Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओलीका मन्त्रीलाई श्री ५ को सरकार प्यारो, ओलीलाई नारायणहिटी दरबार अगाडी सभा गर्न किन भो हतारो ?

ओलीका मन्त्रीलाई श्री ५ को सरकार प्यारो, ओलीलाई नारायणहिटी दरबार अगाडी सभा गर्न किन भो हतारो ?


  • 6.8K
    Shares

    ओलीका मन्त्रीलाई श्री ५ को सरकार प्यारो, ओलीलाई नारायणहिटी दरबार अगाडी सभा गर्न किन भो हतारो ?
    images

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ ।

    काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

    कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

    प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो ।

    सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

    यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घलेस्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

    सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुनेछ ।

    जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा  उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

    सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको ¥यालीसमेत गरिने जनाइएको । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।

    यता मन्तव्यका क्रममा ‘श्री ५ को सरकार’ भनेकामा खानेपानीमन्त्री मणिचन्द्र थापाले माफी मागेका छन् । भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री थापाले माफी मागेका हुन् ।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट‘’ भनेका थिए । मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन् ।

    ‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा‘’ भनेका थिए । लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए।

    मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ। गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

    ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले फेसबुकमा लेखे, ‘आमनेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १२:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij