२०८२ भाद्र २ गते सोमवार
संखुवासभा ।संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।
१४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो ।
घाइते हुनेमा मादी-५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । संखुवासभाको मादी नगरपालिका-६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी-६ कि अञ्जना कटुवाल र मादी-५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij