Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मलेसिया जान श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र

मलेसिया जान श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र


  • 9.4K
    Shares

    मलेसिया जान श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र

    काठमाडौँ । नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

    मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

    मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन । मलेसियाका मानव संसाधन मन्त्री एम शरभनानका अनुसार रोजगारदाताले श्रमिकको माग गर्दा १४ दिनभन्दा कम समयको हुन नहुने गरी विज्ञापन गर्नुपर्छ । त्यसमा आवेदकलाई रोजगारदाता तथा सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) का प्रतिनिधिले अन्तर्वार्ता लिने व्यवस्था मिलाइएको छ ।

    मन्त्री शरभनानद्वारा जारी विज्ञप्तिअनुसार विज्ञापन गर्दा पद, तलब, शैक्षिक योग्यता वा आवश्यक दक्षता तथा योग्यता खुलाएर ‘माइफ्युरजब्स’ मा प्रकाशित गर्नुपर्नेछ । रोजगारदाताले भने निश्चित प्रक्रिया पूरा गरी विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा दर्ता गर्नुपर्छ ।

    राजदूत पाण्डेले यो नीतिले मलेसियाली श्रमिक नपाए मात्रै विदेशीले रोजगारी पाउने बताए । मलेसियाले बिदामा गएका नेपाली श्रमिक आउन पनि कडाइ गरेको छ । रोजगारदाताले अति आवश्यक पर्ने भन्दै आवेदन दिएपछि मात्रै अध्यागमनले अनुमति दिने उनले बताए । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतीक्षारत रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १३:४२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij