२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । जीटूजी प्रकियामार्फत् नर्स बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ । त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायत सरकासँग श्रम सम्झौता गरी नेपाली नर्स पठाउने प्रक्रिया अघि बढाइरहेको छ ।
बेलायतले आफ्नो देशमा नेपाली हेल्थ प्रोफेस्नलस् लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको थियो । यसबीचमा सरकार विभिन्न चरणमा छलफल गरी श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाउन लागिरहेको हो ।
सो मोडालिटीको ड्राफ्ट बनाइ छलफलको क्रममा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसन श्रेष्ठले बताए । मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेले जानकारी दिए ।
कस्तो जनशक्ति जान पाउँछ ?
श्रम मन्त्रालय र बेलायतको नेसनल हेल्थ सर्भिसेसका प्रतिनिधीहरुबीच भएको छलफलमा नेपालबाट लगिएका स्वास्थ्य जनशक्तिलाई बेलायतको सरकारी सोवा अन्तरगतका स्वास्थ्य संस्थामा रोजगारीको अवसर दिने बताइएको छ ।
सोही अनुसार १० हजार नर्स बेलायत पठाउन लागिएको मन्त्री श्रेष्ठले जानकारी दिए । त्यसका लागि उनीहरुले तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । सरकारी सेवामा रहेका वा अन्य सेवाका नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुले परीक्षा दिन पाउने मन्त्री श्रेष्ठले बताए ।
कुन विधामा परीक्षा लिइने भन्नेबारे टुंगो मोडालिटीले नै लाउनेछ । नेपालमा नर्स, पारामेडिक्स तथा अन्य जनशक्तिमध्ये कति बेरोजगार छन् भनेर रिसोर्स म्यापिङको काम भइरहेको मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेले बताए । यी सबै अध्ययनपछि मोडालिटी तयार पारिने पनि पोखरेलले जानकारी दिए ।
नेपाल नर्सिङ परिषदको तथ्यांक अनुसार नेपालमा सन् २०२१ नोभेम्बरसम्म ६७ हजार ५०९ नर्स दर्ता भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij