२०८२ भाद्र ९ गते सोमवार
साउन महिनामा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तको तुलनामा साउनमा बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रूपैयाँबाट घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ । यस्तो निक्षेप संकलन घट्दा बैंकहरूले प्रवाह गरेको कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह साउन मसान्तमा ४१ अर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरुबाट निक्षेप कम हुँदा ठप्प भएको कर्जा प्रवाह साउन अन्तिम सातामा मात्रै २ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले आइतवार जारी गरेको एक तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार साउन मसान्तसम्ममा सबैभन्दा बढी निक्षेप नबिल बैंकमा छ । यो बैंकमा ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो निक्षेपबाट बैंकले ३ खर्ब ८ अर्ब कर्जा प्रवाह गर्दा निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बढी हुन पुगेको छ । राष्ट्र बैंकले साउनदेखि सीडी रेसियो ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने भनेको भए पनि यो बैंकको भने ९०.९२ पुगेको छ ।
यो अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्नेमा भने सिभिल बैंक रहेको छ । यसको साउन मसान्तसम्मको निक्षेप जम्मा ९३ अर्ब २५ करोड रुपैयाँ मात्रै छ । यो निक्षेपबाट ८६ अर्ब कर्जा प्रवाह गरेको बैंकको सीडी रेसियो भने तोकिएको सीमाभन्दा कम बनाउन सफल भएको छ ।
यो अवधिमा सीमाभन्दा माथि सीडी रेसियो पुर्याउनेमा भने सेञ्चुरी बैंक छ । यो बैंकले ९६ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९२ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गर्दा यसको सीडी रेसियो ९१.६३ प्रतिशत हुन पुगेको छ । यो सीमा केन्द्रीय बैंकले चालू आवदेखि व्यवस्था गरेको अधिकतम सीमाभन्दा माथि हो । ९० प्रतिशतभन्दा बढी सीडी रेसियो बनाउन नपाइने व्यवस्था राष्ट्र बैंकको छ । यो सीमा नाघ्ने बैंकको नियम, यसको गतिविधि नियाल्नेदेखि कारबाही गर्नेसम्मको अधिकार राष्ट्र बैंकसँग छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij