२०८२ भाद्र २ गते सोमवार
उसले तिम्रो सहरमा आगो लगायो
तिमीले ताली लगायौ उसले तिम्रो घरमा आगो लगायो
तिमीले ताली लगायौ भोलि उसले तिमीलाई नै आगो लगाउँछ
तिमीसँग ताली हुँदैन केवल खरानी हुन्छ ।
नैतिक विफलताको डिलमा पुगेको नेपालमा व्यङ्ग्य कवि अर्जुन पराजुलीका यी पङ्क्तिले वर्तमानको वास्तविकतामात्र उद्घाटित गर्दैनन् बरु एउटा भष्मासुर प्रवृत्तिकै चिरफार गर्छन् । ठूला ठानिएका सहरमा भएका कथित आमसभा नियालेर बजेका तालीका अर्थ उधिन्ने हो भने थाहा लाग्छ, त्यहाँ नाङ्गा बादशाह बर्बराइरहेका हुन्छन् र काढिरहेका हुन्छन् छाला आफ्नै पूर्व सहकर्मीको । भीडलाई पकडमा लिन भद्दा मजाकको सहारा लिन्छन् आधुनिक बादशाह । त्यहाँ "आबुइ•••! बादशाह त नाङ्गै ?" भन्दै प्रतिक्रिया दिने कुनै शिशु भेटिन्न 'नाङ्गा बादशाह' कथामाजस्तै । बरू निर्लज्ज आसेपासे, हुक्के, बैठकहरूको दिग्भ्रमित टुकडी नग्नतालाई नमन गरिरहेका, सलाम ठोकिरहेका र बादशाह कपडाभित्रै छन् भन्न तँछाडमछाड र दौडधूप गरिरहेका भेट्न सकिन्छ । भ्रमित र लालबुझक्कडहरूको यो नग्नता आम नागरिकलाई अग्राह्यमात्र होइन अपितु त्याज्य छ । राजनीति यति धमिल्याएका छन् राज्य सारथिले कि यतिखेर सिद्धान्तको स्थान मोलमोलाइले ओगटेको छ । स्वार्थको आगो ताप्न सिद्धान्त जलाउनेहरूको बिगबिगी छ । रेशमले मोहोरेका बाँदरहरू आफूलाई हनुमान सम्झिने गरेका छन् । एकले अर्कालाई खुइल्याउनमा सत्तारुढ दल जमेर लागेको छ । न फुटेको घोषणा गर्ने आँट कसैले बटुलेका छन् न सँगै छन् भन्ने कुनै दसी ।
गाँड कोराकोरमा आफैँले उत्कृष्ट भनेको सम्विधानको शैशवकालमै घाँटी सेरेका छन् । करिब दुई तिहाइ मतलाई भड्खालोतिर जाकेर अर्को दुई तिहाइको राग अलापिरहेछन् । एकपटकको दुई तिहाइ थेग्न नसक्नेले फेरि त्यही माग्दा या त अब दुई वर्षपछि आउनुस् या त गिदी फेरेर भनी मतदाताले थुतुनोमा लोप्र्याए भने दिने सन्तोषजनक जवाफ के होला ?
आशङ्कालाई उकेरा लगाउँदै न्यायालय
चाहे पूर्व महान्यायाधिवक्तालाई हटाएर झगडिया पक्षकै कोटाको पूर्व सभासदलाई संवैधानिक इजलाशमा भर्ती गर्दा होस् वा एउटा झगडियासँग सार्वजनिक कार्यक्रममा गरेको खासखुस वा कानुन व्यवसायीलाई बहसमा लागेको समयको पावन्दी । अझ रिट निवेदकका तर्फबाट भएको बृहत् पूर्ण इजलाशको मागलाई लत्याउने काम होस् वा अन्तरिम आदेशको हिचकिचाहट वा निर्वाचनका नाममा हुने भनिएका गतिविधि रोक्ने कुनै आदेशबारे अनकनाहट - यी कुनै पनि गतिविधि स्वतन्त्र नागरिकका शङ्काको घेरामा छन् जसलाई निष्पक्ष फैसलाद्वारा निमिट्यान्न पार्नुमात्र होइन , न्यायालयप्रतिको भरोसा स्थापित गराउनु छ । कदाचित अदालत चुक्यो भने संविधान कागजको खोस्टो बन्नेवाला छ ।
संविधान बचाउने कि भत्काउने जिम्मा न्यायपालिकाको हातमा छ । यी कुरा त यही संविधानलाई 'गीता' मानी स्वामित्व लिनेका हकमा मात्र लागू हुने हो । तर यो संविधान अब अपवादबाहेक हरेकका निम्ति अग्राह्य बन्दै गएको त होइन भन्ने संशय बढ्दो छ । संविधान घोषणाको खुसियालीमा एउटा भूगोलमा दीपावली हुँदै गर्दा अर्को भूगोल अन्धकारमय थियो । केही जातिले हर्षबढाइँ गर्दै गर्दा अन्य जनजातिले दहन गर्दै थिए संविधानको पुस्तक । संविधान निर्माणमा आफूलाई पूर्णरूपेण समर्पित गर्नेहरूले यति लज्जास्पद अपव्याख्या गरेर मूल कानुनको जान-अन्जान हुर्मत लेलान् भन्ने परिकल्पना सायदै कसैले गरेका थिए । न त मधेस मखलेल थियो कथित उत्कृष्ट संविधान बनेकामा न त आदिवासी जनजाति नै । एक्काईसौं शताब्दीको कानुनी दस्तावेजले समेत अपनत्व दिलाउन सकेको थिएन समान ढङ्गले सबै तह र तप्काका नागरिकलाई । जसले असङ्ख्य ओलीहरू पैदा गर्ने यो व्यवस्था स्वयम् नै जनमुखी होइन, वैज्ञानिक समाजवादी व्यवस्था यसको भरपर्दो विकल्प हुनसक्छ भन्थे उनीहरूलाई नै बल मिलेको छ यतिखेर । आखिर 'सत्य केही समय त छोप्न सकिन्छ तर निभाउन सकिन्न' भन्ने मान्यता स्वतःसिद्ध भएको छ - पुनः एकपटक । खराब रूख भए पनि यदाकदा असल स्याउ फल्न सक्छ भन्ने कथित दावी निर्मम ढङ्गले खण्डित भएको छ । बालुवा निचोरेर तेल किमार्थ निकाल्न सकिन्न भन्ने तथ्य थप पुष्टि भएको छ ।
मुगावेको नेपाली संस्करण
चौध वर्ष गृहयुद्धका दौरान बन्दुक बोकेर ०•२ प्रतिशत अश्वेत अफ्रिकी रङ्गभेदी शासनलाई धुलो चटाउन सफल रवर्ट मुगावे सात वर्ष कारावासमा समेत बसे । १९८० मा निर्वाचित हुँदा उनी जिम्बाबेमा मात्र होइन विश्वभर हाइहाइ थिए । त्यसबेला उनले भनेका थिए - "मैले मेरो जवानी तपाईंको अधिकारका निम्ति खर्चिएँ, अब बाँकी जीवन जिम्बाबेको समृद्धिका निम्ति खर्चन पाउने कि नपाउने ?" भन्दा करतल ध्वनिले उनको सानदार कथन जनअनुमोदित भएको इतिहास पुरानो होइन । तर तिनै मुगावेलाई कसरी गलहत्याउनु पर्यो, त्यो पनि सर्वविदित छ । उनी सत्तारुढ हुँदा जुन खुसी छाएथ्यो जिम्बाबेमा त्यो भन्दा हजारौं गुणा खुसी उनी सत्ताच्युत हुँदा छाएथ्यो । र त आजपर्यन्त सत्तालिप्सा र सत्तान्धतालाई मुगावे प्रवृत्ति भनिन्छ । मुगावेका नेपाली संस्करणले यतिखेर हेक्का राख्नुपर्ने विषय के हो भने शासकले के कति सङ्घर्ष गर्यो वा पूर्ववर्ती सरकारका कारण दुःख पायो भन्ने कुराले ऊ कति प्रगतिशील वा अग्रगामी हुन्छ भन्ने तय हुँदैन बरू त्यो त ऊ शासक हुँदा कस्ता काम गर्छ भन्नेमा अन्तर्निहित हुन्छ । आज स्वार्थको चास्नीमा आकण्ठ डुबेका, सत्ताको तर मार्न पल्केका र सत्ताको ताबेदारी गर्दा सात खत माफी हुने आश्वासन पाएका तथा चिन्तन र विचार वाग्मतीमा बगाइसकेका झुण्डले गरेको जयजयकारले मखलेल ओली कम्पनीको वास्तविक हैसियत मापन त लगभग भइ नै सक्यो किन्तु फगत् संसद पुनःस्थापनालाई जीवनमरणको लडाइँ बुझ्नेहरूको पनि खुट्टीले नै बताइसकेको छ सक्कली हैसियत । युगको माग त यहाँ मुगावेका नेपाली संस्करणलाई परास्त गर्नेमात्र होइन बरू त्यसको वैकल्पिक व्यवस्थाबारे पनि परिचर्चा गर्ने हो ।
जोकरतन्त्रका निर्मम ठट्टा
चुच्चे रेल र बुच्चे पानीजहाजमाथि होइन घरघरमा ग्याँसका पाइपलाइन जडान गर्ने मिति उहिल्यै गुज्रिसके किन्तु आजसम्म निर्मम ठट्टाभन्दा माथि कार्यान्वयनमा आउन सकेनन् । अतिक्रमित भूमि फिर्ता त के जोकरतन्त्रले कलिला नानीहरूका पाठ्यपुस्तकका गातामा छापिएका चुच्चे नक्सा नै गायब पार्यो परन्तु नक्कली राष्ट्रवादको उडन्ते नारा जारी नै छ अद्यापि । हालै परराष्ट्र मन्त्री भारत भ्रमण गएका बखत भएको भनिएको वार्ता सीमा विवाद र सेना फिर्ताबारे प्रवेश नै नगरे पनि भ्रमण सफल भएको हल्ला फिँजाइयो, कूटनीतिक असफलता ढाकछोप गर्न । रातो गलैंचा बिछ्याएर स्वागत गरिएका सुधीर चौधरीले ठाँटका साथ सगरमाथाको आधार शिविरबाट माउन्ट एभरेष्टको नाम माउन्ट सिकदर राख्न भारतले दावी पेश गर्नुपर्ने जिकिर गरे । उनी तिनै पत्रकार हुन् जसले कुनैबेला ओली र याङ्छीको अवैध सम्बन्ध रहेको हावादारी तर्कमात्र गरेनन् ओलीले ४१ करोड कालो धन चीनबाट प्राप्त गरेको सगर्व प्रस्तुत गरे जसको कतैबाट विधिवत् खण्डन गरेन वा दरकार ठानेन जोकरतन्त्रले । बरू उसले भनेर के भो त ? भन्ने कोणबाट बारम्बार व्याख्या गर्यो । 'एकजना बाजे वकिललाई तमासा देखाउन सर्वोच्च अदालत लगेको' भनेर मात्र मजाक गरिएन, चौंथो अङ्गलाई नर्क जान्छन् भनेर दुत्कारियो । वरिष्ठ कानुनविद्लाई दुर्मुखा, मन नपरेकालाई अजासु, बुद्धिजीवीलाई अस्थिरता मच्चाउने झुन्ड र कतिपय आफ्नै समान हैसियत राख्नेलाई केटो; नानीभन्दा नाना ठूलो , मान्छेभन्दा कुरा ठूलोजस्ता बिल्ला भिराउँदा आनन्दानुभूति गर्छ जोकरतन्त्र ।
खिरिलो टेको
विभिन्न माध्यमबाट बाहिरिएका श्रीमानहरूका पछिल्ला गुप्त गतिविधिहरूलाई थाती राख्ने हो भने जोकरतन्त्रको राजकाज र रजगज निकट भविष्यमा अन्त्य हुने देखिन्छ । सतहमा बहसमा आएका कथित सेटिङ हावादारी हुन् भनेर पुष्टि गर्ने स्वर्णिम अवसर यसबेला उपलब्ध छ न्यायालयलाई । आफ्नो स्वच्छता र पारदर्शिता पनि यस्तै ऐतिहासिक अवसरमा सिद्ध हुने हुन् । एउटा सनकी शासकको विवेकहीन कदमलाई न्यायालयले ल्याप्चे लगाइदेला भनेर कमैले मात्र कल्पना गरेका होलान् । कथं त्यस्तो भएछ भने ओलीले दिएको ' विघटनलाई असंवैधानिक भन्नेहरू राष्ट्रविरोधि हुन् ' भन्ने परोक्ष धम्कीले पूरै काम गरेछ भनेर बुझ्न विवश छन् जनता । अन्यथा विघटन सदर भएछ र कदाचित् दस -आठ महिनापछि निर्वाचन भएछ भने पनि जोकरतन्त्रको यो असंवैधानिक हर्कतलाई जनअदालतबाट लालमोहर नलाग्ने लगभग निश्चित छ । त्यसपछि संविधान पुनर्लेखन , न्यायालयको पुनर्संरचना , जनमुखी सुरक्षा प्रणाली साथै कामयाबी स्थायी सरकारबारेका बहस अगाडि बढ्ने बलियो सम्भावनालाई पनि नकार्न सकिन्न ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij