२०८२ भाद्र ४ गते बुधवार
वागमती प्रदेशका खानेपानी,सिँचाइ तथा ऊर्जामन्त्री वसन्त मानन्धरले 'सपोर्ट सोसाइटी बचत तथा ऋण सहकारी जुन ढङ्गले चलिरहेको छ यसमा काफी सन्तोष गर्ने ठाउँ छ परन्तु नयाँ लागू भएका नियम कार्यान्वयन गरी पूरै सहकारी मर्मअनुसार प्रत्येक सेयरहोल्डर सदस्यले उत्तिकै चिन्ता र चासोका साथ सहकार्य गर्ने हो भने नमुना सहकारीका रुपमा गर्व गर्न लायक सहकारी बन्न सक्छ ' भन्दै आगामी दिनमा सहकारीको मूलमन्त्र पछ्याउन सम्पूर्ण सेयरहोल्डर सदस्यलाई आग्रह गरेका छन् ।
फगत् सञ्चालक समिति र सीमित व्यक्तिको संस्थाजस्तो बनाउन खोजियो भने यसले सहकारीको मूल मर्म र भावना समेट्न नसक्ने उनको कथन थियो । उक्त सहकारीको गत शनिवार राजधानीमा आयोजित चौधौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद पन्तले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन,हरिप्रसाद तिवारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा मोहन लामिछानेले बुझाएको लेखा समितिको प्रतिवेदन केही थपघट तथा परिमार्जन गरी सर्वसम्मतिले पारित गरिएको थियो ।
उद्घाटन समारोहमा उपाध्यक्ष तथा ऋण समिति संयोजक बद्रीप्रसाद तिवारीले ऋण प्रवाह गर्दा र उठाउँदाका प्राविधिक जटिलता,धितो राख्न नपाउने नियमले सिर्जना गरेका अप्ठ्यारा, एकाध सहकारी सदस्यबाटै ऋण चुक्ता गर्ने बेला झिक्न खोजेका बखेडा, सहकारीलाई थप क्रियाशील बनाउन अपनाउनुपर्ने विधि र पद्धतिबारे आफ्ना भनाइ राखेका थिए भने सचिव तथा प्रबन्धक वेदप्रसाद पौडेलले दैनिक कार्य सञ्चालनका अड्चन र सदस्यहरूको संस्थाप्रतिको उदासीनता तथा तिनलाई निराकरण गर्ने उपायको खोजीबारे आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व लेखा परीक्षक चिन्तामणि अधिकारी एवं वर्तमान लेखा परीक्षक थानेश्वर गिरीले सहकारीले अपनाउनुपर्ने अबको बाटोबारे सारगर्भित राय व्यक्त गरे । लेखा समिति सदस्य उषा सिम्खडाले स्वागत मन्तव्य दिएको सो कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार माधव घिमिरे 'अटल'ले गरेका थिए । साधारणसभाको समापन संस्थाका अध्यक्ष नेत्रप्रसाद पन्तले गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij