२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले माघ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर झन् तल झारेका छन् ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याजबीचको अन्तर ५५ भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । बैंकहरूले मुद्दति निक्षेपमा धेरै र साधारण बचतमा कम मात्र ब्याज दिन थालेपछि हस्तक्षेप गर्न यस्तो व्यवस्था अघि सारिएको हो ।
यसको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर थप तल नझारुन् भन्ने पनि हो । तर, व्यवहारमा भने उल्टो प्रभाव देखिएको छ । बचतको ब्याजदर माथि जाने कुनै सम्भावना नै देखिएको छैन । बरु निरन्तर घटिरहेको छ । केही महिना पहिलासम्म साधारण बचतमा ६.५५ सम्म ब्याज दिँदै आएका बैंकहरु अहिले एकाएक घटाएर १.५५ सम्म ल्याएपछि सर्वसाधारण निक्षेपकर्ता त्रसित बन्न पुगेका छन् ।
अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गरेको छैन । निक्षेपको ब्याजदर अझै घट्छ कि भन्ने चिन्ता समेत सुरु भएको छ । बैंक ब्याजदर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गर्छ । विगतका तथ्यांकहरुले पनि यसको पुष्टि गरिसकेको छ ।
कुन बैङ्कको ब्याजदर कति ?
बैङ्कहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार बचत निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । यो बैङ्कले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैङ्क र एनआईशी एशिया बैङ्कले बचतमा खातामा दिने ब्याजदर १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म रहेको जनाइएको छ ।
सनराइज बैङ्क र बैङ्क अफ काठमाण्डूले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।
उता, नेपाल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैङ्कले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैङ्क, सिभिल बैङ्क र एनसीसी बैङ्कले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।
सेञ्चुरी कमर्शियल बैङ्कले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैङ्कले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैङ्कको छ । एनएमबि बैङ्कले बचत निक्षेपमा ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
उता, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । सो बैङ्कले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशत र एनसीसी बैङ्कको ब्याजदर ६.२५ प्रतिशत छ । त्यस्तै, नबिल बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्कले ६.५ प्रतिशत तथा नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कले ६.७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।
१० बैङ्कहरुले भने एकवर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैङ्क यसअन्तर्गत परेका छन् ।
त्यस्तै, कृषि विकास बैङ्क र एनएमबि बैङ्कले ७.२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैङ्क, सेञ्चुरी बैङ्क र प्राइम बैङ्कको ब्याजदर ७.५ प्रतिशत रहेको छ । सबैभन्दा बढी ब्याजदर भने सिभिल बैङ्कको ८ प्रतिशत छ । उल्ल्ेखित ब्याजदरमा शाखा प्रबन्धकले ०.५० प्रतिशतसम्म थप गरेर दिनसक्ने भएकोले वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा अधिकतम ८.५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij