Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

हाँसपालनबाट मनग्य आम्दानी

हाँसपालनबाट मनग्य आम्दानी


  • 1.9K
    Shares

    हाँसपालनबाट मनग्य आम्दानी
    images

     पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका हुन्   । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका छन्  । 

    भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आउनुभएका शङ्कर महतोले हप्तामा ५०० वटा हाँसका चल्ला बिक्री गर्दै आउनुभएको छ । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आउनुभएको छ ।

     उहाँले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताउनुभयो । 
    “मैले पहिले बुङ्गुरपालन गरेँ, माछापालन गरेँ, च्याउ खेती गरेँ । तर, विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु” महतोले भन्नुभयो, “हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नुपरेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।” महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आउनुभएको छ । 

    उहाँले प्रतिचल्ला रु १८० सम्म बिक्री गर्दै आएको बताउनुभयो । त्यस्तै, हाँसको अण्डा रु ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको रु ३५० मा बिक्री गर्ने गरेको महतोले बताउनुभयो । “हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्”, महतोले भन्नुभयो, “पछिल्लो समय रेष्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् ।” 

    सानो क्षेत्रफलमा पनि राम्रोसँग हाँसपालन फस्टाएको र धेरै दुःख नगरी राम्रो आम्दानी लिन सकिने भएकाले हाँसपालनमा लागेको उहाँको भनाइ छ ।

     महतोले भन्नुभयो, “दाना हुँदा दाना दिने, होइन भने घाँसबारीमा छोडिदिएमा पनि हाँस अघाउने गरेको छ ।” माछा पोखरी र धानबारीमा हाँसपालन गर्दा दोहोरो फाइदा लिन सकिन्छ । 

    “धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरु खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान गर्दैन”, महतोले भन्नुभयो । त्यस्तै माछा पोखरीमा हाँसपालन गर्दा पोखरीमा भएका अनावश्यक घोँगी, सिपी तथा सर्पहरु हाँसले खाइदिन्छ जसले गर्दा माछा सप्रिन पाउँछ । पोखरीमा हाँस पालन गर्दा हाँसले पोखरीमा पौडी खेल्दा र घोँगी टिप्न जाँदा पानीमा अक्सिजनको मात्रा समेत बढेर माछालाई फाइदा पुग्ने बताइन्छ । 

    प्रकाशित मिति :आषाढ १४ २०७९ मंगलवार - १४:३५:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij