२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले अध्यक्ष केपी शर्मा ओलीमाथिको कारबाहीलाई केन्द्रीय कमिटी बैठकमार्फत अनुमोदन गराउने तयारी गरेको छ ।
गत ११ माघमा स्थायी कमिटी बैठकमार्फत प्रचण्ड-माधव समूहले नेकपाका अध्यक्ष ओलीलाई साधरण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरेपछि मात्रै आधिकारिकता पाउने भएकाले बैठकले कारबाहीलाई अनुमोदन गर्ने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिए ।
निर्वाचन आयोगले साबिकको ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिकता दिएकाले केन्द्रीय कमिटी बैठकमार्फत उनलाई हटाउने निर्णय अनुमोदन गर्न लागिएको केन्द्रीय सदस्य अजयशंकर नायकले बताए ।
‘निर्वाचन आयोगले विगतको केन्द्रीय सदस्यलाई आधिकारिकता दिएको छ । त्यो संख्याको बहुमत केन्द्रीय सदस्यले कारबाहीको अनुमोदन गरेपछि यो निर्णयले आधिकारिकता पाउनेछ । निर्वाचन आयोगलाई समेत हामी कारबाहीबारे जानकारी गराउनेछौँ,’ उनले भने ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी पक्षले दलको केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्न समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नुपर्ने उल्लेख छ ।
आयोगले विभाजन भएको दुबै पक्षलाई मान्यता नदिने निर्णय गर्दै साबिककै नेकपालाई आधिकारिक रहेको निर्णय सुनाइसकेको छ । यसको आधारमा साबिककै केन्द्रिय सदस्य आधिकारिक रहेको त्यसको बहुमत सदस्य प्रचण्ड(माधव समूहमा रहेकाले कारबाहीलाई अनुमोदन गर्दै आयोगलाई जानकारी गराउन लागिएको सदस्य नायकको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij