२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइको तेस्रो दिन मंगलवारको सुनुवाइ पनि सकिएको छ । अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव, हर्कबहादुर रावल, शेरबहादुर ढुंगाना, डा. रुद्र शर्मा, चन्द्रकान्त ज्ञवाली लगायतले बहस गरेका थिए । अधिवक्ता शेरबहादुर ढुंगानाले ठूलो स्वरमा आफ्नो बयान गर्दै इतिहास सुनाउन थालेको भन्दै प्रधानन्यायाधीश राणा जंगिए । ढुंगानालाई रोक्दै राणाले भने, "तपाईं आफ्नो इतिहास नबताउनोस् । बिस्तारै बोल्नोस्, तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् ।"
बहसकै क्रममा अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताए । उनले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही जान नसक्ने तर्क गरे ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले बहुमतको सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार संविधानले नदिएको जिकिर गरे ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij