Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

हठात् निभेको निष्ठाको पानस

हठात् निभेको निष्ठाको पानस


  • 6.8K
    Shares

    हठात् निभेको निष्ठाको पानस

    बिलीन बनिसक्यो भौतिक देह धुवाँ बनेर । विलुप्त बनिसक्यो शरीर मट्टिमा खाक बनेर । भनिन्छ नि - के गर्नु अभिमान ? आज माटो माथि छौँ भोलि सबै माटो तल न हुने हो ! खद्दरको कुर्ता र सुरुवालमा सजिने त्यो यामान काया भेटिन्न अब कहीँकतै किन्तु उनले छोडेको समाजवादी नासो दिनै बाँकी छ राष्ट्रभरका निर्धनजनहरूलाई । प्रखर आलोचनात्मक चेत । धारिलो बौद्धिक क्षमता । विषयवस्तुप्रति विशद् गाम्भीर्य । कसैका चस्माअघि अराजक त कसैका लेन्ससामु विचारक । यस्तैयस्तै जटिल व्यक्तित्व थिए दिवङ्गत प्रदीप गिरी । कर्मको तुफान पैदा गर तिमीले कल्पना गरेको भाग्यको ढोका आफैँ खुल्छ भन्ने कुरामा विश्वस्त थिए उनी । एकातिर मार्क्सवादका धुरन्धर विद्वान अर्कातिर गान्धीवादका कट्टर अनुयायी । अझ आफूलाई कथित राजनेता ठान्नेका त विशिष्ट प्राध्यापक । पचहत्तर वर्षमा उनले जीवनसँग हारे जसले आफ्ना आदर्शपुरुष बीपीसँग समेत हारेका थिएनन् । युवावर्गप्रति पूर्ण भरोसा थियो उनको । ओरालो लाग्दै गरेका आदर्शका प्रतिमान,खजमजिँदै गरेको निष्ठाको राजनीति वर्तमानको क्रूर यथार्थ हो । नाफाखोर ठेकेदारीमा परिणत हुँदै गरेको सिङ्गो राजनीतिक क्षेत्र । कहालीलाग्दो बन्दै गरेको सामान्यजनको जनजीवन । विसङ्गतिका यी थाकहरूमाझ निष्ठाको सलेदो जलाइरहेका हुन्थे गिरी । तसर्थ स्वयम् प्रदीप्त थिए प्रदीप । दर्शनशास्त्रका मेधावी अध्येता । भौतिक सयलभन्दा बेसी ज्ञानको भोक । असमानता र विभेद रहेसम्म मार्क्स जीवित रहन्छन् भन्ने दृढ विश्वास । प्रस्तुतिमा धाराप्रवाह शैली । दृष्टान्तको भरपुर प्रयोग । जादुमय प्रवचन कला । जिन्दगीका यस्तै अनेकानेक आयाम थिए प्रदीप गिरीका ।

    *****

    जनयुद्ध चलिरहेको थियो उतिबेला जतिबेला शेरबहादुरहरू विद्रोही कमान्डरहरूको टाउकाको मोल तोक्दै थिए,लाखौँ, करोडौँ । ठीक त्यही बेला गिरीहरू भने यो विद्रोह आतङ्ककारी गतिविधि मात्र नभई राज्यविभेद विरुद्धको प्रतिरोध हो भनिरहेका थिए । यसलाई निभाउन सुरक्षाबलको दमनभन्दा बढी प्रभावकारी उनीहरूका जायज मागको समुचित सम्बोधन हुने जिकिर गरिरहेका थिए । यस्तो खराब चेतनास्तरले पार्टीलाई गाँजिरहेका बखत उनी भने असल समाज र संस्कारको परिकल्पना गरिरहेका थिए । उनी दिशाबोध गराउँथे, कङ्ग्रेस आत्मसात गर्दैनथ्यो । उनी सजग गराउँथे, कङ्ग्रेस सच्चिने लक्षण देखाउँदैनथ्यो । उनी समावेशिताबारे झकझकाइरहन्थे कङ्ग्रेसलाई, कङ्ग्रेस भने चिर निद्राको अभिनय गरिरहन्थ्यो । र, पनि आफ्नो दायित्वबाट किमार्थ विमुख भएनन् उनी । उतिबेला बीपी नेपाली कङ्ग्रेसका प्राधिकार थिए । उनको सामुन्ने आफ्ना मनका कुरा राख्नु फलामको चिउरा चपाएझैँ ठानिन्थ्यो । हो, उही बेला बीपीसँग आँखा जुधाएर आफ्ना विमति राख्ने हिम्मत बिरलैले गर्थे । तिनीहरूमध्ये अग्रपङ्क्तिमा रहेर विमति यदि कसैले जाहेर गर्थ्यो भने त्यो आँट प्रदीपले मात्र गर्थे । कहिले दक्षिणपन्थ त कहिले पश्चगमनले झन्डा उठाएको कङ्ग्रेसमा उनी टिकिराख्नुको कारण भने उनले अभिव्यक्त गर्ने विचारमा अङ्कुस नलाग्नु नै थियो । मार्क्सवादका व्याख्याता उनी दलाल पुँजीवादको समर्थक पार्टी । र, पनि उनले पार्टी भने छोडेनन् किनकि उनका भाष्यलाई पार्टीले पुँजीकृत नगरे पनि त्यसैको बहानामा उनलाई दुत्कारेन । एउटा कालखण्डमा त तत्कालीन नेपाली कङ्ग्रेस (प्रजातान्त्रिक)ले दमजम अर्थात् दलित,महिला,जनजाति र मधेसीलाई राजनीतिको अग्रभागमा राख्ने अभियान नै चलायो । किन्तु यो विजातीय चिन्तन हो भन्ने लागेर होला पछि यसलाई उसले शनैःशनैः अनदेखा गर्यो । त्यति गर्दा पनि पटक्कै हिम्मत हारेनन् उनले । जहाँ बलात्कार हुन्छ,त्यो राज्यको नाश अवश्य हुन्छ भन्ने प्रदीपलाई चुनौती दिएझैँ कङ्ग्रेसको शासनकालमा जनाधिकारका अनेकौँ पाटापक्षमा बलात्कार भए । उनले निर्मम ढङ्गले त्यस्ता कुकर्मको पार्टीमै बसेर प्रतिवाद गरिरहे तर्कले,दृष्टान्तले,दर्शनले र सद्विचारले ।

    *****

    भौतिक संरचनाको निर्माणमात्र समाजवादको पूर्वाधार नहुने निष्कर्षमा पुगेका उनी लालचविहीन भइरहे । हरेक मोर्चामा निर्भीक,निर्धक्क र बलशाली हुन्छन् सत्यको पथमा हिँड्ने मान्छे भन्ने सजीव दृष्टान्त पेस गरिरहे । समाजवादलाई व्यावहारिक अभ्यास आफैँबाट गर्ने खरो अभियन्ता पनि उनै हुन् । वेद पढेर भन्दा वेदना पढेर समाजोत्थान गर्न सकिन्छ भन्ने व्यवहारमै सिद्ध गरे उनले । जुन समाजमा चमार, मुसहर, डोम आदिलाई अछूतको कोटीमा राखेर तिरस्कार गरिन्थ्यो त्यही समाजको कुलीन वर्गको एक सदस्यले तिनलाई आश्रमको भान्छे र भित्रिया राख्ने जुन साहस देखाए उनले, त्यसले समतामूलक समाज स्थापनार्थ उनको दह्रो प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ । भएभरको जिमी,जेथा दीनहीनको कल्याणका निम्ति दान गर्न निकै फराकिलो छाती र उदारमना हृदय चाहिन्छ जो बिरलै मान्छेहरूमा हुन्छ । उनी नमुना बने त्यसका निम्ति ।त्यतिमात्र होइन, सत्तारोहण हुनासाथ रुघा लागेमा वा कपाल दुखेमा समेत विदेशी महङ्गा अस्पताल धाएर राज्यकोष दोहन गर्ने सनातनी नेपाली राजनीतिकर्मी र कथित राजनेतालाई चुनौती दिए उनले । राज्यकोषबाट एक कौडी नलिईकनै आफ्नो उपचार गरी विसङ्गत परम्परामाथि सत्कर्मद्वारा नै निर्मम प्रहार गरे उनले । जीवनकै एउटा अभिन्न अवयव मान्थे उनले मृत्युलाई । निरन्तर वैचारिक र दार्शनिक सङ्घर्षले स्पातिलो बनेका उनलाई पद र प्रतिष्ठाले भने कहिल्यै सम्मोहित गरेन । मन्त्री पाउनकै निम्ति मरिहत्ते गर्ने,पदप्रतिष्ठाका निम्ति रुवाबासी गर्ने, पार्टी फोड्ने वा परित्याग गर्ने,गुट निर्माण गर्ने , धाक,धम्की र रोवरवाफ प्रयोग गरी मूल नेतृत्वलाई छिर्केदाउ हान्ने कुसंस्कारबाट कोसौँ पर रहे । थाहा छैन, यी विकृतिका मूल कारक नैतिकहीन आम राजनीतिक नेतृत्वलाई इतिहासले कसरी मूल्याङ्कन गर्ला किन्तु प्रदीपलाई इतिहासले स्वर्ण अक्षरमा अभिलेखन गर्नेछ । र,युगौंयुग स्मृतिका पानामा सजाउने छ । उनीबाट भावी पुस्ताले लिने शिक्षा भनेकै इमान,लगन र नि:स्वार्थ कर्म हो । असल कामबाट मिलेको उनको स्व-पहिचान पनि नि:सन्देह अजर अमर हुनेछ । निष्ठाका प्रतिमान दिवङ्गत प्रदीपलाई हार्दिक श्रद्धासुमन !

    प्रकाशित मिति :भाद्र ७ २०७९ मंगलवार - १६:१६:०४ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij