आएका सञ्चारकर्मी हुन्। नेपालमा युवाअवस्थाबाटै सञ्चारकर्म गरेका उनी अमेरिका लामो समय बसेपछि उतैको नागरिकता लिएका थिए। तर उनी बीचैमा नेपाल फर्केर ‘सिधा कुरा’ कार्यक्रममार्फत फेरि चर्चामा आएका थिए।

    चर्चासँगै बेला बेला विवादमा आएका उनी प्रेस काउन्सिलको छानबिनपछि झन् विवादमा तानिएका थिए। अमेरिकी नागरिकता बोकेका रविले ‘वर्क परमिट’ नलिई नेपाल बसेको र काम गरेको भन्दै उनीविरुद्ध यसअघि काउन्सिलमा उजुरी परेको थियो।

    त्यतिबेला रविले अमेरिकी नागरिकता त्यागिसकेको बताएका थिए। तर अहिले आएर फेरि रविले अमेरिका नागरिकता नत्यागेको बहस चलेको छ। यसले रविलाई फेरि विवाद र बहसमा तानेको हो।

    चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दिएका उनी बिस्तारै माहौल आफूतिर केन्द्रित गर्न सफल भएका छन्। कांग्रेस तथा गठबन्धनबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल चुनावी प्रतिष्पर्धामा आउँदा रविबाट पछिल्लो समय चुनावी चर्चा रोमाञ्चक बनेको दृश्य देखिएकै छ।

    सामाजिक सञ्जालबाट सुरु भएको उनको चर्चा चुनावको निर्णायक मैदानमा पनि चुचुरोमा पुगेपछि यसले दलीय उम्मेदवारलाई झस्काएको सत्य हो। त्यसमाथि युवा र केही बुढापाका पनि रविकै अभियानमा लामबद्ध भएपछि दलबाट वाक्क दिक्क भएकाहरुको जमात बढ्दै गएको छ।

    रविसँग खुलेर जति युवा लागेका छन् त्यो भन्दा धेरैले मौन रुपमा उनलाई समर्थन गरिरहेका छन्। यसले पनि यसपटक मंसिर ४ गते चितवन क्षेत्र नं. २ को चुनावी अंकगणित धेरै फेरिने अनुमान गरिएको छ। केही सञ्चारमाध्यमले रविको बढ्दो चर्चा र चुनावी प्रतिस्पर्धाले यसपटक चितवन क्षेत्र नं. २ ले नयाँ अनुहारलाई चुनावी मैदानबाट अनुमोदन गर्न सक्ने आशा बढेको छ।

    यो आशा, चर्चा र सामाजिक सञ्जालको क्रेज पनि चुनावी मैदानमा देखिएपछि त्यसबाट आत्तिएर दलीय उम्मेदवारकै योजनामा अनेक तानाबाना मतदानको मुखमा बुन्न थालिएको भन्दै अर्को आलोचना भइरहेको छ।

    यसले चर्चाका हिसाबले रवि लामिछानेलाई भने व्यक्तिगत रुपमा फाइदै गरेको छ। यतिबेला उनी नेपाली वा अमेरिकी नागरिकता बोकेको भन्दा पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट वाक्क दिक्क भएका सर्वसाधारणका लागि बलियो वैकल्पिक उम्मेदवार हुन्।

    अमेरिकी नागरिकता प्रकरणले विवादको रुप लिएर उम्मेदवारी खारेजकै अवस्थामा पुग्यो भने पनि रविले यो चुनाव यदि नतिजा आइसकेको खण्डमा जित्न बेर लगाउँदैनन्। त्यसैले पनि यस किसिमका विवाद र बहस योजनाबद्ध हो कि कुनै नयाँ घटनाक्रमको खोजी हो ? भन्ने कुराको निक्र्यौल केही समयपछि लाग्ने नै छ।

    यसबारे निर्वाचन आयोगले छानबिन गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ। तर रविविरुद्ध परेको यो उजुरीमाथिको आयोगमा जति चर्चा गम्भीरताका साथ अध्ययन अनुसन्धान भइरहेको छ, त्यत्तिकै चर्चा चुनावी मैदान बाहिर पनि भइरहेकै छ। यो रविको लागि अर्को ‘प्लस पोइन्ट’ भएको उनी पक्षधर युवा नेताहरुको टिप्पणी छ।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १२:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij