२०८२ भाद्र २४ गते मंगलवार
मलाई पनि छ, उनलाई पनि छ
आफ्नो आफ्नो दुःख त
जुनलाई पनि छ...'
उल्लेखित पंक्तिहरू लोकगायक पशुपति शर्माले चार दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतको हो ।
जुन गीत यतिबेला सर्वाधिक चर्चामा छ । टिकटकमा गीत छाएको छ, युट्युबमा लोभलाग्दो भ्युज पाइरहेको छ ।
युवापुस्तामाझ चर्चित फरक जनराका अर्का गायक सज्जनराज वैद्यको गीतलाई पछि पार्दै पशुपतिको गीत युट्युबको नेपाल ट्रेन्डिङमा संगीततर्फ पहिलो नम्बरमा उक्लिएको छ । समाचार तयार पार्दासम्म युट्युब भ्युज १४ लाख ५० हजार बढी पुगिसकेको छ ।
खासमा यो गीत पशुपतिले तीजको समयमा रेकर्ड गरेका थिए । तीजपछि भिडियो बनाएर सार्वजनिक गर्ने उनको तयारी थियो ।
यद्यपि, उनी लगातार कार्यक्रमहरूमा ब्यस्त बन्न पुगे । ‘कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया गएँ, जापान गएँ,’ उनी सुनाउँछन्, ‘यो गीत गाएको बिर्सिएको रहेछु ।’ पञ्चेबाजा गीत ‘जन्तै जाम्ला भतेरै खाम्ला’ तयार पारे । भिडियो बनाएर सार्वजनिक गरे ।
‘त्यसपछि पो मालश्री स्टुडियोको भाइले पुरानो गीत ल्याउने होइन दाइ भनेर सम्झाउनुभयो,’ उनी अगाडि सुनाउँछन् ‘अनि बल्ल ए ! हो त भन्ने भयो ।’
निर्देशक दुर्गा पौडेलसँग भिडियोका लागि छलफल गरे । एउटा कन्सेप्ट बनाए ।
त्यो कन्सेप्टमा भिडियो बनाउँदा ३ दिन लाग्ने र आर्थिक रुपमा पनि धेरै खर्च हुने देखियो । ‘त्यो भन्दा बरु सामान्य भिडियो बनाएर विचार गरौं न भन्ने भयो,’ उनी भन्छन्, ‘त्यसपछि सामान्य भिडियो बनाइयो ।’
दुर्गा पौडेलको निर्देशनमा गीतको भिडियो सामान्य बन्यो । भिडियोमा पशुपति स्वयं प्रस्तुत भए ।
गीत चलेपछि उनी सुनाउँछन्, ‘दर्शक श्रोेताले कलाकारले कसरी गाउँछ भनेर पनि हेर्न चाहानुहँदोरहेछ । जे सोचेको थिए, त्योभन्दा धेरै रुचाउनुभएको छ ।’
आफूलाई असाध्यै मन परेको भएपनि यति धेरै राम्रो प्रतिक्रिया पाउला भन्ने आफूले नसोचेको उनको भनाइ छ ।
पशुपतिका अनुसार गीतको भिडियोमा २५ हजार रुपैयाँ मात्र लगानी भएको छ । गीतमा पशुपतिले आम मानिसको दुःख शलाई प्रस्तुत गरेका छन् । गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन
पछिल्लो समय निकै तामझामका साथ लाखौं खर्च गरेर भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । तर, गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन भन्ने उदाहरण पनि हो, पशुपतिको गीत ‘आफ्नो आफ्नो दुःख’ ।
गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ भन्ने गीतले पुष्टि गर्छ । यसअघि सामान्य भिडियो मै प्रशान्त पौडेलको ‘सान्नानी जाम् पोखरा’ गीत पनि निकै चर्चित बनेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij