Logo

२०७९ जेठ ७ गते शनिवार

images

योद्धा उपन्या सः एक दृष्टिः

योद्धा उपन्या सः एक दृष्टिः

खबर सेन्टर

३० फाल्गुण २०७८
  • 2.8K
    SHARES
  • images
    images
    योद्धा उपन्या सः एक दृष्टिः
    images


    योद्धा उपन्यासः
    साहित्यकार यदुनाथ भट्टराईको जन्म दूधपोखरी– १, माझीबारी, लमजुङमा एक मध्यम वर्गीय ब्राह्मण परिवारमा भएको थियो । लामो समय शिक्षण पेशामा बिताएका भट्टराई हाल भरतपुर– ११, बसेनी, चितवनमा स्थायी बसोबास गरिरहेका छन् । मानविकी संकायमा स्नातकोत्तर उतीर्ण गरेका भट्टराईल केही समय स्थानीय समाचार पत्रिकाको सम्पादन गर्नुका साथै साहित्य लेखनमासमेत सक्रिय रहँदै आएको देखिन्छ । उनको यसभन्दा अघि ‘‘युद्ध र शान्ति” नामक निबन्ध सङ्ग्रह प्रकाशित भइसकेको छ । योद्धा उपन्यास उनको दोस्रो प्रकाशित साहित्यिक कृति हो । २०७८ सालमा विमला भट्टराई र दीपक ढकालद्वारा प्रकाशित गरिएको यस उपन्यासमा २२ वटा भाग रहेका छन् । कूल ४३२ पृष्ठमा पूर्णाकार प्राप्त गरेको यसको  मूल्य रु. ५०० रहेको छ । यसको आमूख पृष्ठ डा. धनप्रसाद सुवेदी र महेश प्रसाईंबाट लेखिएको छ भने रङ्गीन आवरण पृष्ठको अगाडिपट्टि कुनै लडाकुको विम्बात्मक चित्र र पछाडिपट्टि यसै उपन्यासको विषयमा लेखिएको केशव पुडासैनी ‘विमल’को छोटो टिप्पणी राखिएको छ । 

    images
    images
    images

    नेपालमा हुने गरेका हरेक राजनीतिक आन्दोलन र त्यसको परिणामले नेपाली साहित्यको क्षेत्रमा पनि गुणात्मक प्रभाव पार्दै आइरहेका छन् । राजनीतिक आन्दोलन र त्यसका परिणामलाई लिएर सहमति र असहमतिका विचार र दृष्टिकोणहरुमा आलम्बित भएर साहित्यिक कृतिहरु देखा पर्दै आइरहेका छन् । यही क्रममा नेपालको पछिल्लो साहित्य सिर्जनाको मूल प्रवृत्ति माओवादी जनयुद्ध र यसले नेपालको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पारेका प्रभाव र त्यसबाट सिर्जित उथलपुथलपूर्ण अवस्थाको चित्रण र त्यसको लेखाजोखा नै हुन आएको छ । यही परिवेशमा योद्धा उपन्यास लिएर उपस्थित भएका हुन्— यदुनाथ भट्टराई । योद्धा उपन्यासले विचरण गरेको समयावधि माओवादी जनयुद्धको थालनीदेखि दरबार हत्याकाण्ड वा नेपाल सरकार र माओवादी पार्टीकोबीच पहिलो चरणको द्विपक्षीय युद्धबिराम र वार्तासम्म देखिएको छ । यस अवधिमा माओवादी जनयुद्धले नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतका क्षेत्रमा पारेका प्रभावहरु र तिनबाट उब्जिएका घटना तथा परिघटनाहरुलाई प्रस्तुत गरिएको छ । यस उपन्यासले २०४८ सालदेखि २०५८ साल अथवा पहिलो शान्ति वार्ताको अवधि अथवा जनयुद्धको तयारीदेखि पहिलो युद्धविरामसम्मको द्वन्द्वमय नेपाली राजनीतिक परिवेशको प्रतिनिधित्व गरेको छ ।

    दृष्टिविन्दुः
    वास्तवमा कथा वाचक वा विषय प्रस्तोता नाम वा सर्वनाम नै दृष्टिबिन्दु हो । कथा, नाटक, उपन्यास मुख्य गरेर प्रथम र तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग गरेर लेखिन्छ । योद्धा तृतीय पुरुष दृष्टिबिन्दुलाई आत्मसात गरेर लेखिएको उपन्यास हो । तृतीय पुरुष दृष्टिबिन्दुलाई बाह्य दृष्टिबिन्दु र प्रथम पुरुष दृष्टिबिन्दुलाई आन्तरिक दृष्टिबिन्दु पनि भनिन्छ । तृतीय पुरुष दृष्टिबिन्दुलाई आत्मसात गरेर गरिने अभिव्यक्ति वा लेखनमा लेखक भोक्ताको रुपमा नभइकन द्रष्टाको रुपमा देखा पर्नु अनिवार्य मानिन्छ । 

    परिवेशः
    आख्यानमा प्रयोग भएको देश (स्थान) काल (समय) र वातावरणलाई नै परिवेश भनिन्छ । योद्धा उपन्यासमा लमजुङ र गोरखा जिल्लाको उच्च पहाडी क्षेत्र सिमजुङ गा.वि.स. अन्तर्गत पर्ने सिरानडाँडा र यसआसपासका तामाङ बस्तीलाई मुख्य परिवेशको रुपमा स्थापित गरिएको छ । तर उपन्यासका विषयवस्तुले उपन्यासको परिवेशलाई विस्तृत बनाएको छ । यसक्रममा उपन्यासमा रोल्पा जिल्लाको थवाङ र गजुल, मुग्लिन बजार, चितवन, खैरेनी, काठमाडौं, मलेखु, पोखरा, भारतको लखनउ, गोरखपुरदेखि बम्बै शहरसम्मको परिवेशभित्र घटित घटनाहरु समाविष्ट हुन आइपुगेका छन् । 

    शैलीः
    हुन त साहित्यका विविध विधाहरुमा साहित्यकारहरुको विशेषता र रुची अनुसारका प्रस्तुतीकरणको निम्ति भाषा, लय र शैलीहरुको प्रयोग हुँदै आएका छन् । तर पनि साहित्यका हरेक विधाहरुले खास नियममा आलम्बित भएर आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्दै आएका छन् । आख्यान वा गैर आख्यान, जुनसुकै विधाका साहित्यिक सिर्जनामा विधागत विशेषता विशिष्ठताहरुलाई आत्मसात गर्दै यसको सिर्जना गरिनु आवश्यक मानिन्छ । योद्धा उपन्यासमा मूलतः वर्णनात्मक शैलीलाई अपनाइएको छ ।

    चरित्र (पात्र) चित्रणः
    आख्यानमा प्रयुक्त हुने प्रमुख पात्र (चरित्र) आख्यानको शुरुदेखि अन्तसम्म रहेर कथावस्तुलाई अघि बढाउने चरित्र हो । गौण पात्र वा चरित्र चहिं आख्यान शृङ्खलाको बीचबीचमा आउने र प्रमुख चरित्रको गतिविधिलाई सहयोग गर्ने पात्र हुन् । योद्धा उपन्यासमा बहुपात्रहरुलाई उपस्थित गराइएको छ । जगमान, टुकू, कालु, समशेर, फूलमती, आशमान, सुकमान, कान्छो, बुधमाया, आशामाया, क्यारसिं, सुर्तीबहादुर, जगबीर मुखिया, चक्रे, गुमाने, धने, आइते, नरवीर, रजनी, फुन्द्रे, मङ्गली, सन्तमान, हस्तवीर, सेते, नन्दलाल, धनबहादुर, जङ्गे, रत्ने, सुकनाथ, आशवीर, नम्का, विष्णु, कृष्ण, चन्द्रप्रसाद, हिमनाथ, चित्रबहादुर, नन्दलाल, टौमाया, मनराज, पुड्के कामी, गोपे, सोमे, पण्डित बाजे, आसलाल, शेरमान, सुकमान, मोहन, कालपाते, भुवन, आशा, सरला, कृष्ण सर, शिखरनाथ, कल्पना गुरुङ, आइते, रामेश्वर, शुकमान, सानुमाया, भवानी, टेके सार्की, शिवराजजी, कमल सापकोटा, सुमन, चन्द्रप्रसाद, विमल, जानकी, तारा, रुपलाल, गङ्गे, धनप्रसाद, छन्दनाथ, मैत पुन, रामप्रसाद, विनिता, मिनप्रसाद, भवानी, पल्लाघरे कान्छी, बले, जमे, मदन, शरद, राममणी, कमल, मनकुमार, मनवीरे, रत्नमान, लमबहादुर, छन्दप्रसाद, क. जीवन, गोमा, सेते, काले, दिलेन्द्र, क. तुलसा, क. अग्नी, क. भावना, मनोज, जगत, सुन्दरे, मनबहादुर, झलकमान, पुड्के, छाले, कमरेड धर्ती, सुकबहादुर, जगतराज, उमेश, हरिकृष्ण, क. दिपा, क. मनोज, क. पवन, राजन गौतम, क. रमण, क. प्रगति, क. विनय, क. अशोक, कल्याण, क. निर्जला, बाबुराम भट्टराई, यमलाल, शिवनाथ, हुकममान, शरद लगायत करिब १४० जना पात्रहरु उपन्यासका विभिन्न दृश्य, घटना र परवेशमा उपस्थित भएका छन् ।

    पिता जगमान र आमा टूकुको जेठो सन्तानको रुपमा गोरखाको विकट तामाङ बस्ती सिरानडाँडाका जगमान तामाङ र टुकू तामाङको तीन सन्तान एउटी छोरी र दुई छोरामध्ये पहिलो सन्तानको रुपमा जन्मिएको कालु यस उपन्यासको प्रमुख पुरुष पात्र वा नायक हो । लमजुङको फुलिङगिरीको तामाङ बस्तीमा एक मध्यम वर्गीय परिवारमा हस्तरवीर तामाङ र टौमाया तामाङको एक छोरा र एक छोरीमध्ये पहिलो सन्तानको रुपमा जन्मिएकी मङ्गली यस उपन्यासकी प्रमुख नारी पात्र वा नायिका हो । साइनोले कालु र मङ्गली फुपू चेला र मामाचेली हुन् । कालु मङ्गलीको फुपूको छोरो हो भने मङ्गली कालुको मामाकी छोरी हो । सिरानडाँडाकै मुखिया जगवीर तामाङलाई यस उपन्यासमा प्रमुख खलपात्र वा प्रतिनायकको रुपमा स्थापित गरिएको छ । जगवीर शाही नेपाली सेनाबाट सेवानिवृत्त भएको सुदखोर र माओवादी जनयुद्धको कट्टर विरोधी चरित्र हो ।

    कथावस्तुः 
    माओवादी जनयुद्धको तयारी देखि जनयुद्धको थालनी र यसको विकास हुँदै पहिलो युद्धविराम वा शान्ति वार्ताको अवधिसम्ममा घटित देशको राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाइएको छ । देशमा माओवादी जनयुद्ध सुरु गरिनु र यसको विकासका कारणबारे विभिन्न पात्र र परिवेशहरुको प्रस्तुतीमा नै यस उपन्यासले कथानकता हासिल गरेको छ ।

    कालु गाउँकै स्कुलबाट ५ कक्षा पास गरेपछि लौसीबोटे गाउँमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा ६ कक्षामा भर्ना हुन्छ । यस स्कूलमा नेपाल कम्युनिष्ट पार्टीं (एकताकेन्द्र) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (ने. वि. सङ्घ) को विद्यालय स्तरीय सङ्गठन हुन्छ । कालु आफ्नो मिल्ने साथी नरवीरसँगै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुन पुग्छ । नौ कक्षामा पढ्दै गरेको बखत नरवीरको उक्साहटमा कालु ब्रिटिश सेनामा भर्ती हुन भनी बाउको गोजीको पैसा चोरेर नरवीरसँगै पोखरातिर हानिन्छ । भर्ती हुनको निम्ति गल्लालाई घुस खुवाउने पैसा नभएपछि नरवीर र कालु ब्रिटिश सेनामा भर्ती हुन सक्दैनन् । यसपछि खिन्न मन लिएर दुवै जना पोखराबाट बस चढेरै गोरखा बजार आइपुग्छन् । राती बास बस्न लजको खोजीमा रहेको कालुको भेट अनायास उसकै स्कुलमा १० कक्षामा पढ्ने र अखिल क्रान्तिकारीको विद्यालय स्तरीय नेता मोहनसँग हुन्छ । मोहन त्यसदिन अ.ने.रा.स्व.वि.यू. को जिल्ला सम्मेलनमा सहभागी हुन गोरखा बजार पुगेको हुन्छ । राती कालु र नरवीर मोहनसँगै एउटै लजमा बस्न राजी हुन्छन् । राती मोहनले कालुलाई नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) का जिल्ला स्तरका नेता क. श्यामसँग भेटाउँछ । क. श्यामको राजनीतिक वैचारिक कुरा सुनेपछि कालु अ.ने.रा.स्व.वि.यू. को सदस्य भएर कम्युनिष्ट राजनीतिमा लाग्न राजी हुन्छ । त्यसै बखत मोहनबाट उसले अखिल क्रान्तिकारीको सदस्यता प्राप्त गर्दछ । 

    मङ्गली सात कक्षामा पढ्दै गर्दा हस्तवीरको पेन्सन हुन्छ र ऊ सपरिवार काठमाडौं छोडेर गाउँ फर्किन्छ र कृषि तथा पसुपालन व्यवसाय अङ्गाल्छ । गाउँ आएपछि हस्तवीरले छोरी मङ्गलीलाई बिचौराको बागेश्वरी मा. वि. मा ७ कक्षामा भर्ना गरिदिन्छ । स्कुल घरदेखि निकै टाढा भएकोले मङ्गली आपूmसँगै पढ्ने सानुमायाको घरमा डेरा बस्छे । सानुमायाको परिवार नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) सँग अबद्ध भएको हुँदा सानुमायासँगै मङ्गली पनि नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) को भातृ सङ्गठन अ.ने.रा.स्व.वि.यू. कोे बागेश्वरी मा. वि. को इकाई समितिको सचिव बन्छे भने सानुमाया कोषाध्यक्ष बन्छे । यसरी मङ्गली कम्युनिष्ट राजनीतिमा आबद्ध हुन पुग्छे । यहीबीचमा नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र) विभाजित भएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को निर्माण भइसकेको हुन्छ । देशमा जनयुद्धमार्पmत् नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यले माओवादी पार्टीले जनयुद्धको योजना तयार गर्छ । पार्टीको विभाजनपछि अ.ने.रा.स्व.वि.यू. पनि विभाजित हुन्छ र माओवादी पार्टीको भातृ सङ्गठनको रुपमा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल क्रान्तिकारीको निर्माण हुन्छ । काठमाडौंमा मानविकी संकायमा रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आई. ए.) मा भर्ना हुन्छे । सानुमायाको बा पनि माओवादी पार्टीमै अबद्ध हुन पुग्छन् । सानुमायासँगै मङ्गली पनि अखिल क्रान्तिकारीमा आबद्ध हुन्छे । यही वागेश्वरी मा. वि. बाट एस. एल. सी. पास भएपछि मङ्गली उच्च शिक्षा हासिल गर्न काठमाडौं जान्छे । त्यस क्याम्पसमा माओवादी पार्टीको भातृ सङ्गठन अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) को इकाई समिति हुन्छ । क्याम्पसमा पनि मङ्गली यही अखिल (क्रान्तिकारी) को इकाई समितिमा बसेर राजनीतिक गतिविधिमा संलग्न हुन्छे ।

    देशमा माओवादी जनयुद्धको शुरुवात हुन्छ । यसैबीचमा कालु एस. एल. सी. पास हुन्छ र राजनीतिलाई चटक्कै छोडेर भारतीय सेनामा भर्ती हुन जान्छ । मङ्गलीले माओवादी पार्टीको सदस्यता प्राप्त गर्छे र माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा प्रत्यक्ष सहभागी नभइकन गाउँकै एउटा प्राथमिक तहको स्कुलमा शिक्षिका बन्छे । माओवादी जनयुद्धको विकाससँगै सरकारले सिरानडाँडा क्षेत्रमा पनि पुलिसको गस्ती बढाउँछ । पुलिसहरुले गाउँका माओवादी कार्यकर्ता र समर्थकहरुलाईसमेत पक्राउ गर्ने, यातना दिने र मार्ने गर्न थालेपछि मङ्गली माओवादी पार्टीकै जिल्ला स्तरका नेताको सल्लाहमा जागिर छोड्छे र पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा प्रत्यक्ष सहभागी हुन्छे । मङ्गली माओवादीको छापामार दस्तामा भर्ती भएकी भए पनि कालुको परिवारका सबैजना कांग्रेसका समर्थक र सहयोगी हुन्छन् । देशमा सुरु भएको माओवादी जनयुद्धको लहर सिरानडाँडा गाउँमा पनि पुगिसकेको हुन्छ । विभिन्न जनविरोधी क्रियाकलाप गरी सोझा–सिधा जनताहरुमाथि शोषण र उत्पीडन गर्दै हिड्ने जगवीर मुखियाको छोरो रत्नेलाई माओवादी छापामारले कारवाही गर्छन् । यस घटनाले माओवादी भनेका खराब मान्छे हुन् भन्ने कुरा जगमान र टुकूको मनमा उब्जिन्छ । यसैले मङ्गलीसँग उनीहरुको राम्रो सम्बन्ध हुँदैन ।

    यसैबीच कथानकले उपन्यासमा अर्को मोड लिन्छ ।

    रोल्पाको थवाङमा एउटा साधारण पुनमगर परिवारमा जन्मिएको मैत पुन पनि भारतीय सेनामै भर्ती हुन पुगेको हुन्छ । दश दिनको छुट्टी (विदा) मनाउन कालु र मैतु रेल चढेर भारतकै बम्बै शहर पुग्छन् । बेलुकीपख बम्बैको रेलवे स्टेसनमा ओर्लिएका उनीहरु बेलुका बास बस्ने स्थानको खोजीमा हुन्छन् । यत्तिकैमा त्यही रेलवे स्टेसनमै नेपाली भाषा प्रष्टै बोल्ने एउटी अधवैंशे महिला उनीहरुलाई भेट्न पुग्छे । बेलुका बास बस्नको लागि सुरक्षित र राम्रो ठाउँ पाइने विश्वासमा कालु र मैत त्यही महिलाको पछि लागेर ‘पिला हाउस’ मा पुग्छन् । एक रातको निम्ति ३÷३ हजार रुपैयाँ पिला हाउसको काउन्टरमा बुझाएपछि यी दुई जना बेग्लाबेग्लै कोठामा पस्छन् । 
    कालु पसेको कोठामा ग्राहक पर्खिएर बसिरहेकी आप्mनै बहिनी फूलमतीलाई भेट्छ । आप्mनै गाउँको मुखिया जगवीरको छोरो रत्नेले फूलमतीलाई यहाँसम्म ल्याएर बेचेको कुरा फूलमती बाटै थाहा पाउँछ कालुले । उता मैतले पनि सिङ्गो रात आप्mनै गाउँकी सुनसरासँग बिताउँछ । भोलिखेर कोठाभित्र बिताएको रातको बारेमा कालु र मैतको बीचमा कुराकानी हुन्छ र उनीहरु दुवै फूलमती र सुनसरालाई जसरी पनि ‘पिला हाउस’बाट बाहिर निकाल्नुपर्छ भन्ने निर्णयमा पुग्छन् । ‘पिला हाउस’बाट बाहिर निस्किएर उनीहरु सहयोगी संस्था वा व्यक्तिहरुको खोजीमा लाग्छन् । पत्र–पत्रिकाहरुमा अखिल भारत नेपाली एकता समाजले बम्बैका कोठीमा बेचिएकी नेपाली चेलीका बेलाबखत उद्धार गरेको कुरा पढेका उनीहरु त्यही नेपाली एकता समाजको बम्बै स्थित कार्यालय खोज्दै हिँड्छन् र भेट्छन् पनि । समाजका अध्यक्ष रामप्रसादले सहयोग गर्ने वचन दिन्छन् । आखिरमा अखिल भारत नेपाली एकता समाजकै कार्यकर्ताहरुको सहयोगले कालु र मैत फूलमती र सुनसरालाई मुक्त गर्न वा ‘पिला हाउस’बाट निकाल्न सफल हुन्छन् । त्यसपछि सुनसरालाई लिएर मैत रोल्पा थवाङ पुग्छ भने कालु फूलमतीलाई लिएर गोरखा–सिरानडाँडा पुग्छ । 

    मुखियाको छोरो रत्नेले मलाई काठमाडौंमा राम्रो जागिर खोजिदिएको छ, म काठमाडौं जान्छु भनेर बाबु जगमान र आमा टुकूको विश्वास जितेर मिरमिरे उज्यालो हुनुभन्दा पहिले नै घरबाट निस्किएकी फूलमती कालुसँगै घरमा आइपुग्दा जगमान बूढा र टुकू आश्चर्यचकित हुन्छन् । कालुले फूलमतीलाई बम्बैमा भेटेदेखिको सबै वृतान्त बा–आमा (जगमान र टुकू) लाई सुनाउँछ । यसपछि उसको घरका सबैजना माओवादी पार्टीको समर्थक बन्न पुग्छन् । त्यही रात पुलिसहरुको घेरामा परेकी मङ्गली पुलिसको घेरा बल्लतल्ल तोड्छे । बेलुकाको सेल्टरको निम्ति अन्तभन्दा सिरानडाँडाकै कालुको घर नै सुरक्षित सम्झेर रातको अँध्यारोमा ऊ कालुको घरमा पुग्छे । मङ्गलीलाई भेटेर कालु झन् धेरै खुशी हुन्छ । आई. ए. सम्म पढेकी मङ्गलीले माओवादी विचार सिद्धान्तको कुरा प्रभावकारी किसिमले कालुलाई र फूलमतीलाई सुनाउँछे । उसका क्रान्तिकारी कुरा जगमान र टुकूले पनि चाख लिएर सुन्छन् । कुनै दिन आपूm पनि माओवादीको सेना भएर जनयुद्ध लड्ने प्रतिबद्धता कालुले मङ्गली सामू व्यक्त गर्छ । फूलमती मङ्गलीको सल्लाह बमोजिम पुनः स्कुल पढ्न जान्छे । कालु लखनउ पुग्छ । दश कक्षामा पढ्दै गरेकी फूलमती अखिल क्रान्तिकारीको स्कुल इकाई समितिको सदस्य बन्छे । 

    एकरात जगवीर मुखिया पुलिसको जत्था लिएर जगमानको घरमा पुग्छ । घरमा जगमान, टुकू र फूलमती मात्रै हुन्छन् । पुलिसलेहरुले माओवादी  पाल्ने घरको आरोपमा घरको खानतलासी गर्छ । घरमा बाकसभित्र राखिएको बीस हजार रुपैयामा पुलिसको आँखा पर्छ । इन्स्पेक्टरले त्यो बीस हजार रुपैयाँ आफ्नो खत्तीमा घुसार्छ । त्यसपछि फूलमतीलाई लिएर हिड्छन् । शारीरिक र मानसिक यातना दिंदै फूलमतीलाई माओवादी र माओवादीलाई सेल्टर दिनेका घर चिनाउन लगाउँछन् । त्यस रात फूलमतीले माओवादीका र माओवादी समर्थकका ३–४ वटा घर चिनाइदिन्छे । पुलिसहरुबाटै बलात्कृत भएकी फूलमतीलाई रातकै बीचमा पुलिसहरुले जङ्गलमा पु¥याउछन् र फूलमतीसहित ७ जना छापामारलाई लहरै उभ्याएर पालैपालो गोली हान्न थाल्छन् । यत्ति नै खेर एकजना छापामारसँगै फूलमती पनि भाग्छे र एक्लै बिहानीपख माओवादी समर्थक मनप्रसादको घरमा पुग्छे । संयोगले त्यही घरमा मङ्गली सेल्टर बसिरहेकी हुन्छे । यहीं मङ्गली र फूलमतीको भेट हुन्छ । यहींबाट फूलमती मङ्गलीसँगै जनयुद्धमा हिँड्ने निर्णय गर्छे । उनीहरु भेलिपल्ट बिहानको खाना खान्छन् र यसपछि आफ्नो गन्तव्यतिर हिड्छन् । 

    त्यही दिन दिउँसो मनप्रसादको खेतमा काम गर्ने खेताला हुन्छन् । मनप्रसादको छोरो राजनलाई खेतमा काम गर्दागर्दै ज्वरो आएर घर आइपुगेको हुन्छ । मनप्रसादकी आमा खेतालालाई खाजा पु¥याउन खेतमा जान्छिन् । राजन अघि भर्खरै मङ्गली र फूलमतीले बसिगएका कोठमा गएर सुत्छ । यतिकैमा पुलिसहरु आएर मनप्रसादको घर घेरेबन्दी गर्छन् र बन्दुक पड्काउन थाल्छन् । पुलिसहरुले राजनलाई जिउँदै जलाउँछन् । सोही दिन छिमेककी कान्छी र मनप्रसादको आमालाई मारेर शान्तिबजार चौकीमा फर्किन्छन् । दिउँसो छिमेककी कान्छीलाई गोली हानेर मार्न अटेर गर्ने जमे र बलेलाई राती जंगलमा लगेर मार्ने योजना शान्तिबजार पुलिस चौकीको इन्स्पेक्टरले बनाउँछ । योजनामुताविक इन्सपेक्टर हवल्दार र अरु पुलिस मिलेर राती सालघारी वनमा जमे र बलेलाई लिएर जान्छन् अनि सालको रुखमा बाँधेर गोली ठोक्ने तयारी गर्छन् । तर कसोकसो आफ्नो छातीमा गोली दागिनुभन्दा पहिले नै बले आफूलाई बाँधेको डोरी चुँडालेर भाग्छ । रातको अध्याँरोमै ऊ माओवादी छापामारको सम्पर्कमा पुग्छ र छापामार दस्तामा भर्ती हुन्छ । 

    भारत र पाकिस्तानबीच जम्मु–काश्मिरमा सीमा विवाद चर्केर युद्ध हुने परिस्थितिको सृजना भएपछि भारत सरकारले लखनउमा रहेको गोर्खा रेजिमेन्टका सेनाहरुलाई पनि युद्धको निम्ति सीमा क्षेत्रमा पठाउन आदेश गर्छ । यसपछि भारतीय सेनाको सिपाही भएर अर्काकै देशको निम्ति लड्नु र मर्नुभन्दा बरु आप्mनै देशमा चलेको माओवादी जनयुद्धमा सहभागी भएर देश र जनताको मुक्तिको निम्ति लड्ने र मर्ने अठोट गरी कालु र मैत आपूmसँग भएका हातहतियार सहित ब्यारेकबाट भाग्छन् । हतियार अखिल भारत नेपाली एकता समाजको लखनउ स्थित कार्यालयका नेतालाई बुझाउँछन् । कार्यालयमा भेटिएका ती नेताले गोप्य तरिकाले हतियार नेपालमा माओवादी पार्टीको सम्पर्कमा पठाइदिने वचन दिन्छन् । र उनले मैतको हातमा एउटा चिठी थमाउँदै यताबाट पठाइएको हतियार लिनको निम्ति भालुवाङको होटल स्वर्गद्वारीका मालिक शरदलाई यो चिठी दिनुस्, यसपछि उहाँले तपाईंलाई हतियार दिनुहुन्छ भन्छन् । यसैगरी उनले कालुको हातमा पनि एउटा चिठी थमाउँछन् र यो चिठी लगेर आबुखैरेनीको होटल गोरखकालीका मालिक हुकमानलाई दिनु र उनीबाट हतियार लिएर जानु भन्छन् । यस अनुसार कालु र मैत रेल चढेर नेपालतिर आउँछन् । नेपाल आइपुगेपछि उनीहरु दुवैजनाले तोकिएको ठाउँमा सम्पर्क गर्छन् र आफूले भारतीय सेनाको ब्यारेकबाट ल्याएका हतियार प्राप्त गर्छन् । यसपछि उनीहरु उक्त हतियार लिएर  आ–आफ्नो घरतिर लाग्छन् । 

    घरमा आएपछि कालुले मङ्गलीलाई भेट्छ । ऊ माओवादी छापामार बन्छ र मङ्गलीसँग बिहे गर्छ । फूलमतीसँग बलेले बिहे गर्छ । कालुको भाइ शमशेर पनि जनयुद्धमा हिँडिसकेको हुन्छ । रोल्पामा जनयुद्धमा सक्रिय हुँदै गर्दा मङ्गली घाइते भएर अस्पताल भर्ना हुन्छे । गोरखा सिरान डाँडामा जगमानले पुलिसको ज्यादती सहन नसकेर ज्यादती गर्न आएको पुलिसको जथ्थाको हवल्दार माथि बञ्चरो प्रहार गर्छन् । जगमान बूढामाथि पुलिसको इन्स्पेक्टरले गोली प्रहार गर्छ । पुलिसको हवल्दार र जगमान बूढा दुवैको लाश आँगनमा तेर्सिन्छ । समय बित्दै जान्छ । उता मङ्गलीले छोरो जन्माउछे । दशैंको बेला कालु मङ्गली र छोरालाई लिएर आफनो घर पुग्छ । रमाइलोगरी दशैं मनाएपछि कालु र मङ्गली आप्mना छोरो गौरवलाई टुकूकै साथमा छोडेर जनयुद्धमै फर्किन्छन् । टुकू घरमा गौरवलाई हुर्काउँदै बस्छिन् ।

    माओवादी जनयुद्धको प्रभावको विकाससँगै सरकारले पनि दमन अभियान चर्काउँदै ल्याउँछ । पार्टीको योजना र निर्देशन अनुसार छापामारहरु प्रतिरोधी युद्ध लड्दै जान्छन् । दुवै तर्पm मर्ने र मारिनेको क्रम चलिरहन्छ । फूलमती पहिले घाइते हुन्छे पछि शहीद हुन्छे । कालु र मङ्गलीलाई माओवार्दी पार्टीले गोरखाबाट रोल्पाको गजुल गा. वि. स. मा स्थानान्तरण गरिदिन्छ । कालु र मङ्गली रोल्पाको गजुल पुग्छन् । माओवादी जनयुद्धमा लागेर छापामार बनिसकेको मैत र सुनसरालाई भेट्छ । मैत र सुनसरा विवाह–बन्धनमा बाँधिएका हुन्छन् । रोल्पाको गजुलतिर पुलिस र माओवादी छापामारबीच भएको भीडन्तमा मङ्गली घाइते हुन्छे र उपचारको निम्ति उसलाई चितवनको भरतपुर लगिन्छ । अस्पतालमा उपचारकै क्रममा मङ्गलीको मृत्यु हुन्छ । 

    देशमा राजदरबार हत्या काण्डपछि परिस्थिति बदलिन्छ । सरकार र माओवादी पार्टीबीच वार्ता प्रक्रिया अघि बढाउनको लागि सरकार र माओवादी दुवै तर्पmबाट युद्धबिरामको घोषणा हुन्छ । यही बखत घरमा रहेकी आमा र छोरो गौरवलाई भेट्ने तीब्र इच्छाले कालु घरमा पुग्छ । केही दिन घरमा आमा र छोराको साथमा बसेपछि कालु पुनः माओवादी पार्टी–सँगठनकै सम्पर्कमा पुग्नु पर्ने दिन आइपुग्छ । घरबाट कालु हिँड्ने बेलामा टुकू बूढीले रातो अक्षताको टीका कालुको निधारमा लगाइदिँदै ‘‘राम्रोसँगले लडाई लड्नू !” भनेर आशीर्वाद दिन्छिन् । कालु नयाँ जनवादी गणतन्त्रको स्थापना गरेपछि फर्केर घर आउँछु भनेर घरबाट निस्किन्छ । 
    यही मूल कथामा आधारित भएर तयार गरिएको योद्धा जनयुद्धकालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनमा घटित द्वन्दमय इतिहासको गाथा हो । जनयुद्ध नेपाली गरीब उत्पीडित जनताहरुको लहडको खेल थिएन । त्यो त देशको आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक जीवनमा आमूल परिवर्तन गर्दै देशका सम्पूर्ण उत्पीडित श्रमजीवी, गरिब जनताहरुको उन्नति, प्रगति तथा समतामूलक सामाजिक न्यायको निम्ति आव्हान गरिएको वर्ग युद्ध थियो । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गर्दै समाजवाद र विश्व साम्यवादको महान् लक्ष्य हासिल गर्नको निम्ति नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि थियो । यही लक्ष्य र उद्देश्य प्राप्त गर्नको निम्ति नेपालका सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका मानिसहरुले शोषक, सामन्त, तस्कर, जाली–फटाहाको रक्षा गर्ने दलाल तथा नोकरशाही पूँजीपति वर्गको हित गर्ने राज्य सत्ताको विरुद्धमा लडेका युद्ध थियो । यस उपन्यासमा, जनयुद्धकालीन नेपालको सरकारका सुरक्षा अंङ्गहरुको मनोवृति र मनोदशाको चित्रण सुन्दर किसिमले गरिएको छ ।  यहाँ सानो सङ्ख्या, तुलनातमक हिसाबले कम्सल र थोरै हतियारको भरमा ठूलो संख्यामा रहेका र अत्याधुनिक हतियारले सुसज्जित भएका सरकारी सुरक्षा फौजलाई परास्त गर्दै माओवादी छापामारहरुले कसरी क्रान्तिकारी उद्दात्त आदर्शको निर्माण गरेका थिए भन्ने कुरालाई मर्मस्पर्सी किसिमले व्यक्त गरिएको छ । 

    उपन्यासका सीमाः 
    उपन्यासकारले शुरुदेखि नै कालुलाई उपन्यासमा मुख्यपात्र (नायक) को रुपमा स्थापित गर्न खोजेको देखिन्छ तर कालुको क्रान्तिकारी चरित्र निर्माणमा वैचारिक स्पष्टता, दृढता र निरन्तरता देखिंदैन । यसैगरी उपन्यासमा मङ्गलीलाई नायिकाको रुपमा स्थापित गरेको देखिन्छ । तर उसको पनि राजनीतिक र वैचारिक विकास तथा परिपक्वता स्वभाविक देखिंदैन । नायकको रुपमा कालुको भूमिका र सक्रियता अस्थिर, कमजोर र प्रतिशोधी भावनाको प्रतिनिधित्व गर्ने पात्रको रुपमा चित्रित हुन आएको छ । किनभने बम्बैको होटलमा कालु र मैत वेश्यागमनको निम्ति तयार हुन्छन् र पैसा तिरेर दुई जना अलगअलग कोठामा पस्छन् । संयोगले कालु पसेको कोठमा ग्राहकको प्रतीक्षामा बसिरहेकी आप्mनै बहिनी फूलमतीलाई भेट्छ उसले । यसरी आप्mनै बहिनीलाई वेश्यालयमा बेचिएको घटना नवेहोरेको भए कालु माओवादी जनयुद्धमा सहभागी हुन आउने थिएन । किनभने ऊ देशमा माओवादी जनयुद्ध चलिरहेको समयमै भारतीय सेनामा भर्ती हुन गएको थियो । उसको जीवनको अन्तिम उद्देश्य नै विदेशी सेनामा भर्ती भएर विदेशीकै निम्ति रगत पसिना बगाउने र पैसा कमाउने थियो । अर्कोतर्पm उपन्यास सिर्जन–कलाको शैलीगत दृष्टिले कमजोर बन्न पुगेको छ । उपन्यासको अन्तिममा टुकू (नायक कालुकी आमा) को मनोभावलाई प्रस्तुत यसरी गरिएकोछ— ‘‘आफ्नो अतीतलाई सम्झिएर कहिले आँशु झार्दै त कहिले दृढ मन लिएर रुन्चे हाँसो हास्दै थिइन् ।” यसरी उपन्यासको अन्त्य सहायक पात्रको मनोदशाको चित्रणबाट गर्नुभन्दा नायकको मनोदशा वा क्रियाकलापबाट अन्त्य गरिएको भए उपयुक्त हुन्थ्यो । अर्कोतर्पm सिर्जन–कलाको शैलीगत दृष्टिले पनि उपन्यास शक्तिशाली बन्न सकेको छैन । यस्तैयस्तै सीमाहरुका बाहुल्यताका कारणले उपन्यास औपन्यासिक दुर्घटनाको मुचुल्का जस्तो बन्न पुगेको आभास हुनु स्वभाविक देखिन आएको छ ।

    निष्कर्षः 
    उपन्यास भनेकै मुख्य पात्र (नायक) ÷नायिकालाई केन्द्रमा राखेर आख्यानीकरण गरी मुख्य कथानक निर्माण गर्नु र त्यसलाई विश्वासनीय बनाउँदै गतिशीलता प्रदान गर्न विभिन्न उपकथा वा सहायक कथाहरु वा उपाख्यानहरुको शृङ्खला तयार गरिएको साहित्यिक रचना हो । यसमा निर्माण गरिने उपाख्यानहरु नायक नायिकाको मानसिक तथा भौतिक क्रियाकलापको समानान्तर नभै तिनमा गतिशीलता थप्नको लागि हुनु पर्दछ । तर योद्धा मूलतः घटनाप्रधान उपन्यास भएकोले यसमा विविध पात्रहरु विभिन्न घटना विशेषमा नायक÷नायिकाको रुपमा देखा पर्नु स्वभाविक हुन आएको छ । परिवेश चित्रण, पात्र–चरित्र निर्माण, कथ्यहरुको धारामयी प्रवाहको दृष्टिले यस औपन्यासिक चित्रमा ठाउँठाउँमा यथोचित रङ्गहरु भर्न बाँकी नै छाडिए जस्तो आभास हुन आइपुगे पनि योद्धा युगीन महत्वको कृति बनेको छ । उपन्यासकार यदुनाथ भट्टराईबाट आगामी दिनहरुमा पनि नेपाली साहित्यको भण्डारले गहकिला सुन्दर साहित्यिक कृतिहरु उपहार पाइ नै रहने छ भन्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।
    (समाप्त)


    बेलकोटगढी नगरपालिका– ३,
    नुवाकोट, २०७८ माघ । 

    images
    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - ०९:०५:३२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार