२०८२ भाद्र २ गते सोमवार
भनिन्छ– जिन्दगीमा यी तीन कुरामा ध्यान राख्नू रे !
१. महान लक्ष,
२. कडा मिहिनेत र
३. दृढता ।
यी मननयोग्य विषयमा निकै गौर गरी ध्यान राखेको हुनुपर्छ उनले । र, त यो कदमा उभिन सफल भएका छन् उनी ।
सन् १९६४ मा कर्णेल जिमी रबर्ट्सले माउन्टेन ट्राभल दर्ता गर्दाताक नेपालीहरूमा पर्यटन व्यवसायको चेत पलाएको थिएन । पर्वतीय पर्यटनमा लाग्छु भन्ने प्रारम्भिक लक्ष्य नै थिएनन् आजका बिग हाउस भनेर कहलाइएका धेरै जसोमा । धादिङका धेरै जसो ट्रेकिङ व्यवसायीहरू हरि रिमालका ‘प्रडक्ट’ हुन् भने यती ट्राभलका ‘प्रडक्ट’ हुन्– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का पूर्व अध्यक्ष याङ्किला शेर्पा, जेबी सिं र आरपी पन्त । न्यूरोडस्थित मकालु होटलमा लेखापालको काम गरेका स्व. अमरमान शाक्यले होटल एसोसिएसन अफ नेपाल(हान)लाई नेतृत्व दिए । क्याम्पिङ र एक्पिडिसनको भारी खेपेर पदयात्रा व्यवसायमा लागेका स्व. पेम्बा शेर्पा पनि टानलाई हाँके । युवावयदेखि नै उनै कर्णेल जिमी रबर्टससँग काम गरेका आङछिरिङ शेर्पा नेपाल माउन्टेनियरिङ एसोसिएसनको अध्यक्ष बने । एउटा संयोग मात्र थियो, उनीहरूको यो क्षेत्रमा भएको प्रवेश । बिस्तारै यसमा रस बस्दै गएपछि यसैलाई व्यवसायका रूपमा अपनाए । सायद सबैले माथि उल्लेखित सुत्र नै अपनाएको हुनुपर्छ भन्ने लाग्छ मलाई ।
त्यसो त पर्यटन क्षेत्रमा प्रवेश गर्ने लक्ष्य नै कहाँ थियो र उनको पनि ! उनले त भविष्यमा शिक्षण पेसालाई नै जीवन्तता दिने सपना साँचेका थिए । मान्छेले सोचेको हुन्छ एउटा तर भइदिन्छ अर्कै । त्यस्तै भयो उनको जीवनमा पनि । परिस्थितिले मान्छेलाई कहाँकहाँ पुर्याउँछ भनेको यही हो । तर महत्वपूर्ण कुरा चाहिँ जुन क्षेत्रमा लागे पनि आफूलाई सबल एवम् सफल भएको सिद्ध गर्न सक्नु नै हो ।
भीडले हिँडेको सजिलो बाटो हिँडेनन् उनी उति बेला । सोचे किञ्चित पृथक । लागे पर्यटनतर्फ । पर्यटनमा लागेर उनी सफल भए र, त अनुकरणीय बनेका छन् यतिखेर । यथार्थमा जीवन भनेकै सारमा यही होला भन्ठान्छु म ।
उनी यो समाजको एक बोधगम्य प्राणी । राष्ट्रको सचेत एवम् स्वाभिमानी नागरिक । गतिशील पर्यटन इलमी । देशको एउटा असल करदाता । यस्तैयस्तै अनेक पहिचान बनाएका छन् उनले । राजनीतिक मात्र होइन ऐतिहासिक, धार्मिक, पौराणिक र शास्त्रीय बोध पनि छ उनमा ।
उनी वि. सं. २०२४ सालमा कास्कीको कन्दरामा जन्मे । प्रकृतिको काखमा जन्मने सैभाग्य पाएका उनले धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता अग्ला हिमाल देख्न पाए । सेतीको सङ्गीत सुन्न पाए । खुट्टा लागेदेखि हरिया डाँडाकाँडा चहार्न पाए । बालवयमै पोखरा, नौ डाँडा र सारङ्कोट हिँडिभ्याएका थिए उनले ।
पञ्चायतकालीन समय थियो । विद्यालयहरू आस्तेआस्ते खुल्दै थिए । मध्यमवर्गीय परिवारमा जन्मेका भाग्यशालीहरूले जसोतसो विद्यालय टेक्ने सुअवसर पाउँथे । त्यहीमध्येको एउटा भाग्यमानी हुन् उनी । बालापनमा कास्कीको दूरदराजको एउटा प्राथमिक विद्यालयमा उनले ‘कखरा’ गरे । पढाइमा अब्बल नभएपनि दुर्बल थिएनन् । मिलनसार थिए । अनुशासन उनको पर्याय थियो । नबुझेका कुरा सोध्न शङ्कोच मान्थेनन् । चित्त नबुझेका कुराहरूलाई प्रस्टसँग राख्ने बानी उनको नानीदेखिकै हो ।
२०४१ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । मूल विषय अङ्गे्रजी र गणित लिएर उनी पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भर्ना भए । २०४४ सालमा सीएड उत्तीर्ण गरे । सीएड पढ्दा पढ्दैको अवस्थामा निमावि स्तरको प्रयोगात्मक शिक्षणको तालिम पनि गरिसकेको थिए ।
उनका काकाको छोरा लेखनाथ उमेरले भाइ भए पनि साथी जस्तै थिए । लेखनाथसँगै बसाउठी हुन्थ्यो उनको । सँगै खाने । सँग खेल्ने । सँगै सुत्ने । सँग स्कुल जाने । सूयोदयदेखि सुर्यास्तसम्म सँगै । सँगसँगै प्रवेशिका परीक्षा उत्रीर्ण गरेको भए पनि सीएडमा एक पेपरमा अनुत्तीर्ण भएछन् लेखनाथ । ब्याक पेपर दिन वर्षदिन कुर्नुको विकल्प थिएन उनीसँग । यसै पनि नतिजा प्रकाशित हुनुअगाबै उनी लागिसकेका थिए मास्टरी गर्न । उति बेला शिक्षकको कमी हुन्थ्यो । सजिलै शिक्षकको नियुक्ति पाएका थिए उनले। म्याग्दीको स्वातःको एउटा निमाविमा प्रावि स्तर शिक्षकको रूपमा कार्यरत थिए ।
आत्मीय भाइ लेखनाथ अनुत्तीर्ण भएकोमा दुखी थिए उनी । बाल्यकालदेखि एक जिउज्यान गरेर हिँडेका भाइ उतै रहने भएपछि उनी अलमलमा परे । अल्लारे न परे ! भाइलाई पर्खनकै लागि उनी त्यो साल कलेज भर्ना भएनन् । त्यसो त चित्तमा निर्मलता, दानशीलता, सुख–दुःखमा सहनशीलता, सरलता र सत्यता जस्ता गुणहरू अद्यापि भरपुर छन् उनमा । भाइका लागि एक वर्ष सजिलै तिलाञ्जली दिएका थिए उनले ।
भाइ लेखनाथले आफू कार्यरत विद्यालयमा निमावि शिक्षकको खालि भएको खबर ल्याएपछि लेखनाथसँगै स्वातः गए उनी । स्कुलबाट तुरुन्तै शिक्षकको नियुक्ति पत्र पाइहाले । युवावयमै आफ्नै खुट्टामा उभिन चाहन्थे उनी । सोचेकै जस्तो काम पाए उनले ।लक्ष्यअनुसारको काम पाउँदा खुसी थिए उनी । परिवर्तन भयो उनको जीवनको आयाममा । कलम चलाइरहेका उनका हातले हठात् चक र डस्टर समाउनु पर्ने भयो । कक्षा कोठाको बेन्चमा बस्ने उनको दैनिकी ‘ब्ल्याकबोेर्ड’ अगाडि उभिनु पर्नेमा रूपान्तरित भयो । उनले गणित र अङ्ग्रजी विषय पढाए । विद्यार्थीलाई असल, खराब र कमसलको परख गर्न सक्ने विवेक दिए । उनीहरूको व्यवहारलाई अनुकरणीय र आदर्शवान बनाउन प्रोत्साहित गरे । नैतिकताको पाठ घोकाए । शिष्यका आँखामा बिझाउने कर्मबाट टाढै रहे । एउटा आदर्श शिक्षकको भुमिका निर्वाहमा कुनै कसर बाँकी राखेनन् ।
म्याग्दीमा बसुन्जेल पढाएनन् मात्र, आफैँले पनि अथाह सकारात्मक शिक्षा आर्जन गरे । उनले त्यही बेला देखेका हुन् म्याग्दीको भूगोल । त्यही बेला भेटेका हुन् म्याग्दीका निश्छल मनहरू । उनीहरूको रीतिपरम्परा देखे । दुर्गमता छामे । दुःख र सुखलाई सहेली बनाए । पसिनाको मूल्य बुझे । त्यही बेला बुझेका हुन् उनले जीवनमा जित्नका निम्ति कसैको साथभन्दा बेसी आफँैमा साहस हुनुपर्छ ।
चौध महिनापछि स्नातक तह अध्ययन गर्न पुनः पोखरा फर्के । पीएन कलेज नजिकै डेराको बन्दोबस्त गरे । लेखनाथ अनुत्तीर्ण विषयमा उत्तीर्ण भएपछि मात्र उच्च शिक्षाका लागि दुवैजना पीएन कलेज भर्ना भए । दुवैले सँगै स्नातक उपाधि हासिल गरे ।
स्वातःमा शिक्षक हुँदा बचाएको दामले एउटा साइकल किने उनले । लाउँलाउँ, खाउँखाउँ र रमाइलो गर्ने उमेर हो– युवावय । अहिले त उनको सवारी कार वा बाइकमा चल्छ । तर आफ्नै मिहिनेतको पहिलो कमाइले किनेको साइकल चढेर पोखराका सडक–सडकमा चक्कर लगाउँदाको क्षणलाई आफ्नो जीवनको स्वर्णिम क्षण मान्छन् उनी । सूर्य जस्तै उज्जर बन्ने लालसामा उनले सूर्य जस्तै जल्न पनि सिके त्यही कालखण्डमा ।
त्यसो त आफ्नो भविष्यप्रति कम सचेत थिएनन् उनी । पढाइमा सफल हुनु एक मात्र लक्ष्य थियो । कमाइ गर्ने कुनै इलम थिएन उतिखेर । पोखरा जस्तो महङ्गो ठाउँमा टिक्नु त्यति सजिलो कहाँ नै हुन्थ्यो र ! जेब रित्तो नराख्ने जोहो त गर्नै परिगो । म्याग्दीमा बस्दा तातोपानीबाट उँभो लागेका र घोडेपानीबाट ओरालो झर्दै गरेका विदेशी पदयात्रीहरू बारम्बार देखेथे उनले । उनीहरूका साथमा नेपालीहरू(पथप्रदर्शक र सहयोगीहरू) अघिपछि लागेको पनि गोचर हुन्थ्यो । उनले सोचे– ‘पैसा पनि कमाइने, शारीरिक अभ्यास पनि हुने । एक पटक टे«किङ गरेर फर्कंदा केही समयका लागि खर्च उठ्छ भने किन नगर्ने !’ पाएसम्म पथप्रदर्शकको काम नै किन नगर्ने ? भन्ने भूत सवार भयो उनमा ।
क्याम्पस पढ्दै गर्दा उनको सहोदर दाजु डिल्लीरामसँगै पोखराको लेकसाइडमा डेरा सरेका थिए । डिल्लीरामको एउटा सानो डिपार्टमेन्टल स्टोर पनि थियो । फुर्सदको समयमा उनले दाजुको स्टोरमा सघाउ पुर्याउने गर्थे ।
उति बेला पोखराको होटल मुनाल अगाडि एउटा रिजर्भेसन काउन्टर थियो । पदयात्रा गर्ने विदशी पर्यटकहरू त्यस काउन्टरमा आएर बुक गर्थे । अङ्गे्रजी बोल्न सक्ने भएकाले एक दिन गाइड–कम्–पोर्टरका रूपमा दुई जना स्वीस पर्यटकसँग मुक्तनाथको पदयात्रा गराउने अवसर गए । फर्कंदै गर्दा जोमसोमबाट अर्को दुई जना पर्यटक पनि थपिए । ‘दुवै हातमा लड्डु’ भन्ने उखान चरितार्थ भयो । दुवै समूहबाट ज्यालाबापत् उनले एक सय पचास डलर कमाए । ‘टी हाउस ट्रेक’ गर्दा होटलवालाले नेपाली स्टाफसँग खाना र आवासबापत् पैसा लिँदैनथे । उनले जति कमाए, उति नै जोगाए । कलेज पढुन्जेल ट्रेकिङ जाँदा जाँदै यसैमा पो रस बस्न थाल्यो उनलाई । फलतः प्राध्यापन लक्ष्यबाट उनी टाढिन पुगे । यो नै ‘टर्निङ प्वइन्ट’ बन्न पुग्यो उनको जीवनमा ।
उमेर, विचार र व्यवहारले उनमा परिपक्वता थपिँदै गयो । बोध भयो– खडा भएर पानी हेर्दैमा नदी तर्न सकिन्न । गतिशील एवम् उन्नतिशील स्वभावका उनी आफ्नो लक्ष्यतर्फ अगाडि बढ्दै गए । यसै सिलसिलामा कृष्ण बास्तोलाको सहयोगमा पोखराको लेकसाइडमा फेवा रिजर्भेसन कन्सर्न नामक रिजर्भेसन अफिस खोले । त्यसपछि उनले गाइडहरूलाई रोजगारी दिन थाले । त्यहीँबाट उनले टेलिफोन, बस तथा हवाइ टिकट र दृश्यावलोकन लगायतका सेवाहरू बेच्ने गर्थे ।
व्यवसाय अपेक्षाकृत नै चल्दै गयो । व्यवसायको विस्तार गर्ने क्रममा अघि बढ्दै जाँदा २०५० सालमा साझेदारीमा पोखरामै भण्डारी टुर्स एन्ड ट्राभल्स नामको एजेन्सीको दर्ता गरी काठमाण्डौँ–पोखरा टुरिस्ट बस सेवा सञ्चालनमा ल्याए । पहिलो केही वर्ष त राम्रै चल्यो । किन्तु कम्पनी नयाँ भएकोले सोचेझैँ गति लिन भने नसकिरहेको अवस्था थियो । विडम्बना नै भन्नुपर्छ– त्यति बेलासम्म सिङ्गो मुलुक नै माओवादी द्वन्द्वको चपेटामा परिसकेको थियो । सबैको व्यवसाय निकै खस्किसकेकोले भण्डारी ट्राभल्सले बजारमा भएका छरिएको बक्यौता उठाउन सकेन । कतिपय पर्यटन व्यवसायी त विदेश पलायन भइसकेका थिए । समयको आरोह–अवरोह सँगसँगै मान्छेको जीवनमा आउने उतारचढाव स्वाभाविक हुन् । समयको हुन्डरीले हुत्याएर उनलाई समेत सन् २००५ मा नर्वे पुर्यायो । यसरी उनले विदेश पनि बुझ्ने मौका पाए । कालो बादलभित्र चाँदीको घेरा सिद्ध भयो उनको सो कदम ।
स्नातक उपाधि हासिल गरेका उनी, त्यो पनि लर्तरो नभई अङ्ग्रेजी मूल विषयमा । भाषामा राम्रो पकड भएको मान्छे विदेशमा बसिरहन मनले किन मान्थ्यो र ! दुई वर्षपछि नयाँ जोस, जाँगर, उत्साह र उमङ्का साथ उनी सन् २००७ मा स्वदेश फर्के र ट्राभल्सलाई पुनर्जीवन दिए ।
जति कठिन सङ्घर्ष हुन्छ, उति नै सानदार विजय पनि । सन २००९ मा उनले ट्रेकिङ कम्पनी खोले । त्यसपछिका दिनमा उनले जादुकै छडी चलाए । आफैँमा पनि अग्रगामी चिन्तनका धनी उनी । व्यवसायमा पनि अग्रगामी छलाङ मारे । उनले आफूलाई फगत् सफल व्यवसायी मात्र सिद्ध गरेनन्, नेपालको पर्वतीय पर्यटनमा उनी एउटा ‘पायोनियर’ अर्थात् अग्रदूत बन्न पुगेका छन् ।
व्यवसायसँगसँगै स्वाभाविक रूपमा व्यावसायिक संघ–संस्थाहरूमा उनको संलग्नता रहन थाल्यो । उनले पोखरा छँदा नै पोखरा नाट्टाको नेतृत्व सम्हाली सकेका थिए । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स– नेपाल(सोट्टो)को संस्थापक महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका उनले गाउँ पर्यटन प्रवद्र्घन मञ्च–नेपाललाई सशक्त नेतृत्व प्रदान गरे । शनैशनै उद्योगमा उनी प्रखर वक्ता बन्दै गए । आम व्यवसायीहरूको व्यावसायिक हक र अधिकारका सवालमा सशक्त आवाज बुलन्द गर्न सक्ने भए । फलतः व्यवसायप्रतिको उनको चिन्तन, धारणा र अभिव्यक्ति शैलीले समग्र पर्यटन उद्योगमा नै उनी चिरपरिचित बनेका छन् ।
अरुलाई सुनाउन आवाज उच्च बनाउन जरुरी छैन । ‘जब व्यक्तित्व निखारिन्छ र उच्चतम नवीनताले ओतप्रोत हुन्छ, तपाईंलाई सुन्न मानिसहरू परिश्रम गर्ने छन् भन्ने सार्थक कथन आकर्षित भएको भान हुन्छ उनको हकमा । उनी समसामयिक विषयवस्तुका सवालमा तर्कसहित स्पष्टरूपमा प्रस्तुत गर्न सक्छन् । पर्यटनका मुद्दा र मार्गचित्रहरूलाई सटीक ढङ्गले उठान गर्न सक्ने ल्याकत राख्छन् । लगनशील र सक्षम छन् । त्यसैले पनि उनी व्यावसायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने हैसियत राख्छन् ।
पर्यटन व्यवसायसित सम्बन्धित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) र नेपाल माउन्टेनियरिङ एसोसिएसन(एनएमए) जस्ता पर्यटनका छाता सङ्गठनहरूले उनको सुझबुझ, दक्षता र कार्यकुशलताको अनुभूति गर्न पाएका छैनन् । छाता सङ्गठनहरूमा नेतृत्वका लागि हुने विद्यमान अस्वस्थ प्रतिस्पर्धालाई अत्यन्तै अस्वाभाविक मान्छन् उनी । भन्छन्– ‘पदका लागि पर्यटनमा हुने अस्वस्थ र अनुत्पादक होड केवल विकृति मात्र हो ।’ नीतिगत र व्यावसायिक चिन्तनमा हुने स्पर्धालाई भने सहर्ष स्विकार्छन् उनी । व्यावसायिक संस्थाका सन्दर्भ र व्यवसायीहरूका बीचमा हुनुपर्ने प्रतिस्पर्धा भनेकै यही हो । तर विडम्बना ‘एक्लो बृहस्पति झुटो’ भन्ने लोकोक्ति सावित हुन पुगेको छ उनको सवालमा ।
पर्यटनका हितैषी हुन् उनी, जो ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नाराप्रति प्रभावित छन् । उनी अर्थात् पर्यटनका एक सशक्त हस्ताक्षर– बोधराज भण्डारी ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij