२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फर्छ्योट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्ने शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ।
केन्द्रको गत चैत्र चार गतेको निर्णयअनुसार बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्योट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्ने निर्णय गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईको नाममा रहेको बेरुजुको मात्रा ठुलो रहेको तथा सो बेरुजु सम्परीक्षण तथा फर्छ्योटका सम्बन्धमा सहजीकरण गर्ने उद्देश्यले इकाईका प्रमुखसँग विभिन्न समयमा भएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव समेतका आधारमा केन्द्रले यस्तो निर्णय गरेको केन्द्रका लेखा शाखाका उपसचिव विनोद गेलालले जानकारी दिए ।
उपसचिव गेलालका अनुसार, सबै जिल्लाभित्र बेरुजु भएका विद्यालयको विवरण इकाईले आफ्नो वेवसाईटमा राखी सार्वजनिक गर्न समेत निर्देशन दिइएको छ ।
तत्कालीन् जिल्ला शिक्षा कार्यालय मार्फत भवन निर्माण प्रयोजनार्थ विद्यालयलाई प्रदान गरिएको रकममा हालसम्म पनि निर्माण कार्य शुरु नभएको हुँदा उक्त रकम तत्काल बेरुजु खातामा दाखिला गराउने केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका विद्यालयको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाउन समेत केन्द्रले सबै इकाई, स्थानीय तह र र बेरुजु भएका सामुदायिक विद्यालयलाई निर्देशन दिएको उपसचिव गेलालले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij