Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

दया हो पृथ्वीको अति चहकिलो पारसमणि

दया हो पृथ्वीको अति चहकिलो पारसमणि


  • 7.8K
    Shares

    दया हो पृथ्वीको अति चहकिलो पारसमणि
    images

    दया हो पृथ्वीको अति चहकिलो पारसमणि

    दया नै हो कालो भवजलधिको मुख्य तरणी ।

    चर्चित छन्दकवि शिरोमणि लेखनाथ पौड्यालले सनकमा लेखेका थिएनन्, प्रस्तुत पङ्क्तिहरू । यी हरफले दया, करुणा र मानवीय मूल्यबोधबारे छर्लङ्ग पारेका छन् । यिनै हरफलाई प्रत्यक्ष/परोक्ष मूलमन्त्रका रुपमा ग्रहण गर्दै आएको छ एउटा अग्रणी समाजसेवी संस्थाले । उक्त अगुवा संस्था हो - दया फाउन्डेसन । शिक्षा , स्वास्थ्य र संस्कृतिको क्षेत्रमा सुपरिचित सो संस्थाले यहाँसम्म आउँदा के, कस्ता मानवीय धर्म निर्वाह गर्यो त ? जिज्ञासा आम पाठकका निम्ति स्वाभाविक हुन सक्छ ।

    ****

    वि•सं• १९८३ मा ओमबहाल,काठमाडौँमा पहिलोचोटि आँखा खोलेका थिए, दयारामभक्त माथेमाले । तीक्ष्ण बुद्धिका उनी बाल्यकालदेखि नै मानवीय सेवालाई जीवनको अभीष्ट ठान्ने गर्थे । करिब दुई दशक तत्कालीन राजा त्रिभुवनको निजी सचिवका रुपमा अनवरत र इमान्दार सेवापश्चात् सेवानिवृत्त भए । उनी सेवामै रहँदा जहानियाँ राणाशासन विरुद्ध भीषण आन्दोलन जारी थियो । यसै सिलसिलामा भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउस पुगेका मौसुफका प्रमुख सहयोगी तथा सल्लाहकार माथेमाले दिल्ली सम्झौताका निम्ति अविस्मरणीय भूमिका निर्वाह गरे । त्यतिमात्र नभई त्रिभुवन विश्वविद्यालय स्थापनार्थ समेत उनको महत्त्वपूर्ण योगदान थियो । उति बेलाका मान्छेका कथनानुसार सेवाबाट अवकाश पाएपछि उनले नै पहिलोपटक सिनेमाहल सञ्चालन गरे । उनी नेपाली तथा नेपाल भाषामा सरल कविता लेख्थे जसको मर्म र सार परोपकारसँग सान्निध्य हुन्थ्यो । आफ्नो लेखन र सेवाभावलाई भरपुर महत्त्व दिए, आफ्नो जीवनकालमा उनले । त्यसो त जतिसुकै दानवीर व्यक्तित्वको पनि महाप्रस्थान हुने नै हुन्छ । कीर्तिशेष दयारामभक्त माथेमाकृत दया फाउन्डेसनद्वारा मरणोपरान्त प्रकाशित संस्मरणात्मक कृति 'अनुभव र अनुभूति: जीवनयात्राका ऐतिहासिक मोड' मा इतिहासका अनगिन्ती अप्रकाशित रोचक आयाम तथा थुप्रै अलिखित प्रसङ्गहरू भेटिन्छन् । यसबाट उनी दयावीर मात्र नभई लेखकीय व्यक्तित्वका पनि धनी थिए भनी किटान गर्न सकिन्छ ।

    ***

    अब रह्यो दया फाउन्डेसनका कुरा । भनिन्छ नि- " तपाइँ असल कर्म गरिरहनुस् चाहे दुनियाँले तारिफ गरून् या तिरस्कार । आखिर भू:लोकका आधाभन्दा बढी दुनियाँ निद्रामै हुँदा पनि सूर्य त जागा नै रहन्छ ।" पक्कै पनि दुनियाँलाई थाहा दिनभन्दा पनि आफ्नो निष्काम कर्मले दीनहीनहरूको मुहारमा मुस्कान भर्ने काममा दशकौँदेखि दत्तचित्त रहँदै आएको परोपकारी संस्था हो दया फाउन्डेसन । दया फाउन्डेसनले गौर गरी मनन गरेको विषय- "दया नै यस्तो भाषा हो जसलाई बधिरले पनि सुन्न सक्छन् र दृष्टिविहीनहरूले पनि देख्न ।" भन्ने हो । हामी आफैँ पनि 'संसारको निम्ति त फगत् एउटा व्यक्ति ठहरियूँला अपितु एउटा अमुक व्यक्तिको निम्ति संसार पनि त हुन सक्छौँ।' आखिर मानवीय सम्बन्धमा त नि:सन्देह हजारौँ, लाखौँ सत्य सावित हुन्छ दया । उदास मुहारमा मुस्कानको इन्द्रेणी यदाकदा सानै मद्दतले पनि भर्न सकिन्छ भन्ने स्पष्ट ध्येय बोकेको छ दया फाउन्डेसनले । इमान,जमान र लगन खिइँदै गएको वर्तमानमा दयाले मान्छेको जीवनमा घामका पाइला राख्ने छ भन्ने पुनीत मान्यताद्वारा अभिप्रेरित छन् दया फाउन्डेसनका तमाम गतिविधिहरू । मूलतः बालमैत्री छन् यसका समग्र क्रियाकलापहरू । बाल साहित्यलाई उच्च प्राथमिकतामा राखेको लाभान्वित सेवाग्राही अभिव्यक्त गर्छन् । जबजब ठिही र चिसो सिरेटोले कठ्याङ्ग्रिन्छन् निर्धन जनहरू तबतब आफ्नो गच्छेअनुसार हाजिर हुन्छ दया फाउन्डेसन न्यानो लिएर । संसार जब भयानक रोगले आक्रान्त बन्छ तब दया फाउन्डेसन चिकित्सकीय सामग्री र सहायता लिएर उपस्थित हुन्छ व्याधिग्रस्त र मधौरु रहेको मैदानमा । जब युवावर्ग बहकिन्छ, विदेशी सिको गर्छ र जानअन्जान उद्यत हुन्छ विसङ्गतिको पन्तरा भित्र्याउन तब दया फाउन्डेसन कटिबद्ध बन्छ तिनलाई आफ्नो मौलिक संस्कृति र स्व-पहिचान सम्झाउन । संसार भयाक्रान्त बन्यो कोभिड महामारीले सन् २०१९ को अन्तदेखि । यत्रतत्र भोक, खोप अभाव,बन्दाबन्दी,क्वारेन्टाइन र एकलबासको माहोल थियो । उकुसमुकुसको त्यो परिस्थितिलाई उधिन्दै सहजीकरण गर्न योग कक्षा तथा ध्यानलाई प्राथमिकतामा राख्यो ताकि कलिला मुनाहरू कुनै मानसिक रोगको सिकार नबनुन् । अक्सिजन तथा अस्पतालमा शय्या अभावले बिरामीले अकाल मृत्युवरण गर्नुपरेका घटना भुसको आगोझैँ फैलियो । विद्यार्थीहरू कैदीबन्दीझैँ भएको त्यो कठिन कालखण्डमा समेत दया फाउन्डेसन अन्यमनस्क बनेन । बरू बन्दाबन्दीको त्यो अप्ठेरो घडी सामुदायिक विद्यालयका शिक्षकलाई प्रभावकारी ढङ्गले अनलाइन कक्षा सञ्चालन गर्न प्रशिक्षण दियो । प्रशिक्षणसँगै विद्यार्थीलाई मोबाइल र शिक्षकलाई ल्यापटप पनि उपलब्ध गरायो । टेकु अस्पताल, वीर अस्पताल, त्रि•वि• शिक्षण अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय, भक्तपुर क्यान्सर हस्पिटल लगायतका संस्थाहरूलाई अत्यावश्यक चिकित्सा उपकरण वितरण गर्यो । युवा वर्गलाई परिलक्षित गरी युथ म्युजिक कन्टेस्ट सम्पन्न गर्यो । लिङ्ग, जाति, धर्म र भूगोलभन्दा माथि उठेर मानवताको सेवा गर्ने दर्मियानमा राष्ट्रव्यापी वक्तृता सानदार सम्पन्न गर्यो । यी अभियानले थोरै भए पनि राहत मिल्यो आहत सर्वसाधारणलाई । उता २०७२ सालको विनासकारी भूकम्पका बेला पनि दया फाउन्डेसनले सक्दो राहत वितरण गरी जनजीवनलाई सामान्यीकरण गर्न अहोरात्र सघायो । यसरी नै राजधानीको मुटुमा अवस्थित नेपाल आदर्श मा•वि•लगायतका काठमाडौँका आधा दर्जन र उपत्यका बाहिर धुलीखेल र चितवनका एक/एक विद्यालयमा शैक्षिक उन्नयनका निम्ति निरन्तर योगदान गर्दै आएको छ । चाहे छात्रवृत्ति दिएर होस् वा शैक्षिक सामग्री वा खाजा नै किन नहोस् , दया फाउन्डेसनले गरिब तथा जेहनदार शिक्षार्थीहरूलाई हरतरहले सहयोग गर्दै आएको छ । कोभिडकालमा घरमै बन्दीझैँ जीवन यापन गरिरहेका विद्यार्थीलाई अवसाद,उदासीजस्ता मानसिक रोगले आक्रमण गर्न नपाऊन् भनी अनलाइन चित्रकला,कविता,गीत र नृत्य सञ्चालन गरी एउटा आपतको भूमरीबाट अवतरण गर्न मनग्गे मद्दत गर्यो । शिक्षकहरूलाई समेत यथासमयमा तालिम,सम्मान र पुरस्कार वितरण गरिराखेको परिप्रेक्ष्यमा दया फाउन्डेसनलाई नामजस्तै काम भएको संस्थाका रुपमा मान्न सकिन्छ ।

    ***

    "आफ्नो सन्ततीलाई सम्पत्ति दिइएन भने ऊ केही वर्ष रूनेछ परन्तु संस्कार दिइएन भने जिन्दगीभर रूनेछ ।" भन्ने सारगर्भित कथनलाई शिरोधार्य गरी दया फाउन्डेसनले बेलाबखत संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्नेबारे वक्तृता,प्रशिक्षण र साहित्य लेखनलाई पनि जोड दिँदै आएको हामी कसैबाट छिपेको छैन । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा अविराम योगदान गर्दै आएका विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवसर पनि जुटाइदिएको छ दया फाउन्डेसनले । हो,संस्थाले सबैको भविष्य बदल्न सक्छौँ भन्ने कसम त खाएको छैन तथापि प्रवृत्ति बदल्न भने एकाग्र छ । उसले सोचेको छ जब प्रवृत्ति बदलिने छ, तब भविष्य आफैँ बदलिने छ । निःसन्देह सेवा प्रवाह गर्ने उदात्त समुद्र त एउटै हो सबैका निम्ति । फरक चाहिँ खालि त्यहाँ विनाबित्थाका बग्रेल्ती तस्बिर खिचाएर सस्तो प्रचारबाजी गर्ने खाले माछा खोज्ने वा अटुट नदीको बहावझैँ अमूल्य मोती खोज्ने भन्नेमा केन्द्रित हुने भन्ने हो । दया त्यस्तो भित्तेपात्रो होइन जो महिना पुगेपछि पल्टन्छ र वर्ष तुरिएपछि फेरिन्छ । यो त निरन्तर सेवाभावको उच्च शिखर हो । जीवनमा हजार जनाले ल्याउन नसकेको खुसी संयोगवशः एउटै संस्थाले पनि त ल्याइदिन सक्छ !

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - ०९:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij