२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । सुरुवाती दिनमा प्रधानमन्त्री बिरुद्द जेहाद छेड्ने भन्दै पहिलो चरणको आन्दोलनमा आक्रामक देखिएको नेकपा प्रचण्ड नेपाल समूहको सडक आन्दोलन केही मत्थर भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभाको विघटनपछि आफ्नो समूहको मन्त्रीहरुलाई राजीनामा गर्न लगाएर सडकमा उर्लेको यो समूह अहिले सडकमा चर्को नाराभन्दा छलफल कार्यक्रमहरुमा देखिन थालेको छ ।
आन्दोलनका विभिन्न गतिविधि भइरहेकै भए पनि यी वार्मअपको रुपमा मात्रै भइरहेका छन् । नेकपाकै अर्को प्रधानमन्त्री केपी ओली समूह शक्ति प्रदर्शनमा लग्दा उनीविरोधी खेमा आन्दोलन आन्तरिक छलफल र संवैधानिक छलफलमा केन्द्रित भएको हो । यसो त पछिल्लोपटक पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता सिकिस्त बिरामी भएदेखि यो खेमाको आन्दोलन प्रभावित बनेको छ ।
सीताको उपचारका लागि भारत गएका प्रचण्ड फर्किसकेका छन् । यद्यपि सडक आन्दोलनमा विद्यार्थीलाई उतारेर प्रचण्ड माधव समूहले पर्ख र हेरु नीति आँगलेको कतिपयको बुझाई छ ।
हिजै मात्र प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपाल जनकपूर पुगे । त्यहाँको सभामा मम्बोधन गरेका उनले मञ्चबाटै कार्यकर्तालाई तयार रहन निर्देशन दिए । यो उनले देखिने गरी गरेको गतिबिधि हो। उनी निकट एक नेताका अनुसार उनी केही दिन तराइमै केन्द्रित हुनेछन् । आफू इतर गुटले तराइ केन्द्रित रणनीति बनाएपछि पूर्व एमाले समूहका नेतालाई आफ्नो समूहमा तान्न उनी तराई झरेका हुन् । "तराईमा पूर्व एमालेलाई आफूसँगै राख्न उहाँ त्यहाँ पूग्नु भएको हो," उनी निकट नेताले भने ।
नेकपा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिका सदस्य गणेश साहले अहिले कार्यकर्तामाझ ओलीको कदम कस्तो हो भन्ने बुझाउन नेताहरु लागिपरेको बताए । उनका अनुसार तत्कालै कार्यकर्तालाई सडकमा ल्याउने पक्षमा छैन प्रचण्ड नेपाल समूह ।
कांग्रेसले लाईन नदिदा अलमल
पुस ५ को घटनालगतै प्रचण्ड नेपाल समूहले काँग्रेसको साथ खोजेको थियो। तर, हालसम्म पनि प्रचण्ड-नेपालसँग सहकार्य गर्ने कुनै योजना बनाएको छैन । बानेश्वरमा प्रचण्ड नेपाल समूहले गरेको अन्तर्क्रियामा कांग्रेस नेता मिनेन्द्र रिजालले कसैलाई साथ नहुने बताए । अदालतप्रति भरोसा गर्ने र लोकतन्त्र मान्ने पार्टी भएकले मोर्चाबन्दी गर्नु ठीक नभएको उनको भनाई थियो । "ओलीको कदम असंवैधनिक त हो । तर अदालतमा छ यो बिषय । अदालतप्रतिको धारणा हाम्रो अरुको भन्दा फरक पनि छ। अहिले नै यो त्यो भन्नु उचित हुदैन," उनले भने ।
काँग्रेस र अरू पार्टीसँग मोर्चाबन्दी गरेर तत्काल सडक तताइहाल्ने तयारीमा रहेका प्रचण्ड नेपाल मोर्चबन्दी सफल नभएपछि आन्तरिक छलफलमै जुटेका हुन् । नागरिक समाज र अरु राजनीतिक दलले पनि यो समूहसँग सहकार्य गर्न आनाकानी गरिरहेक छन् ।
नेकपा अध्यक्ष माधव नेपाल आन्दोलनको विकल्प नभएको ठान्छन् । त्यसका लागि आफ्नो समूहले अरुसँग सहकार्य गर्न हदैसम्मको लचकता अपनाउने उनको भनाई छ । नागरिक समाजका अगुवालाई नेपालले संयुक्त ब्यानर लिएर आन्दोलनमा जान प्रस्ताव गरेका थिए । नागरिक समाजले नेकपाको झन्डामा आन्दोलनको वातावरण नबन्ने सुझाव दिएपछि माधव नेपाल संयुक्त ब्यानरमा आन्दोलनमा जान तयार भएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij