२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षकले राजनीति गर्नु हुन्छ वा हुँदैन भन्ने विषयमा चर्को बहस भइरहेको छ । मिडियामा पनि यो विषयले राम्रै स्थान पाएको छ । अझ प्रमुख राजनीतिक दलको भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनमा ‘महाधिवेशन प्रतिनिधि’का रूपमा शिक्षक सहभागिताको विषयलाई लिएर झनै चर्चा भयो ।
शिक्षक राजनीतिमा सक्रिय रहेको चौतर्फी चर्चा परिचर्चा भएपछि निर्वाचन आयोगले पनि शिक्षकलाई महाधिवेशनमा सहभागी हुन नदिन राजनीतिक दलहरुलाई निर्देशन गर्न वाध्य भयो । तर निर्वाचन आयोगको त्यो निर्देशनलाई लत्याउदै सयौंको संख्यामा शिक्षकहरु विभिन्न राजनीतिक दलको महाधिवेशनमा सहभागी भए । दलको महाधिवेशन प्रतिनिधिको रुपमा मात्र होइन कतिपय शिक्षक राजनीतिक दलको कार्यकारिणी समितिमा निर्वाचितसमेत भएको समाचार बाहिरियो । विभिन्न राजनीतिक दलको महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेको समाचार पनि बाहिर नआएको होइन ।
शिक्षक सक्रिय राजनीतिमा लागेकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किएको आरोप खेपिरहेको बेला शिक्षक राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएको चर्चा चुलिएसँगै फेरि एकपटक शिक्षक आलोचित हुन पुगे ।
एकथरी मानिसले शिक्षकले राजनीति गर्नु गलत हो भनी तर्क गरिरहेका छन् । अर्को-थरीले देश र राष्ट्रका लागि राजनीति गर्नु उचित हो भनी शिक्षककै पक्षमा वकालत गरिरहेका छन् । हामीले कुनै राजनीतिक दलको कार्यकर्ता भएर हिँड्नुलाई ‘राजनीति’ भनेर गलत परिभाषित गरिरहेका छौँ । ‘राजनीति’ शब्दको सही अर्थ नबुझेर टिकाटिप्पणी गर्दा ‘राजनीति’ शब्दमाथि अन्याय भएको छ । सही अर्थ बुझेर हामीले आफ्नो राय पेश गर्यौ भने मात्र ‘राजनीति’ शब्दमाथि पक्कै पनि न्याय गरेको ठहरिने छ ।
राजनीति शब्द राजंनीति दुई शब्दको संयोजन हो। ‘राज‘ को अर्थ शासन हो र ‘नीति‘ भन्नाले सही समय र सही ठाउँमा सही काम गर्ने कला हो। अर्थात् कुनै खास नीतिद्वारा शासन गर्ने वा विशेष उद्देश्य हासिल गर्ने कार्यलाई राजनीति भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा, राजनीति भनेको जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवनस्तर) माथि उठाउनु हो। राजनीति नागरिक स्तर वा व्यक्तिगत स्तरमा एक विशेष प्रकारको सिद्धान्त र व्यवहार हो।
राजनीतिमा धेरै दृष्टिकोणहरू छन्, जस्तै राजनीतिक विचारहरू अगाडि बढाउने, कानून बनाउने, विरोधीहरूसँग लड्न बल प्रयोग गर्ने, र यस्तै।
राजनीतिको इतिहास धेरै पुरानो छ, जसको विवरण विश्वको सबैभन्दा पुरानो सनातन धर्म ग्रन्थमा पाइन्छ। राजनीतिको शुरुवात रामायणकालदेखि नै पुरानो हो । यसको अधिकांश विवरण महाभारतमा पाइन्छ। चाहे त्यो चक्रव्यूहको सृजना होस् वा पाण्डवहरूलाई पासाको खेलमा परास्त गर्ने राजनीति होस् राजनीतिप्रति जनताको नकारात्मक धारणा हुनु दुर्भाग्य हो । ‘राजनीति समाजको अभिन्न अंग हो‘ भन्ने हामीले बुझ्नुपर्छ ।
समाजको अभिन्न अंगको रुपमा रहेको राजनीतिबाट त्यही समाजमा रहने शिक्षक कसरी अलग रहन सक्छ रु त्यसैले, शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने तर्क नै गलत छ । उसले गरेको राजनीति समुदाय र समुदायमा बस्ने मानिसहरुको हितमा छ कि छैन भन्ने प्रश्न चाहिँ महत्वपुर्ण हो ।
शिक्षक जुन समाजमा बस्छ, त्यही समाजमा बस्ने हरेक व्यक्तिको जीवनसँग जोडिएको हुन्छ । उनीहरुको जीवनस्तर उकास्न शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ ।
शिक्षक चेतनशील प्राणी हो । उसले आदर्श बोक्न सक्छ, कुनै पनि राजनीतिक विचारमा विश्वास गर्न सक्छ। त्यसका आधारमा उसले कृषिमा कस्तो नीति बनाउने, जनस्वास्थ्यमा कसरी सुधार गर्ने, शिक्षा प्रणालीमा कसरी सुधार गर्ने भन्ने विषयमा पार्टीको तर्फबाट बहस गर्न सक्छ । मैंले आस्था राख्ने गरेको राजनीतिक दलले जे गरेपनि राम्रो गरेको छ भन्दै कक्षाकोठा छोडेर दलको कार्यकर्ता बनेर हिड्न भने पाउँदैन ।
शिक्षक सामाजिक रुपान्तरणका संवाहक हुन् । अग्रपंक्तिमा रहेर शिक्षकले जनकल्याणको कार्यमा हरेक समाजको नेतृत्व गरिरहेको हुन्छ ।
शिक्षकले हरेक समाजलाई मार्गदर्शन गरिरहेको हुन्छ । सामाजिक विकृति र विसंगतिलाई तोड्न शिक्षकको अग्रणी भूमिका हुन्छ । मानिस सामाजिक प्राणी हो र उसलाई समाजमैत्री बनाउनु शिक्षकको दायित्व हो । शिक्षकले नै मानिसलाई समाजको आदर्श, मूल्य र मान्यतासँग परिचित गराउँछ । समाजप्रति हाम्रो कर्तव्य र अधिकार के हो भन्ने विषयमा सचेत गराउँदछ।
शिक्षक राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ । आफ्नो ज्ञानमार्फत बालबालिकालाई राष्ट्रका लागि चाहिने योग्य, दक्ष एवम गुणवान जनशक्ति तयार गर्ने काम शिक्षकले नै गर्दछ । त्यसैले शिक्षक चुप लागेर बस्नु हुदैन । शिक्षक मौन बस्यो भने समाजको विकास नै अवरुद्ध हुन्छ । शिक्षक राजनीतिबाट अलग भए समाज लङ्गडो हुन्छ । तर, गरिब जनताको गाँस काटेर उठेको करबाट सरकारी तलब भत्ता लिने शिक्षक कुनै खास राजनीतिक दलको कार्यकर्ता बन्नु भने सरासर गलत हो । अपराध हो ।
यस्ता दलीय क्रियाकलापमा शिक्षकको संलग्नता रहनुलाई राजनीति मान्न सकिँदैन । त्यो बालबालिकाको भविष्यमाथिको खेलबाड हो । समाज र राष्ट्रप्रतिको बेइमानी हो । राष्ट्रघात हो । पेशागत धर्म विरुद्धको अपराध हो ।
दलीय राजनीति होइन समाज र राष्ट्रलाई बलियो बनाउने भूमिकामा शिक्षकले राजनीति गर्नु पर्छ । शिक्षा क्षेत्रको सर्वाङ्गीण विकास र परिवर्तनका लागि शिक्षकले अहम भूमिका खेल्नु पर्छ । यही शिक्षकको पेशागत धर्म हो । समाजलाई सही मार्गमा डोर्याउनु शिक्षकको दायित्व हो । शिक्षकले दलीय राजनीतिलाई त्याग्नु पर्छ । कुनैपनि दलको बन्नु हुदैन । कुनै अमुक राजनीतिक दलको होइन सिङ्गो राष्ट्रको शिक्षक बन्नु पर्छ ।
प्राचिन कालदेखि समाजको सर्वोत्कृष्ट पात्रको रुपमा सम्मानित हुदै आएको शिक्षकको मान, प्रतिष्ठामा प्रश्नचिन्ह लागेको छ । आमनागरिकले शिक्षकलाई हेर्ने दृष्टिकोण बद्लिएको छ । राष्ट्रप्रतिको दायित्व र कर्तव्यलाई भुलेर शिक्षकले आफ्नो गरिमालाई घट्न दिनु हुदैन ।
शिक्षकले गरेको राजनीतिले देशलाई समृद्धितर्फ लैजान राम्रो र परिणाममुखी शिक्षा नीति निर्माणमा भूमिका खेल्नुपर्छ । सार्वजनिक शिक्षा, स्वास्थ्य सुधार, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि, सामाजिक विकृति र विकृतिलाई तोड्न र बालबालिका र अभिभावकको अधिकारको परिपूर्तिका लागि शिक्षकको राजनीति सहयोगी हुनुपर्छ ।
त्यसैगरी, शिक्षकको राजनीति समुन्नत र समृद्ध समाज र राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छ । पेशागत क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि शिक्षकलाई थप जिम्मेवार बनाउनतर्फ शिक्षकको राजनीति निर्देशित हुनु पर्दछ ।
शिक्षकको काम समाजमा गर्व गर्न लायकको हुनु पर्छ तव मात्र शिक्षकले गरेको राजनीतिलाई सबैले सम्मान गर्दछन । उसको मान, सम्मान र प्रतिष्ठा पनि बढेर जान्छ र शिक्षकलाई आम नागरिकले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij