२०८२ भाद्र ५ गते बिहिवार
हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी शिक्षक, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।
सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट रु सात हजार थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो । सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए ।
एघार वडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन् । उक्त विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए ।
सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक रु आठ हजार तथा कर्मचारीलाई रु १३ हजार उपलब्ध गराउँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij