Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बाढी सडकमा पसेपछि

बाढी सडकमा पसेपछि


  • 1.9K
    Shares

    बाढी सडकमा पसेपछि
    images

    बाँकेको खजुरास्थित पेडारी खोलाको बाढी सडकमा पसेपछि आवागमनमा कठिनाइ भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षका कारण पेडारी खोलामा पानीको सतह पुल बाहिर सडकबाट बगेका कारण नेपालगञ्ज–गुलरिया सडकमा सवारी आवागमनमा कठिनाइ भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सवारी आवागमनमा सहजता ल्याउन सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक उद्धार सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ ।

    खजुरा बजार क्षेत्रमै रहेको पेडारी खोलाको निकास साँघुरो भएका कारण ठूलो वर्षा हुनासाथ पानी सडकबाट बग्ने गरेको छ । 

    बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ ।

    नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बगेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गरेको छ । 

    खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट खोला बग्ने गरेको छ । 


    डुबान क्षेत्रमा अवलोकन गरी तत्काल गर्न सकिने काम, उद्धारतर्फ सम्पूर्ण गाउँपालिकाको टोली लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो । वैकल्पिक व्यवस्था नभएका कारण नेपालगञ्ज–गुलरिया सडकको पेडारी खोलामा बाढीले लामो समयसम्म सवारीसाधन अवरुद्ध हुने गरेका छन् ।

    अहिले खजुरामा सडक विस्तारको काम चलिरहेको छ । चारलेन सडक विस्तार गर्ने क्रममा पुल पनि विस्तार गरिने छ । नयाँ चार लेनको पुल नबन्दासम्म समस्या रहिरहने प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १३:५६:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij