Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नियात्रा

तिप्लिङमा तरङ्गिएको मन

तिप्लिङमा तरङ्गिएको मन


  • 19.6K
    Shares

    तिप्लिङमा तरङ्गिएको मन

    साढे चार बजिसकेको थियो पाङसाङबाट तिप्लिङ झर्दा । 
     बस्तीले ढाकिएको छ, पहाडकोे फराकिलो काख । उतिबेला भएको बौद्ध धर्मको प्रचार र प्राचीनतालाई झल्काउँछ तिप्लिङमा भएका भग्न गुम्बा र मानेवालले ।   
     

    आधुनिकताको बाछिटाले नछोए पनि बिरामी हुँदा कुखुरा, बोका काटेर भूतप्रेत मन्छाउन र चामलको तोर्मो बनाउन छाडिसकेका छन्– तिप्लिङलगायतका बस्तीहरूले । लुङ्दा र लुङ्दर फर्फराउने बोन्पो धर्म–संस्कृति भएको बस्तीमा अचेल चर्चहरू ठडिएका छन् । यद्यपि बाइबलप्रतिको आकर्षणले भूतप्रेतप्रतिको अन्धविश्वास हटेको त छ तापनि इसाईकरणले मौलिक जीवनशैली, धर्म–संस्कृति र कला अक्षुण्ण नरहला कि भन्ने चिन्ता गरिरहेका छन्– यहाँ भएका साँस्कृतिक सम्पदाले । पर्यटकीय गन्तव्यमा भएका सम्पदाहरू  टाक्सिएर ख्याउटो र खिनउटो हुँदै जाने हो भने यहाँ आउने पर्यटकहरूले के हेर्लान् ? चिन्ता चुलियो मेरो मनमा ।   

     

    1.jpg
     थकाएछ ओरालोले । तर मिठो थियो थकाइ । थकाइलाई सिरानी हालेर जस घलेको पिँढीमा ढल्न पाए हुन्थ्योझैँ लागेथ्योे मलाई । शिथिल सहयात्रीहरूलाई देखेर मन बुझाएँ मैले । 
     खुट्टा खोच्याउँदै आइपुगे तिलक लामा, अशोक सिलवाल र अम्वीर गुरुङ  । उनीहरूका साथमा थिए भीम दाइ । उमेरले पैँसठ्ठी भए पनि ठमठमी हिँडेको देख्दा अचम्भित भएथेँ म । पदयात्राको सुरुदेखि अन्त्यसम्म उस्तै लयमा हिँडिरहे उनी ।
     जस घलेले स्वागत गर्दै भान्छातिर डो¥याए । हाम्रो स्वागतार्थ त्यहीँ जम्मा भएका रहेछन् तिप्लिङबासी । 
     ढिँडो खानेलाई ढिँडो, भात खानेलाई भात । तयार थियो इच्छा अनुसारको भोजन । आहा, रायोको साग र सिस्नु ! आलुको तरकारी र टिमुरको छोप हालेको अचार पनि छ । सुनेको थिएँ– ‘वर्षको एकपल्ट भनेपनि सिस्नु त खानैपर्छ रे ।’
     “तपाईं भात खाने कि ढिँडो ?” जस घलेले सोधनी गरे मलाई ।
     “भात त खाइरहेकै हो नि !”  मैले ढिँडो नै रोजेँ ।

    2.jpg
     ‘भोजनभन्दा भोक मिठो’ भन्ने चलन छ । तर लेकमा फलेको अन्नपात नै स्वादिलो । डङ्का पिट्दै ओल्र्यो ढिँडाका गाँस । 
     सानो छँदा त दिनदिनै ढिँडो खानुपथ्र्यो । भात खानलाई उतिसारो धान फल्थेन नुवाकोटका टारहरूमा । भूमेपतिहरू रहरले मात्र खान्थे ढिँडो । कुनैकुनै साल फलेको धान त अक्षतालाई मात्र पुग्थ्यो । भात खाएको धितै मर्थेन चामलको किफायत गर्दा  । तिउन गतिलो नभएर थालमा हाल्देको ढिँडो जति पिर्का मुन्तिर जान्थ्यो । खुसुक्क लगेर बाख्रालाई दिन्थेँ । आनो पेट भोकै बाख्रा चाहिँ खुसी । टन्न भात खानलाई त कि दशैँ कि बाजेको श्राद्ध नै कुर्नुपथ्योँ । जीवनमा कस्ताकस्ता दिन पनि बिताइयो गाँठे ! अहिले सम्झँदा पनि हाँसो उठ्छ । विकासे मल आएपछि त बेस्सरी फल्न थाल्यो धान । त्यसपछि त भातैभात । तिर्सना लाग्छ अहिले त्यही ढिँडोको ।  
     पाँच बज्न लागिसकेको थियो लन्च सकिँदा । आयोजकका अनुसार अझै दुई घण्टा हिँड्नुपर्छ चालीस पुग्न । उनीहरूले भनेको मात्र दुईघण्टा हो; कम्तीमा पनि तीन घण्टा लाग्छ भन्नेकुरा मलाई राम्ररी थाहा छ । भन्न त तिप्लिङ आइपुग्न पनि तीन घण्टा भनेका थिए तर लागेथ्यो चार घण्टा । स्थानीयसितको चालमा के हिँड्न सक्नु बिचरा हामी !
     सेर्तुङ गएर चालीस झर्ने सम्भावना थिएन । 
     “आउन बाँकी साथीहरू थुप्रै छन् । यतै बसेर भोलि बिहानै गए हुन्न र ?” तेजको मन चोर्न खोजेँ मैले ।
     “चालीसमा कार्यक्रम तय भइसकेको छ । आजको गन्तव्य छिचोल्न नसके भोलिको तालिकामा असर पर्छ । बरु तपाईंहरू हिँड्दै गर्नुस्, म साथीहरूलाई लिएर आउँछु ।” अनुरोधपूर्ण आग्रह उनको । 
     टोली नेताले भनेपछि नमान्ने कुरै भएन । जायज थियो उनको कथन । भोलिलाई सहज हुने हो भने किन नतन्कने त !
     बोकियो झोला । टेकियो लठ्ठी र तताइयो बाटो । सँगै थियौँ अम्वीर, अशोक र म । घामलाई भोलिको प्रभातले कैद गर्दै जाँदा बिस्तारै धमिलिँदै थियो क्षितिज ।  
     जस घलेको घरमा जम्मा भएकोले होला, कतिपय घरका ढोकाहरू बन्द थिए तिप्लिङमा । पिँढीमा झुन्डिरहेका थिए रित्ता कोक्रा र झोलुङ्गा । बाटोमा एकखुट्टे खेलिरहेका थिए स–साना नानीहरू । पुरुषहरू घर बनाउने काममा ब्यस्त देखिन्थे, महिलाहरू बारीमा कोदोको नल काट्दै । गोठ फर्कंदै  थिए– चर्न गएका गाईवस्तु र भेडा–बाख्राहरू । तिनै चौपायाका पछिपछि फर्किरहेका थिए महिलाहरू । कोही कोक्रामा नानी बोकेर त कोही घाँसका भारी बोकेर । 
     खन्च्याङखन्च्याङ हिँडिरहेका अशोक र अम्वीरलाई छाडेर अघि लम्केँ म ।

    3.jpg
     घाँसको भारी बोकेर आइरहेकी एउटी बुढी आमै भेटिइन् बाटोमा । मेरो ‘नमस्ते’को बदलामा मुस्कानसहितको ‘नमस्ते’ फर्काइन् उनले । सेतै फुलेका छन् उनका कपाल । बुढ्यौलीका रेखाहरू कोरिएका छन् गालाभरिभरि  । तैपनि बोकेकी छिन् गह्रुङ्गो घाँसको भारी ।  हिमाली जीवनको विम्ब हो । नरोकिइरहन सकिनँ म । 
     छोटो सम्वाद हुन्छ हामी बीचमा । 
     “कहाँबाट ल्याउनु भयो यो घाँसको भारी ?”
     “उः तल खोला छेउबाट ।”
     “यो उमेरमा पनि थाप्लोमा नाम्लो लगाउँदै हुनुहुन्छ ?” सोध्न सकिनँ मैले यो प्रश्न ।
     बिचरी आमैको बाध्यता ! नलगाएर के गर्नू वस्तुभाउ पालेपछि ।
     बरु सोधेँ– “चालीस गाउँ पुग्न कति घण्टा लाग्छ ?” 
     “लाग्छ नि साढे दुई घण्टा जति ।” 
     मेरो अनुमान मिल्यो भन्ठानेँ । 
     पश्चिम पहाड छिचोल्दै थियो रातिएको घामले । धीमा गतिमा घस्रिरहेका थियौँ हामी । 
     अलि तल देखिन्छ चौपारीसहितको एउटा बस्ती । पारिला पाखा ।  झुरूपप घरहरू । आहा, कति सुन्दर ! गाउँको नाम चाहिँ ‘कामीगाउँ’ रे ! वरकोे हाँगामा बसेका चराहरूझैँ सादृश्य लाग्छ मलाई पहाडको कुममा थुपुक्क बसेको बस्ती । तर गणतन्त्रमा पनि ऊबेलाका सामन्तहरूले राखिदिएको ‘कामीगाउँ’ नाम अद्यापि रहिरहेको मज्जा लागेन मलाई । 
     ‘नेपालमा शालिकहरू ढल्छन्÷फेरिन्छन् । पुरानो नाम फेरेर नयाँनयाँ नामहरू राखिन्छन्– फलानो मार्ग......, तिलानो बस्ती...... भनेर । चोकचोकका नयाँनयाँ नामहरू छन् । क्रान्तिकारीहरूको कमी छैन धादिङमा । कम्तीमा यो गाउँलाई परिवेशअनुसार सुहाउँदो नाम राखिदिएको भए त हुन्थ्यो नि !’ एकालाप गरेँ मैले ।
      उज्यालो छँदै पुल तर्न पाए हुन्थ्यो भन्नेमा थिएँ । घुँडाको दुखाइले भनेजस्तो छिटो हिँड्न असमर्थ भए अशोक ।  
     सोचेँ– ‘सहयात्री छाडेर एक्लै के हिँड्नु लुखुरलुखुर ।’ 
     एकछिन पर्खें र उनलाई नै अघि लगाएँ ।

    4.jpg
     अँध्यारोको साम्राज्य सुरु भइसकेको थियो कामीगाउँको चौपारी पुग्दा । एकै स्वर–समष्टिमा समाहित भएर साङ्गितिक सुसेली गुन्जाउँदै थिए गुँड फर्केका चराहरू । क्या मिठास थियो चराहरूको आवाजको त्यो झङ्कारमा ! प्राकृतिक सङ्गीतकै मधुर ध्वनि हुन्– चराको चिरचिर, झरनाका झर्झर, खहरेको खलबल, वायुको वेग, मेघको गर्जन र बच्चाबच्चीका रुवाइ । प्रकृतिकै आवाजको अनुकरण न हो– सङ्गीत ! यही ‘नाद–सौन्दर्य’को उच्छवासले रोकेको थियो गन्तव्यतिर अगाडि बढ्दै गरेको मेरो पाइलालाई । 
     एउटा चुरोट सल्काए अम्वीरले । 
     “यतै बसेर भोलि जाने हो कि ?” अशोकको अँध्यारिएको अनुहार हेर्दै ठट्ठाभावमा प्रस्तुत भएँ म । 
     “त्यसो गर्न पाए त हुन्थ्यो नि ! घुँडाले त साह्रै धोका दियो मलाई ।” 
     झनै असमर्थता देखायो उनको भनाइले  ।
     बस्दै गर्दा आइपुगिन् गाउँकी एउटी बुढी आमा । 
     “कति समय लाग्छ चालीस पुग्न ?” अम्वीरको प्रश्न आमैलाई ।
     “दुई घण्टा बेसी नै लाग्ला । उः त्यो पारिको बत्ती बलिरहेको गाउँ हो के रे ! अँध्यारो भइसक्यो । जानु हुन्छ र ? ”
     “यहाँ बास पाइन्छ त आमै ?” मैले सोधेँ ।
     “किन नपाउनु ! चर्च छँदै छ नि ।” 
     उनको कुरा सुन्दा कामीगाउँ पनि ॐकार परिवारबाट बाहिरिएछन् भन्ने बुझ्न कठिन थिएन । पहाडमै छन्– अनगिन्ती कथा र ब्यथा । पहाडमै हुन्छ– थरिथरिका खेल । पहाडमै हुन्छ– राजनीति ।
     “एउटा चुरोट मलाई नि दिनस् न बाबु !” आमैले आग्रह गरिन् अम्वीरसँग ।


     एक खिल्ली चुरोट आमैको हातमा थमाए अम्वीरले । त्यतिबेलासम्म हामीभन्दा पछि हिँडेका तिलक लामा, भीम तामाङ, सरिता श्रेष्ठ र लिला श्रेष्ठ पनि आइपुगे । लगभग अशोककै जस्तो हालतमा थिए तिलकजी र सरिताजी ।  
     ओरालो गोरेटोको दायाँबायाँका डालीहरू समाउँदै ओल्र्यौं हामी । अलि तल पुगेपछि त समाउनलाई बुट्यान पनि थिएन । 
     तिप्लिङ र चालीस जोड्न सडकको रेखा कोरिँदै थियो । समाउने डाली नभएको अक्करे भिरमा डोजरले कोतरेको माटोले झन् टेक्ने अखटो पनि पुरिएपछि ज्यानलाई मुस्किलले अड्याएथ्यौँ हामीले । गुल्टिन्छु कि भन्ने भयले लठ्ठीलाई सही तरिकाले प्रयोग गरेँ । खुकुलो माटोमा आधी लठ्ठी ग्वाम्मै गाडिँदा एक्लै हाँसेँ म । 
     “यहाँ चाहिँ समाउने कुरा छैन; माटो कोपर्नुस् है !” सरिता श्रेष्ठलाई इङ्गित गर्दै ठट्ठा गर्छन् अम्वीर  ।
     उनको कुरा सुनेर हाँसोको फोहरा छुट्छ भिरालो पाखामा ।  
     खुबै रसिक छन् यिनी । बेलाबेलामा हँस्सीमजाक गरिरहन्छन् । उनकै कारणले पनि यात्रा रमाइलो भएको अनुभूति गर्छु म ।
     टर्चलाइटको उज्यालोमा आफैँले बनाएको बाटो छाम्छु । ठम्याउन सकिरहेको थिइनँ– म बाटो हिँडिरहेको छु कि, बाटोचाहिँ मसित हिँडिरहेको छ ! उज्यालो पनि आफैँलाई देखाउनु कि अशोकलाई । केही गरी चिप्लिहाले ज्यान त भेटाइएला तर प्राणवायु चाहिँ वायुमण्डलमा मिसिन्छ । आनो आँखा कमजोर; उनको खुट्टा कमजोर ! छोडेर जाऊँ भने याचना गरिरहेका छन्– ‘मलाई नछोड्नु है !’ 
     पदयात्रा गर्ने भएपछि जाबो एउटा लाइट त बोक्नू नि ! सबै कुरा आयोजकले व्यवस्था गरिदिन्छ भन्ठानेछन् कि के हो कुन्नि यी पत्रकारले ! मुखले बोल्न नसकेको यो कुरा मैले मनमनै भनेथेँ ।
     एक पाइलामा आफूलाई र अर्को पाइलामा अशोकलाई बाटो देखाउँदै तातेताते गरेर झरियो ओरालो । ‘डिक्लोब्याक’ दल्न र ‘ब्रुफिन’ खान दिएको थिएँ । त्यसमाथि लगाइदिएको थिएँ ‘नी क्याप’ पनि । तैपनि रुन छोडेको थिएन उनको दाहिने घुँडा । बिचरा, अशोक ! उनको घुँडाको रुवाइले कम सकस भएको थिएन म आफैँलाई उनीसँग हिँड्न । 
     खोज्दै थिएँ म अशोकमा उनको त्यो नृत्यमय मुद्राको शारीरिक गतिशीलता ।
     “यस्तो पनि याम ट्रिप ! लन्च खुवाउछन् पाँच बजे । हिँडाउँछन् राति अबेलासम्म । के अवलोकन गर्नू खै !” एक्लै गनगनाइरहेका थिए उनी । मबाहेक कसैले सुनेका थिएनन् उनको गनगन ।
     उनी बोलेका थिएनन् । उनको वेदना बोल्दै थियो । 
     “रिल्याक्स ! जीवन भनेको पीडा सहनु पनि त हो !” मैले शान्त पार्न खोजेँ उनलाई । दुखाइहरू जीवनका क्षणमात्र हुन् । मिठो अनुभूतिका रूपमा लिन सके अझै रोचक बन्छ यात्रा । हिँड्दा सकसै भएपनि शरीरको थकानमा ‘डिक्लोब्याक’ मल्हम बनिरहेथ्यो मेरो मनको उल्लास ।
     तरियो झोलुङ्गे पुल । पार गरियो पच्याङ र घुम्ती । टेकियो चालीस गाउँ । सामान्य उकालो थियो– खोल्सी र गल्छेंडो काटेपछिको बाटोे । तैपनि पसिनाले निथाचूर्ण भएथ्यो मेरो ज्यान । 
     हाम्रो अघिअघि थिए तेज गुरुङ । उनले सरासर धनछुर घलेको घरमा लगे हामीलाई । आठ बज्नै लागेको थियो त्यो बेला ।
     चालीसका चेलीले स्वागत गरे हामीलाई । एउटीले लगाइदिइन् रातो टीका । अर्कीले ओढाइदिइन् खादा । एकातिर चालीसको वायुमण्डलमा चलिरहेको चिसो वायु । अर्कोतिर चेलीको न्यानो स्वागत । न्यानो आतिथ्यमा मन चोबलेँ मैले । त्यत्तिकै गर्मायो ज्यान । त्यो बेलासम्म मरिसकेको थियो शरीरको सम्पूर्ण दुखाइ । 
      धनछुर घलेको आँगनमा रमाइरहेथे गाउँभिरका केटाकेटी– मानौँ, यतिबेला लाहुरबाट फर्केका आरुना दाजुभाइका काखमा थिए उनीहरू । घलेको आँगनमा थिए– अनाहुत बनेर पुगेका बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ र गुरुङ । सुन्दर देखेथेँ मैले त्यो सन्ध्यामा जातीय विविधताले भरिएको त्यो आँगन । जातीय विविधता र विविधतामा एकता । यही त हो हाम्रो पहिचान !
    ०००
     “वेल कम् टु चालीस गाउँ !” धनछुरको न्यानो मझेरीमा बसेर तीनपानेको चुस्की लगाउँदै गरेका सुदर्शन कँडेल र केबी बाराकोटीले स्वागत गरे मलाई । 
     आफू बसिरहेको कुर्सीबाट उठेर मलाई बसाए केबी बाराकोटीले । 

    rr1.jpg
     कस्तो विशाल हृदय उनको ! छक्कै परेँ म । नेपालमा कुर्सीकै लागि हानाहन र मारामार हुन्छ । उनी भने आफू बसिरहेका कुर्सी अरुका लागि छाड्छन् । नबोलेरै उनीप्रति आभारी भएँ म । उनले एक गिलास रक्सी मेरो हातमा थमाउँदै भने– “काइता छ । दुखेको ज्यानलाई तु ठिक गर्छ यसले ।”
     हट्टाकट्टा ज्यान । लामालामा खुट्टा । पाङसाङबाटै कम्मर कसेर हिँडेका यी दुई जवान । उनीहरूको चालमा हिँड्न सकुँलाजस्तो लागेन । त्यही भएरै नपछ्याएको मैले । सँगै हिँडौँ नभनेका त कहाँ थिए र उनीहरूले ! जीप चढ्न पाएसम्म किन हिँड्नु भन्ने लागेर पो बिग्रियो त कुरा । फेरि तिप्लिङसम्मै जीप आइदिएको भए त हुन्थ्यो नि ! बीचबाटोमा परेको आइसमा टेकेर जीप आउन नसक्दा पो ज्यानले दुःख पायो त !
     “ट्रयाक्टर चढेको थिएँ । आइसमा चिप्लेर गुल्टियो । धन्न फाल हान्न भ्याएँ र बाँचेँ । ट्रयाक्टर त झण्डै सय मिटर तल पुग्यो ।” चिप्लँदै गरेको ट्रयाक्टरबाट फाल हान्दा फुटेको मोबाइल देखाउँदै अनुभव सुनाए रङ्केस गुरुङले । 
     गुल्टेर पचास मिटर तल पुगेको ट्रयाक्टर देखेपछि तर्सिएका थिए जीप चालक– राजु थापा । उनले हठात् जीपलाई विपरीत दिशामा फर्काएपछि त्यहीँबाट हिँड्नुको विकल्प थिएन । 
     हुनत पाङसाङगाङमा धेरै समय नबिताएको भए पनि यति ढिलो हुँदैनथ्यो । पाङसाङको उचाइमा नजमेको हिँउ त्योभन्दा कम उचाइमा जमेको होला भनेर कसले सोचेको थियो र ! फेरि हिमाली भेगमा हिउँ जम्नु कुन अचम्म भयो र !
     चार बजे नै चालीस आइपुगेका केबीजी र सुदर्शनजीले पालैपालो यात्रानुभूति सुनाउँछन्– 
     केबी भन्छन्– “जीपबाट छुटेर ओरालो लाग्दा एकजना तिप्लिङका स्थानीय पनि सँगै भएकाले सजिलो भयो हामीलाई पुरानो बाटो समात्न । बिहान खाएको दुईटा रोटी र तरकारी पेटमै बिलाइसकेको थियो । धन्न त्यो दाइसँग भुटेको मकै र भटमास रहेछ । बाँडेर खायौँ । भोक टरिगो । त्यसैले त हामी तिप्लिङमा लन्च नगरी सीधै चालीस आयौँ नि ।” 
     यता राजकुमार धमलासँग दालमोठ र बिस्कुट नभएको भए मेरो हालत के हुन्थ्यो होला ! चार जनाले बाँडेर खाएका थियौँ । त्यसैले भोक मेट्यो र तिप्लिङसम्म सजिलै आइपुगेँ । ठूलै गुन लगाए उनले । अनुगृहीत भएथेँ म । 
     सुदर्शन भन्छन्– “रमाइलो रहेछ पुरानो बाटो । ठाउँठाउँमा पानीका स्रोत थिए । ठाउँठाउँमा जमेको पानी माथि टेक्दै आयौँ । ठाउँठाउँमा पोखरी बनेका छन् । देख्दा डुबुल्की मारुँझैँ लाग्ने । ठाउँठाउँमा खर्कहरू थिए । कतै ठूला, कतै साना । चौँरीचाहिँ अघिल्लो हप्ता नै सारिसकेका रहेछन् । कतै बडेबडे लाली गुराँसका रूखहरू बाटो छेकेर लडेका । त्यही ढलेका रूखहरू टेक्दै हिँड्नु पर्ने । घाँस–दाउरा गर्न वन छिरेकाहरूले गाएको पनि सुनियो तर शब्द बुझेको भए मरिजाऊँ !”  
     “तपाईंलाई मिस ग¥यौँ नि हामीले !” केबीजी गुनासो गर्छन् मसँग ।
     मनमनै थकथकाउँछु म । 
    ०००
     सिम्वीर घले थिए, हाम्रो टोलीमा बाटो पहिल्याउने । बाटो त पहिल्याए तर लामो । बाटो नभएको ठाउँमा फालहानेथ्यौँ हामीले । पोथ्रापोथ्रीले अल्झाए । काँडाले पनि को¥यो । र, त चार घण्टा लाग्यो तिप्लिङ आइपुग्न । उनी रुबी भ्यालीका भएपनि हामीजस्तै रहेछन् । अनौठौ त के भने हामीसँगै हिँडेका सरिता श्रेष्ठ, लिला श्रेष्ठ, अशोक सिलवाल, अम्वीर गुरुङ, किशोर श्रेष्ठ पछाडि छलिए । मसँग सिम्वीर र टेकबहादुर मात्र थिए तिप्लिङ आइपुग्दा । कहीँ कतै नअल्मलिई हिँडेको हिँड्यै थियौँ । फरक बाटो हिँड्दाको परिणाम भोगियो । नेताहरूले फरक–फरक बाटो हिँडेर देशलाई अधोगतिमा लगेजस्तै भयो हाम्रो यात्रा । 
     तिप्लिङको शिरमा पुगेपछि भेटिए– तेज र चन्द्र ।
     पाङसाङबाट तलतिर लागेपछिको पहाडले दिन्छ बेग्लै पहिचान । यो हरियो र रसिलो छ । धर्तीका सबै रङहरू बटुलेको छ यसले । ढुङ्गा–माटो मात्र कहाँ हो र ! कुन धातुमात्र छैन होला यसको गर्तमा । 
     मैले टेक्दै हिँडेको माटोमा आनै स्वाभिमान भेटेँ । मैले समाएको वासन्ती लताहरूमा बुटी देखेँ । बुटीहरूकै सुवास बोकेको बतास डुलिरहेथ्यो जङ्गलभरि । गुराँसका वृक्ष र डाँफेले राष्ट्रियताको झल्को मेटायो । त्यहीबेला मेरो मनले भनिरहेथ्यो– ‘धन्न नेताहरूले राष्ट्रिय फूल र राष्ट्रिय चराविरुद्ध प्रश्न उठाएका छैनन् आजसम्म ।’ 
     खस्रु र गुराँसको बीचबाट देखिएको गणेश हिमालको तस्बिर कैद गर्न भ्याउँछु म । रूखको आकृति, पहाडको आकृति र हिमालको आकृति । यी छुट्टाछुट्टै आकृतिहरूलाई एकै ठाउँमा कैद गर्दा बन्छ– एउटा कोलाज । आफैँले बनाएको आकृति बेलाबेलामा हेरिरहन्छु म ।

    5.jpg
     पहिरोको पच्याङ पार गरेर डाँडाको डिलमा आइपुग्दा कुहिरोमा डुबिसकेको थियो केहीबेर अघिसम्म माथिबाट हेर्दा पारिलो घाम पोतिएको तिप्लिङ गाउँ । तिप्लिङको आकाशमा सल्बलाइरहेको कुहिरोको गतिमै चले मेरा पाइला । बिस्तारै सुस्केरा हाल्दै आइपुग्यो तिप्लिङको कुहिरो मतिरै । त्यो बेला तिप्लिङको गुम्बामा अल्झाइएको एउटा झिनो लुङ्दरले औँलाहरू हल्लाइरहेझैँ भान हुन्थ्यो ।
     तिप्लिङको रङ र कुहिरोको झड्काले कल्पना र भावनाको गहिराइमा पुर्याएथ्यो  मलाई ।
                                                                                                                                                                                              २०७७ मंसिर २२

     

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - ०९:२२:२९ बजे
    प्रतिक्रिया

    राजेन्द्रमान डंगोल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij