२०८२ भाद्र ५ गते बिहिवार
सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमा परीक्षा सकेर नतिजा प्रकाशन गर्नु पर्नेछ। नयाँ भर्ना पनि वैशाखमै थाल्नु भनिएको छ। पठनपाठन भने जेठ १ गतेबाट थाल्ने निर्णय भएको छ।
कोभिड–१९ का कारण यसअघि नै नयाँ भर्नासमेत प्रभावित भएको थियो। अहिले परिस्थिति सहज बन्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड तथ्यांकअनुसार संक्रमणदर घटेको छ। जोखिम नभएकै कारण सरकारले रोक लगाएको शैक्षिक, आर्थिक, व्यावसायिक सबै क्षेत्र खोल्न अनुमति दिइसकेको छ।
परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए। उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस नै चाहिँ हुँदैन।’
उनका अनुसार सरकारले नेपालमा कोभिड प्रवेश गर्नुअघिसम्म वैशाख १ गते नारा जुलुस नै गरी नयाँ भर्ना अभियान सञ्चालन गरेको थियो। तर कोभिड महामारी चलेपछि ती सबै रोकिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij