२०८२ मंसिर ६ गते शनिवार
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते तुल्याएको थियो।
घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले सेतोपाटीलाई बताए।‘निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झम्टिएछ,’ श्रेष्ठले भने, ‘हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।’
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ। स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो। केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
बाँके र बर्दियामा पछिल्लो समय बाघको आक्रमण बढेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij