Logo

२०७९ आषाढ १५ गते बुधवार

images

निर्वाचन प्रणाली : बहुमत माथि अल्पमतको शासन ?

निर्वाचन प्रणाली : बहुमत माथि अल्पमतको शासन ?

मनोबिज्ञान शर्मा

१० जेठ २०७९
  • 1.8K
    SHARES
  • images
    निर्वाचन प्रणाली : बहुमत माथि अल्पमतको शासन ?
    images

    स्थानीय निवार्चनको नतिजा लगभग आईसकेको छ । नतिजा आएको मध्य एक नम्बर प्रदेशको कन्काई नगरपालिकाको मत परिणामलाई उदाहरणको रुपमा अध्ययन गरौं । कन्काई नगरपालिकामा सूर्य चिन्हका उम्मेदवार, ८ हजार ६ सय ७३ मत सहित मेयरमा निर्वाचित बने भने उनको विपक्षमा अन्य पार्टीका उम्मेदवारले कुल  १४ हजार ५ सय ५७ मत प्राप्त गरे । अर्थात् उक्त नगरपालिकामा कुल खसेको मतलाई अध्ययन गर्दा सूर्य चिन्हका उम्मेदवारलाई मेयर बनाउने भन्दा नबनाउने मत बढी हुन आउँछ । तथापि वैधानिक तरिकाबाट नै एमालेका उम्मेदवारले त्यस नगरपालिकामा मेयरको पदभार ग्रहण गरिसकेका छन् ।  अल्पमत प्राप्त गरेता पनि पाँच वर्षको लागि बहुमतलाई शासन गर्ने अधिकार उनलाई हाम्रो निर्वाचन प्रणालीले दिएको हो । हाम्रो लोकतन्त्र त बहुमतले अल्पमतलाई शासन गर्ने प्रणाली होईन र ? बहुमतले अस्वीकार गर्दा गर्दै पनि कोहि कसरी निर्वाचित हुन सक्छ ?

    पक्कै बढी प्रतिशतले अस्वीकार गर्दागर्दै उसैले शासन गर्ने कुरा लोकतन्त्रको मर्म विपरीतको कुरा हो । तर माथि उल्लेखित उदाहरण कन्काई नगरपालिकाको मात्र परिणाम नभएर हाम्रो धेरैजसो नगरपालिका र गाउँपालिकाको नियति बन्न पुगेको छ । हाम्रो निर्वाचन प्रणाली आखिर किन अल्पमतलाई बहुमत विरुद्ध चुनिरहेछ ?

    आउनुस् प्रश्न यतै छोड्दै पहिले निवार्चनलाई सजिलो गरि व्याख्या गरौं । आफ्नो प्रतिनिधि चुन्ने प्रक्रिया नै निवार्चन हो । लोकतान्त्रिक प्रणालीलाई स्वरुप प्रदान गर्नका लागि प्रतिनिधित्व प्रणालीको आवश्यकता पर्दछ । जनताको प्रतिनिधिको रुपमा काम गर्न निश्चित व्यक्तिमा अख्तियारी प्रदान गर्ने प्रक्रियानै निवार्चन हो ।

    प्रतिनिधि चुन्ने विभिन्न तरिकाहरु विभिन्न देशले आफ्नो माटो सुहाउदो लोकतान्त्रिक प्रणाली अनुरुप अपनाउदै आएका छन् । मुख्यतया बहुमतीय प्रणाली, समानुपातिक प्रणाली र मिश्रित प्रणालीहरु प्रतिनिधि छान्न अपनाउने गरिन्छ । हाम्रो देशले बहुमतीय र समानुपातिक दुबै प्रणाली आत्मसात गरेको छ ।

    समस्या कहाँ छ ?

    प्रष्ट रुपमा बहुमत प्रात्त गरि प्रतिनिधि चुनिन नसक्नुमा हाम्रो देशले अवलम्बन गरेको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा समस्या देखिन्छ ।

    उन्नत लोकतन्त्र लिगलिग कोटको दौड हुनुहँुदैन, जो दौडमा अर्को भन्दा एक सेकेन्डमात्रै छिटो आयो भनेपनि राजा हुने । यहाँ त हरेकको मर्म चाहाना अनुरुप बढी भन्दा बढीको ईच्छा बमोजिम राज्य संचालन हुनुपर्दछ । तर पहिलो हुने निर्वाचित हुने प्रणालीले धेरै मतको मर्म बोक्ने भन्दा पनि कुनै एकले प्राप्त गरेको बढी मतको आधारमा शासन व्यवस्था संचालन गर्न वैधानिकता प्राप्त गरिरहेको छ ।

    नेपालको संविधानको प्रस्थानविन्दु नेपाली जनतालाई सार्वभौमसत्ता सुम्पेर भएको छ । र त्यो सार्वभौम अधिकार प्रयोग गर्ने ठोस विधिनै निर्वाचन हो । व्यवहारिक रुपमा आम जनताले शासन व्यवस्था संचालन गर्न सम्भव नभएरनै चुनाव मार्फत प्रतिनिधि छान्ने व्यवस्था गरिएको हो । सबैको साझा र मान्ने प्रतिनिधि छान्ने विकल्प कुनै छनोट गर्न सकेको भए अझ उन्नत व्यवस्थामा हामी हुने थियौ होला । तर राम, बुद्ध वा माक्र्स त सबैको साझा नहुने समाजमा आम नागरिक सर्वमान्य हुने कुरै भएन । तथापि धेरै भन्दा धेरैले रोजेको प्रतिनिधिले शासन व्यवस्था संचालन गर्न पाउनुनै उन्नत लोकतन्त्रको सिद्धान्त हो । तर हामीले अपनाएको निर्वाचन प्रणालीले यो सिद्धान्तलाई अपनाएको देखिदैन । 

    समाधान के त ?

    प्रतिनिधि छान्ने विधि देशले आफ्नो लोकतान्त्रिक प्रणालीको मर्म बमोजिम निर्धारण गर्नु पर्दछ । हाम्रोजस्तो कुनै अन्य प्रणालीबाट छनौट नभइ सीधै निर्वाचनको व्याटल ग्राउण्डमा उम्मेदवारहरु भिड्ने भएकाले धेरै जना विच प्रतिस्पर्धा हुने गर्दछ । जसले मत छरिने र बहुमत जुट्न असम्भव प्राय देखिदै आएको छ । तसर्थ निर्वाचन प्रणालीमा सुधार नै समाधानको उचित उपाय हो ।
    निर्वाचन प्रणालीमा अपनाउदै आइएको सापेक्षित बहुमत प्रणाली अर्थात पहिलो हुनेले जित्ने प्रणालीको विकल्पको रुपमा निरपेक्ष बहुमत प्रणाली वा एकमुष्ट मत प्रणालीलाई प्रयोग गर्न सकिन्छ । निरपेक्ष बहुमत प्रणालीमा ५० प्रतिशत प्लस एक मत ल्याउनै पर्ने व्यवस्था गरिएको हुनाले बहुमतको कदर सापेक्षित रुपमा सही ढङ्गबाट हुन सक्दछ । कम मत ल्याउने उम्मेदवार पहिलो चरणबाटै बाहिरिने र दोस्रो चरणमा धेरै ल्याउने दुई व्यक्ति मात्र उम्मेदवार बन्न सक्ने नियमले गर्दा प्रस्ट बहुमतको सम्भावना यो प्रणालीमा रहन्छ ।

    त्यस्तै एकमुष्ट मत प्रणालीमा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका सबै उम्मेदवारलाई मत दिईन्छ । मत दिंदा पहिलो विकल्प र दोस्रो विकल्प गरि आफ्नो रोजाईलाई क्रमबद्ध रुपमा उल्लेख गरिन्छ । यसरी यो प्रणाली अनुरुप पनि मत खेर जाँदैन भने बहुमत प्राप्त गर्न पनि सहज हुन जान्छ ।

    अन्त्यमा,

    निर्वाचनको सैद्धान्तिक अवधारणा सन् १२१५ को म्याग्नाकार्टादेखि सुरु भएबाटनै यस विषयको  चर्चाको आयातन मापन गर्न सकिन्छ । यो छोटो टिप्पणीमा निर्वाचन प्रणाली माथि विमर्श गर्न खोजिएको मात्र हो । बाँकी त अहिलेकै निर्वाचन प्रणालीलाई बढी प्रभावकारी बनाउन निर्वाचन शिक्षा, निर्वाचन कानुनको पालना, स्वच्छ र स्वतन्त्र निर्वाचन प्रणालीलाई कर्तव्य सम्झेर सबैले आत्मसात गरेको खण्डमा सबैको प्रतिनिधित्व सही तरिकाबाट धेरै हदसम्म  गर्न सकिन्छ नै । 
         

    मनोबिज्ञान शर्मा , अधिवक्ता
        twitter: @manobigyan1

    images
    प्रकाशित मिति :जेठ १० २०७९ मंगलवार - ०९:४३:२० बजे

    मनोबिज्ञान शर्मा

    सम्बन्धित समाचार