२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयबाट यसअघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट चालु आवका लागि आवेदन माग गरेको हो ।
मन्त्रालयमा बसेको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको छ । राष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आवेदन आएको थियो ।
यसअघि गत वर्ष आवेदनबाट प्राप्त ३ हजार १ सय ४७ वटा निवेदन खारेज गरिएको छ । निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपालल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ प्रक्रियाबाट आवेदन माग गर्ने निर्णय भएअनुसार शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेको हो ।
यसअघि आएको सबै निवेदन खारेज भएको केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले जानकारी दिए । चालु आवको बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५ अर्ब १० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।
अघिल्लो वर्ष स्थानीय तहमार्फत ३ सय ४५ आवेदन प्राप्त भएको थियो । त्यसबाहेक केन्द्रको इमेल, हुलाक र अन्य माध्यमबाट करिब २ हजार बढी आवेदन परेको थियो ।
केन्द्रका महानिर्देशक अर्यालले १५ दिनभित्र निवेदन आइपुग्नेगरी सूचना सार्वजनिक गरेको जानकारी गराए । सूचनामा सबै कागजात यही २० माघभित्र तयार गर्ने उल्लेख गरिएको छ ।
यसअघि केन्द्रले गएको फागुनमा सूचना जारी गरेको एक महिनामा झण्डै ३ हजार बढी आवेदन परेको थियो । गत वर्ष करिब १० अर्ब ४४ करोड रुपैयाँको योजना माग गरेको थियो ।
केन्द्रले भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धिस्तर अभिवृद्धी, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन र सिकाइ सामग्री व्यवस्थापन र प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धीलाई प्रस्तावको आधार तय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij