कोरोना भाइरसको कारणले दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘लक्का जवान’यही वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘लक्का जवान’को प्रदर्शन मिति यसअघि २०७६ चैत २१ गतेलाई तोकिएको थियो ।
ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा देखिने छन्।
चलचित्रको अफिसियल ट्रेलर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे।चलचित्रमा कथा, पटकथा, सम्बाद र निर्देशन कलाकार शिवहरि पौडेलको छ। चलचित्रका गीतमा बाबुल गिरी, जुनू रिजाल र मीना निरौलाको स्वर दिएका छन्।