Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

'टेक मी टु लाइब्रेरी'

'टेक मी टु लाइब्रेरी'


  • 7.4K
    Shares

    'टेक मी टु लाइब्रेरी'
    images

    आर्नभ ९ वर्षको भयो । उ अमेरिकामा जन्मेको हो । उसका आमा बुबा उसकी २ वर्षकी दिदीलाई लिएर अमेरीका गएका थिए । उनीहरू गएको २ वर्ष पछि उ जन्मियो । जन्मजात अमेरीकन । घरमा दिदी र आमा बुबा भएपछि नेपाली संस्कार राम्रैसँग सिक्नु पर्ने हो । तर उ अरु भन्दा फरक नै देखिन थाल्यो । 

    दुई तीन वर्ष देखिनै एक्लो हुन मन पराउने । मोबाइल हातमा लिएर सोफा, दराजको छेल पारेर हेरेर बस्ने, बाथरुममा बसेर हेर्ने गर्थ्यो । अलीअली पढ्न सिकेपछि कार्टुनका किताबहरू पनि त्यसरी नै हेर्ने, पढ्ने बानी बस्यो । बाथरुममा लामो समयसम्म पुस्तक मै हराउने हुन थाल्यो । अरु जे भए पनि पुस्तक पढ्न औधी मन पराउने बानीले गर्दा बाबु आमा खुसी भए । 

    विद्यालय जान थालेपछि त उसको पढ्ने सोख अझै बढ्न थाल्यो । दिनमा एउटा पुस्तक त उसले पढ्नै पथ्र्यो । उसलाई पुस्तक किनेर ल्याइ दिन खर्चिलो हुँदै गएपछि पुस्तकालयबाट ल्याउने व्यवस्था हुन थाल्यो । उसको पढ्ने बानीले दिदी र आमा बुबामा पनि सकारात्मक असर पर्न थाल्यो । त्यसैले पुस्तकालय जाने केहि समय भए पनि त्यहाँ बिताउने र पुस्तक लिएर घरमा पढ्ने बानी बस्यो । 

    हाम्रो सोचाइमा पढ्ने भनेको रट्ने हो । सकेसम्म हुबहु पढ्न र लेख्न सक्ने भयो भने स्याबास भन्ने चलन अझै छ । संस्कृत पढ्ने गुरुहरूले पौराणीक युगमा शास्त्रहरू कण्ठस्थ गरेर शिष्यलाई पढाउने र शिष्यले पनि कण्ठस्थ पारेर पुनः अरुलाई बताउने संस्कार हामीमा अझै छ । तर पश्चिमाहरूमा त्यस्तो छैन । सुन्ने, पढ्ने र त्यसको सार निकालेर बुझ्न सिकाइन्छ । विद्यार्थीहरूले आफुले सोचेर केही नयाँ कुरा बुझ्दछ र लेख्दछ भने बल्ल उसको दिमागको विकास हुन्छ । 

    हामी हाम्रा बच्चा बच्चीलाई महँगो स्कुलमा पढाउँछौँ । तर होमवर्क गराउँदा अभिभाकले पुस्तकमा जे लेखेको छ, त्यही देखाएर सार्न लगाउँछौँ । अझ आफैले त्यही लेखी दिएर ल भयो पनि भन्छौँ । यसरी त केटाकेटीको विकास हुँदैन । त्यो बानीले गर्दा हामीकहाँ स्नातक, स्नातकोत्तरका विद्यार्थीहरूलाई पनि शिक्षकले नोट लेखाइ दिनु पर्ने हुन्छ । 

    केही वर्ष पहिले म अमेरीकाको भर्जीनियामा थिएँ । ५ वर्षको नातीलाई विद्यालय पु¥याउने क्रममा म पनि सँगै गएँ । गाडीबाट झरेर भित्र छिर्ने वित्तिकै एक जना वृद्धा स्वागत गर्न आइन् । उनी त्यहाँकी प्रिन्सीपल रहिछन् । उनको उमेर ९३ वर्ष रहेछ । उनले नातीलाई भनिन् ''Aarnav" 'we have a surprise for you. We are doing a project work  today.' नातीलाई सरप्राइज भयो की भएन तर मलाई भने ठूलो सरप्राइज भयो । हामी स्नातक, स्नाकोत्तर तिर पुगेपछि बल्ल प्रोजेक्ट प्रप्रोजल, प्रोजेक्ट वर्क प्रोजेक्ट रीपोर्ट भन्ने सुन्छौ, पढ्छौँ । याहाँ प्ले ग्रुपमा प्रोजेक्ट ?

    दिनभर रन्थनिएँ । नाती घर आउँदा धुलाम्मे भएर हातको औलामा ह्याण्डी प्लाष्ट लगाएर आयो । मैले सोधें बाबु आज प्रोजेक्ट केके गर्यौ ? नातीले भन्यो –जुत्ता, मोजा फुकाल्यौँ स्याण्डमा खेल्यौँ । गार्डेनबाट फूल टिप्यौँ । फूल काटेर स्वायलमा रोप्यौँ । ए त्यस्तो पनि प्रोजेक्ट हुँदो रहेछ । हामी त प्रोजेक्ट भनेको त ठूलो हुन्छ, धेरै रकम चाहिन्छ धेरै पढेका मान्छेले गर्ने हो भन्ने पो सोच्थ्यौँ । 

    उनीहरूको र हाम्रो सोचाइ नमिल्ने भएर नै होला आर्नभले ६ वर्षको उमेरमा एक पटक आफ्नो बाबासँग झगडा गर्दा भनेछ तिमी नेपालमा जन्मीएको मान्छेको वुद्धि हुँदैन । त्यस्तो कुरा को मार्फत कसरी सिक्यो ? वा उसले सोच्यो ? अचम्म मानेर केही दिमागमा सोचेर उत्तर दिएछ म नेपालमा होइन जापानमा जन्मेको हो । नातीले भनेछ ए ! त्यसैले तिमी अरु भन्दा केहि फरक छौ । तर केहि महिनापछि उसले थाहा पाएछ– बाबा जापानमा होइन नेपाल मै जन्मेको हो । एक दिन बाबालाई भनेछ “यु लायर नेपाली” त्यस पछि बाबालाई विश्वास गर्न छोडेछ । 

    सिधा हेर्दा लाग्छ खैरेका बच्चा बच्ची सोझा, कम बोल्ने, कम झगडा गर्ने, अझ भन्दा लाटा जस्ता । तर उनीहरूले रेडियो, टि.भी., पढाइ सबैतिरबाट ज्ञान गुनका कुरा पाइ रहेका हुन्छन् । हामी किताबको किरो भए मात्र राम्रो मान्छे भन्छौँ । तर बच्चा बच्चीले किताब रुचीले पढेको छकी देखाउन मात्र पढेको छ बुझ्दैनौँ । पढ्ने भनेको ज्ञानको लागि हो । जसरी जहाँबाट भए पनि ज्ञान पाए त भै हाल्यो नी । 

    आर्नभ अहिले नेपाल आएको एक महिना भयो । अरु बच्चाहरूले जस्तै उ पनि टी.भी. हेर्न खुव मन पराउँछ । उता मोबाइल हेर्न खासै दिइदो रहेनछ । यहाँका बच्चाहरूलाई जस्तो खान, बस्न, आची गर्न, निदाउन, रमाउन, मोबाइल नै चाहिने बानी त्याहाँ परेको रहेनछ । टी.भी. नहर्ने हो भने नयाँ नयाँ पुस्तक चाहिने रहेछ । त्यस्तो राम्रो बानी यहाँका केटाकेटीमा खासै पाइन्न अझ भनौं हामीले बच्चालाई यस्तो संस्कार दिन/सिकाउन सकेको छैनौं ।

    एकदिन परिवारका सबै सदस्यहरू चन्द्रागिरी जाने कार्यक्रम बन्यो । तर आर्नभ जान मानेन । उसलाई अली विसन्चो पनि भएको थियो । त्यसैले टी.भी. धेरै नहेर्न भनियो । उसले सोध्यो के गर्ने त ? कुरा गर ‘नो’ । आराम गर ‘नो’ । सुत ‘नो’ । आइ नीड न्यू बुक्स् । मैले ३ वटा किताब दिएँ । 

    1. Diary of wimpy kids –Double Down
    2. J.K. Rowling – Harry potter & philosopher's stone
    3. Classic Starts –Black Beauty

    उसले भन्यो मैले यी किताबहरू पढी सकेको छु । दोहो¥याएर पढ्न अझ आनन्द आउँछ मैले भने । १० पटक पढिसकेको छु । उसले दोहोर्यायो । म साइकलको ट्युवमा प्वाल परेझैं फ्यास भएँ । 

    उसले बाबा तिर फर्केर भन्यो "Take me to Library'' म हर्षित भएँ । तर कहाँ छ त उसले खोजे जस्तो Library ? ७०/८० को दशकमा न्यूरोडमा अमेरीकन लाइब्रेरी, कान्तीपथमा ब्रीटीस लाइब्रेरी गइन्थ्यो । अहिले कहाँ छन् थाहै छैन । स्नातकोत्तर गरी सकेपछि किन पढ्न पर्यो ? किन चाहियो पुस्तकालय, हाम्रो सोचाइमा । छोराले पत्ता लगायो अमेरिकन कर्नर भन्ने पुस्तकालय टेकुमा रहेछ । उनीहरू त्यतै लागे । घर फर्कदा आर्नभको हातमा २ वटा पुस्तक थिए । 

    1. Lincoln peirce-I smell a pop quiz.
    2. Ziff Kinney - The wimpy kid movie diary.

    पाँच सय रुपैयाँ तिरेर सदस्य बन्न पाइने रहेछ । उ खुसी भएर ती पुस्तकहरू पढ्न थाल्यो । भोली पल्ट बेलुकीसम्ममा पढेर सकेछ । फेरी भन्न थाल्यो ।  I need books. उनीहरूकोमा पुस्तकालयबाट एक पटकमा एक महिनाको लागि ५० वटासम्म पुस्तक घर लान दिइने रहेछ । त्यति भएपछि २/३ जनालाई एक महिनाको लागि खुराक पुग्ने भयो । परिवारमा एउटा नाती त जन्मीएछ पढन्ते । खुशी छु । तर त्यो खुशी कति दिन बचाउन सकूँला र ? किनकी उसँग त अमेरिकन आइ. डी. छ !

    प्रकाशित मिति :श्रावण १८ २०७९ बुधवार - ०८:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij