२०८२ भाद्र ६ गते शुक्रवार
पूर्वजनमुक्ति सेनाका डिभिजन कमान्डर, ज्यानमुद्दा लागेर फरार रहेका कालीबहादुर खामले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री पद मागेको खुलेको छ।
प्रतिनिधि सभा विघटन गरेपछि ओलीले पूर्वजनमुक्ति सेनालाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका छन्। त्यसका लागि उनले खामलाई बालुवाटारमै बोलाएर दुई पटक भेटिसकेका छन्। ओली–खाम पहिलो भेटमा रुकुमका एक नेकपा नेताले सम्पर्कसूत्रको काम गरेका थिए।
ओलीलाई भेट्न दोस्रो पटक बालुवाटार जाँदा भने खामले पूर्वडिभिजन कमान्डर धनबहादुर मास्की र अन्य तीन जनालाई पनि सँगै लगेका थिए।सोही भेटमा खामले आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीसँग राखेको खामसँगै बालुवाटार गएका एक पूर्वबटालियन कमान्डरले बताए।
‘पुसको दोस्रो हप्ता बालुवाटारमा भेट भएको थियो। छलफलमा खाम दाइले प्रधानमन्त्रीसँग खुलेर लाग्नुपर्ने भए आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो,’ उनले भने। प्रधानमन्त्री ओलीले पनि एक जनालाई मन्त्री बनाउने आश्वासन दिएका थिए।
‘अहिले नै बनाउने कुरा त गर्नुभएन,’ ओलीले दिएको जवाफबारे उनले थपे, ‘तपाईंहरु पूर्वजनमुक्ति सेनाका साथीहरु मिलेर आउनुभयो भने केही समयपछि एकजनालाई मन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्नुभयो।’ खामले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन्।
खामसँगै बालुवाटार पुगेका पाँच जनामध्ये एक पूर्वकमान्डरले प्रचण्डनिकट नेताहरुलाई सो भेटबारे जानकारी गराएका थिए। ती पूर्वकमान्डरबाट जानकारी लिएका नेकपाका एक केन्द्रीय सदस्यका अनुसार खामले आफूसहित तीन जनालाई मन्त्री बनाउन ओलीसँग प्रस्ताव राखेका थिए।
‘खामसहित पाँच जना साथीहरु ओलीसँगको छलफल गर्न बालुवाटार गएका रहेछन्। छलफलमा घाइते, अपाङ्गलाई राहत, जनमुक्ति सेनालाई सम्मान गर्ने लगायतका पाँचवटा प्रस्ताव राखिएको रहेछ। त्यसमा एउटा प्रस्ताव जनमुक्ति सेनाका तर्फबाट तीनजनालाई मन्त्री बनाउनुपर्ने पनि रहेछ,’ ती केन्द्रीय सदस्यले भने, ‘तीन जना होइन, एक जनालाई मन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले प्रतिवद्धता पनि जनाएका रहेछन्।’ तर, त्यहाँबाट फर्किएपछि यसविषयमा छलफल अघि नबढेको उनको भनाइ छ।
‘प्रधानमन्त्रीले बनाउँछु भनेको एकजना मन्त्री कसलाई बनाउने भन्नेबारे निर्णय हुन सकेनछ,’ ती केन्द्रीय सदस्यले भने।
तत्कालीन माओवादीको तेस्रो डिभिजन कमान्डर खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेको छ। उनी १२ वर्षदेखि फरार छन्। कानुनी रुपमा उनलाई तत्काल मन्त्री बनाउन नमिल्ने भएकोले प्रधानमन्त्रीले केही समयपछि बनाउने आश्वासन दिएको हुनसक्ने ती पूर्वबटालियन कमान्डर बताउँछन्।
पूर्वजनमुक्ति सेनालाई आफूसँगै समेट्ने प्रयासमा रहेका खामले नेपालगञ्जमा प्रचण्डनिकट नेतासँगको भेटमा आफूमाथि लागेको मुद्दा फिर्ता लिन प्रधानमन्त्री तयार भए ओलीको पक्षमा खुल्ने बताएका थिए। सोही योजनाअनुरुप खामको नेतृत्वमा ठूलो संख्यामा पूर्वजनमुक्ति सेनालाई भित्र्याउने ओलीको तयारी थियो। तर पूर्वलडाकुहरु उनलाई कमान्डर मानेर जान तयार नभएपछि जनयुद्धमा कुनै भूमिका नभएकाहरु आआफ्नो झुण्ड लिएर प्रधानमन्त्रीतिर लागेका थिए।
पूर्वजनमुक्ति सेना सामूहिक रुपमा नगई किस्ताकिस्तामा आआफ्नो गुट लिएर सोझै प्रधानमन्त्रीसँग बार्गेनिङ गर्न थालेको पूर्वबटालियन कमान्डर विनोद गौतमले बताए।
पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित भएको छ। प्रधानमन्त्री ओलीले त्यतिबेलैदेखि प्रचण्ड नजिकका केही नेता र पूर्वजनमुक्ति सेनाका कमान्डरलाई आफूतिर तान्ने प्रयासस्वरुप फरार रहेका खामलाई पनि बालुवाटारमा सीधै पहुँच दिएका थिए।त्यसपछि उनी जनमुक्ति सेनाको ठूलो समूहलाई ओलीतिर ल्याउने भन्दै पूर्व–पश्चिम यात्रामा निस्केका थिए। उनी अहिलेपनि पूर्वजनमुक्ति सेनालाई समेट्ने प्रयासमा छन्।
खामले पूर्वमाओवादी र खासगरी जनमुक्ति सेनामा रहेका आफ्ना साथीहरुलाई फोन गरेर आफूले सबैलाई समेट्न खोजेको बताएका थिए। खामले सम्पर्क गरेका व्यक्तिहरु डिभिजन, ब्रिगेड र बटालियन स्तरका छन्।
अर्कोतिर प्रचण्डले पनि पूर्वजनमुक्ति सेनालाई आफूतिरै राख्न जोड गरिरहेका छन्।
उनले माघ ९ गते काठमाडौंमा भएको विरोध सभामा समेत पूर्वलडाकुहरुलाई ओलीको पक्षमा नलाग्न आह्वान गरेका थिए।
‘प्रचण्डले जनमुक्ति सेनालाई नहेर्ने रे, केपीले... लाजै लाग्ने (जिब्रो टोक्दै),’ प्रचण्डले भनेका थिए, ‘त्यसैले जनयुद्धका कमान्डर साथीहरू ओलीको कुरामा गम्भीर नहुनुहोला, कमरेडहरू तपाईंहरूको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्ने काम भएको छ, त्यसमा कसैले कालो नपोतौं।’
गृहमन्त्री थापाले नै खाम र अर्का नेता बालकृष्ण ढुङ्गेललाई जनमुक्ति सेना, निकटका साथीहरु लगायतका पूर्वमाओवादीहरुलाई आफूतिर तान्ने भूमिका खेल्न खटाएका हुन्। नेपालखबर
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij