२०८२ भाद्र ५ गते बिहिवार
सर्वोच्च अदालतले समयमा वकालतनामा पेश नगरेका वकिललाई फर्काइदिएको छ।
बहसका लागि इजलासमा पुगे पनि रिट निवेदक ज्ञानेन्द्र आरणको तर्फबाट बहसमा पुगेका वसन्त रिमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नमिल्ने भन्दै फर्काइदिएका हुन्। सर्वोच्चले माघ ४ गतेसम्म वकालतनामा लिए पनि रिमालले ५ गते मात्रै नाम टिपाएको पाइएको हो।
बेन्चमा बहसका लागि उभिएका रिमाललाई प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंले ५ गते नाम टिपाउनुभएको हो भने मिल्दैन, हामीले ४ गतेसम्म मात्रै वकालतनामा लिएका हौँ, तपाईं जानुुहोस्।’
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सकिएको छ । यो मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्यौपाने, ओमप्रकाश अर्यालले बहस गरे । रिट निवेदक २५ वर्षीय समृत खरेलले पनि १५ मिनेट बहस गरे ।
बुधबारको बहसमा कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे र झलकुमारी विश्वकर्मा थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij