२०८२ मंसिर ६ गते शनिवार
महोत्तरी । यहाँथित माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् । विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो ।
“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन् । सोनीजस्तै उनका साथी सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ । “अरु विषयको घण्टी कहिलेकाहीँ छुट्दा साथीहरूबाट पनि सोधपुछबाट बुझिन्छ, कम्प्युटर छुट्दाचाहिँ गाह्रो”, निक्कीले भनिन् । विद्यालयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ । पाँचौँदेखि सातौँ घण्टीसम्म फरक–फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौँ घण्टीमा कक्षा ६ को पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि रु’ भनेर चनाखो रहनुपरेको हो ।
विद्यालयमा २२ थान कम्प्युटर छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ । कक्षा–कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउनुहुन्छ । “हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौँ, केही थान कम्प्युटर थप्न पर्ने छ, कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको”, उहाँ बताउनुहुन्छ ।
कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ । पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुर बताउनुहुन्छ । “विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij