२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेकपा विभाजनले प्रदेश सरकारको समीकरण फेरबदल हुनसक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहकार्यको समझदारी जुटेको उच्च श्रोतको दाबी छ ।
बाग्मतीमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने र १ नम्बर प्रदेशमा शेरधनलाई निरन्तरता दिन ओली-देउवाबीच समझदारी जुटेको हो । तर,देउवालाई यसवारे, पार्टीबाट निर्णय गराउन सजिलो छैन । भर्खरै बिबाह बन्धनमा बाँधिएका राईलाई यो समझदारीले राहत पुगेको छ।
कांग्रेस उच्च स्रोतले दिएको जानकारीअनुसार ओली र देउवाबीच तत्काल प्रदेश १ र बाग्मती प्रदेशमा मिलेर सरकार बनाउने समझदारी जुटेको हो । यी दुवै प्रदेशमा नेकपाको प्रचण्ड-माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
प्रदेशसभाको समीकरण हेर्दा कांग्रेस जता उभियो नतिजा त्यसैको पक्षमा जाने अवस्था छ । स्रोतका अनुसार अविश्वासको प्रस्ताव असफल गराउन र संयुक्त सरकार बनाउन दुवै नेता सहमत भैसकेका थिए । तर,आजका निम्ति सारिएको केन्द्रीय समिति बैठक सभापतिको इच्छाअनुरुप अघि नबढ्ने स्थिति बन्दैछ ।
प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र कांग्रेसको आन्दोलनलाई लिएर नेता-कार्यकर्ताले सभापति देउवाको आलोचना गर्ने गरेका छन् । शुरुमा आन्दोलनमा जान नचाहेका देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलगायतको अडानका कारण सडकमा ओर्लन बाध्य भएका थिए।
‘कार्यकर्तालाई आन्दोलन गर्न सडकमा पठाएर देउवा सत्ता साझेदारीका लागि बालुवाटार पुग्नु भएको हो भने त्योभन्दा विडम्बना कांग्रेसका लागि के हुन्छ ?’, चिन्ता व्यक्त गर्दै स्रोतले भन्यो, ‘बरु यसले कांग्रेसको भागमा न सत्ता,न सडक हुने स्थिति बन्छ ।’
सभापति देउवामाथि कांग्रेसलाई कमजोर बनाएको पार्टीभित्रै आरोप छ । मुलुक अप्ठेरो अवस्थामा पुगेका बेलासमेत सत्ताको भागबण्डामा लागेको भन्दै बरिष्ठ नेता पौडेललगायतका नेताहरुले सार्वजनिक रुपमै देउवाको आलोचना गर्नुभएको छ ।
केही दिनअघि विराटनगर पुगेर पौडेलले ओलीलाई तह लगाउन यो देशमा एउटा बलियो प्रतिपक्षको आवश्यकता परेको छ भन्नुले पनि देउवा र ओलीबीच सहमति भएको संकेत गर्छ ।
त्यसैले त कांग्रेसका इमान्दार कार्यकर्तालाई चिन्ता छ, ‘सडक हाम्रो नहुने भो,सत्ता पनि हाम्रो नहुने भो। सरकारमा वामपन्थी,सडकमा वामपन्थी, प्रतिपक्ष पनि वामपन्थी, प्रदेशमा वामपन्थी, प्रतिपक्ष पनि वामपन्थी ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij