Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रिय परिचयपत्र बनाउन यस्तो भीड

राष्ट्रिय परिचयपत्र बनाउन यस्तो भीड


  • 3.2K
    Shares

    राष्ट्रिय परिचयपत्र बनाउन यस्तो भीड
    images

    कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ खल्लाका राजबहादुर चौधरी सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुगे । राष्ट्रिय परिचयपत्र बनाउन आएका उनी केहीबेर लाइन लागे । भीड बढी देखेर उनी घर फर्किए । मंगलबार फेरि बिहानै आएर लाइन लागे ।

    ‘आज पनि भीड छ, परिचयपत्र बन्ने हो वा होइन,’ उनले भने, ‘अब भीड भनेर कति दिन घर फर्किने ?’ वैदेशिक रोजगारीमा जान राहदानी लिने उद्देश्यले उनी राष्ट्रिय परिचयपत्र बनाउन आएका हुन् । परिचयपत्र बनेपछि राहदानी बनाएर उनी वैदेशिक रोजगारीको प्रक्रियाका लागि काठमाडौं जाने तयारीमा छन् ।

    शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका भूपेन्द्रसिंह ठगुन्ना पनि मंगलबार बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा लागेका थिए । उनीभन्दा अगाडि ४०/५० जनाको लाइन थियो । ‘एउटाको फारम भर्न १५/२० मिनेट लागिरहेको छ, आज पालो आउने जस्तो छैन,’ ठगुन्नाले भने, ‘भोलि फेरि बिहानै आएर लाइन लाग्नु पर्ला ।’

    ठगुन्ना पनि वैदेशिक रोजगारीमै जाने उद्देश्यले राहदानी बनाउन खोजिरहेका छन् । सरकारले विद्युतिय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । खासगरी रोजगारी र अध्ययनका लागि विदेश जानेहरू बढी संख्यामा आउने गरेका छन् ।

    ‘एक हप्ता अगाडि फारम भरेको आज परिचयपत्रको नम्बर पाएँ,’ बेलौरी नगरपालिका–६ बिचपुरीका राजकुमार रानाले भने, ‘त्यतिबेला भीड बढी भएकाले फारम भरेर फर्किए, आज राहदानी बनाउने गरी आए ।’ बेलौरीबाट महेन्द्रनगर मोटरसाइकल वा बसमा डेढ/दुई घण्टा लाग्छ । सवारी साधन नहुनेले एक/डेढ सय भाडा तिर्नुपर्छ ।

    जिल्ला प्रशासन कार्यालयमा अहिले राष्ट्रिय परिचयपत्रका लागि मात्रै दैनिक एक/डेढ सय संख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । जसमध्ये आधाभन्दा बढी सेवा नपाएरै फर्किन्छन् । एक जनाको फारम भर्नेदेखि सबै विवरण संकलन गर्न कम्तीमा १५ देखि २० मिनेटसम्म लाग्छ । राष्ट्रिय परिचयपत्रका लागि दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ । दुवै ठाउँबाट दिनमा ४०/५० जनालाई मात्र सेवा दिन सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए । उनले हरेक दिन आधाभन्दा बढी सेवाग्राही सेवा नपाएरै फर्किने गरेको बताए ।

    ‘केही दिनयता राष्ट्रिय परिचयपत्र बनाउनेको भीड निकै बढेको छ,’ जोशीले भने, ‘आउनेजति सबैले सेवा पाउन सकिरहेका छैनन्, दुई स्थानबाट सेवाप्रवाह गर्दा पनि सकिएको छैन, विवरण संकलन तथा अनलाइनबाट अपलोड गर्ने प्रक्रिया नै लामो छ ।’ उनले सेवाग्राहीले घरैबाट अनलाइनमा समेत फारम भर्नेदेखि विवरण अपलोड गर्न सकिने भएकाले यसबाट प्रशासनमा भीड कम भई सेवाप्रवाह पनि छिटोछरितो बनाउन सकिने बताए ।

    ‘अनलाइनबाट फाराम भर्न सके मात्रै यहाँको भीड कम गर्न सकिन्छ,’ जोशीले भने, ‘नत्र यहाँ एउटै सेवाग्राहीलाई १५/२० मिनेट समय दिनुपर्छ, आफै‌‌ ढिलो हुन्छ ।’ अनलाइनमै तोकिएको सम्पर्क मितिमा परिचयपत्र पाउन सकिने उनले बताए । उनले यसरी सेवाग्राहीले सहजै सेवा प्राप्त गर्नुका साथै कोरोना संक्रमणको जोखिम समेत कम हुने बताए ।

    जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रसँगै राहदानी, नागरिकता, विभिन्न किसिमका सिफारिसलगायत सेवाग्राहीको भीड निकै बढेको छ । भीडमा भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षाका मापदण्डसमेत अपनाएको देखिँदैन । पछिल्लो समय कोरोना संक्रमण कम भएपछि कतिपयले मास्कसमेत लगाउन छाडेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १२:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij