२०८२ मंसिर १३ गते शनिवार
आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ मा पुगेकाे छ । नेप्से १.९७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२.१३ मा पुगेको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१२ प्रतिशत, फ्लोट इण्डेक्स १.८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ प्रतिशत बढेको छ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ कम्पनीको ४३ हजार ५१९ पटकको कारोबारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको ६३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुमध्ये ७ जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन तेह्रथुम पावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन मूल्य घट्ने स्टकमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन् जसमध्ये एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ३.१४ प्रतिशत घटेको छ।
हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि अन्य उपसमूहको तुलनामा बढी बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.३२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३.३८ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij