२०८२ भाद्र ६ गते शुक्रवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।
प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेसी न्यायाधीश मनोज शर्माको इजलासमा तोकिएको थियो । तर, बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको सर्वोच्च अदालतले जनाएको छ ।
अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतमाथि टिप्पणी गरेका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा पनि शर्माकै इजलासमा सुनुवाए भएको थियो । शर्माको एकल इजलासले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानालाई लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij